logo
२०८१ बैशाख १४ शुक्रवार



विप्लवसँगको सहमति कार्यान्वयन गरिने

मुख्य समाचार |


विप्लवसँगको सहमति कार्यान्वयन गरिने


गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक १ गते । गृहमन्त्री बालकृष्ण खाणले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनका लागि पहल सुरु गर्नुभएको छ ।
यस क्रममा उहाँले आइतबार कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सचिव उदयराज सापकोटा, महान्यायाधिवक्ता खम्बबहादुर खाती र गृहसचिव टेकनारायण पाण्डेसँग छलफल गर्नुभएको छ । छलफलमा अहिलेसम्म सहमति कार्यान्वयनका लागि भएका कामको प्रगति तथा बाँकी रहेका कामबारे कुराकानी भएको बताइएको छ । छलफलका क्रममा गृहमन्त्री खाणले सहमति कार्यान्वयका लागि अहिलेसम्म नेकपाका नेतासँग गरेका वार्ता र उनीहरूका मागबारे जानकारी गराउनुभएको थियो ।

सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच २०७७ फागुन २० गते तीन बुँदे सहमति भएको थियो । छलफल मुख्यगरी सहमतिको बुँदा नम्बर तीनमा रहेको ‘नेपाल सरकार, नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताको रिहाइ र सम्पूर्ण मुद्दा खारेज गर्न सहमत भएको छ,’ भन्ने विषयमा केन्द्रित रहेर छलफल भएको थियो । यस क्रममा कानुनसचिव सापकोटाले गृह मन्त्रालय र महान्यायाधिवक्ताको कार्यालयबाट रिहाका लागि सिफारिस आएका अधिकांशको रिहा भइसकेको र केही फिर्ता गर्न नमिल्ने प्रकृतिका मात्रै बाँकी रहेको जानकारी गराउनुभएको थियो ।

२०७७ फागुन २० गते सरकारका तर्फबाट वार्ता टोलीका संयोजक तत्कालीन गृहमन्त्री रामबहादु थापा र सदस्य तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई तथा नेकपाका तर्फबाट वार्ता टोलीका संयोजक पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मी र सदस्य पार्टी केन्द्रीय समिति सदस्य दीपक चलाउनेले तीन बुँदे सहमतिमा हस्ताक्षर गर्नुभएको थियो ।
नेकपाका नेताहरूले वर्तमान सरकार बनेपछि प्रधानमन्त्री शेरबहादुर देउवा, सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवुकमार नेपाल, गृहमन्त्री खाणसहितलाई भेटेर अघिल्लो सरकारले गरेको सहमति कार्यान्वयन गर्न माग गरिरहनुभएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?