logo
२०८१ बैशाख १५ शनिवार



‘जनताको सेवामै रमाउन सक्नुपर्छ’

मुख्य समाचार |


‘जनताको सेवामै रमाउन सक्नुपर्छ’



केशवराज पौडेल

काठमाडौँ, भदौ २७ गते । सेवाग्राहीलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरेका विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीले आफूहरू जनताको सेवक बनेर लक्ष्य हासिल गरेको बताउनुभएको छ ।
गृह मन्त्रालयले ७७ जिल्लाका प्रजिअसँग गरेको कार्यसम्पादन मूल्याङ्कनमा प्रथम हुन सफल झापाका प्रजिअ श्रवणकुमार तिमल्सिनाले ‘‘कर्मचारी कहिल्यै शासक हुन सक्दैनन्, ऊ जनताको सेवामै रमाउन सक्नुपर्छ’’ भन्नुभयो । ‘‘जिल्ला सफल हुनुमा प्रजिअको मात्रै हात हुँदैन, सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक दल, जिल्ला प्रशासन कार्यालयका कर्मचारी तथा नागरिकको समन्वयले मात्रै सम्भव हुुन्छ,’’ उहाँले थप्नुभयो, ‘‘सेवाग्राहीलाई केन्द्रबिन्दुमा राखेर सबैले काम गर्दा आत्मसन्तुष्टि प्राप्त हुन्छ ।’’
झापाका प्रजिअ तिमल्सिनाले भन्नुभयो, ‘‘यो एक जनाको प्रयासले मात्रै हुने कुरा हैन, समूह कार्यका रूपमा मैले यो नजितालाई लिएको छु ।’’ गृहले शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन र समन्वय÷सदाचार र आर्थिक अनुशासनसँग सम्बन्धित कार्यसम्पादनमा यो वर्ष झापा, ललितपुर, अर्घाखाँची र रुकुम पूर्वलाई अति उत्कृष्ट जिल्ला घोषणा गरेको छ ।
उत्कृष्ट जिल्लामा परेका ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले समयमै कार्यसम्पादनका सूचकअनुसार रिपोर्टिङ गरेर अभिलेखीकरण गर्ने कर्मचारीसमेतको सहयोगले ललितपुर उत्कृष्ट जिल्लामा परेको बताउनुभयो । गृह प्रशासन सुधार कार्ययोजना–२०७४ अनुसार विभागीय प्रमुख र कार्यालय प्रमुखसँग कार्यविवरण र सूचक तयार गरेर काममा खटाइएअनुसार मन्त्रालयले यो वर्ष ललितपुरलाई दोस्रो र गुल्मीलाई तेस्रो उत्कृष्ट जिल्लाका रूपमा घोषित गरेको छ । ललितपुरका प्रजिअ निरौला सामूहिक प्रयास, काममा नयाँपन तथा सबैको सहयोगले सफलता हात
पारेको बताउनुहुन्छ ।
कार्यसम्पादनमा गुल्मी उत्कृष्ट तीनमा परेको छ । महिलाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय कसरी सञ्चालन हुन्छ भन्ने उदाहरण प्रजिअ रुद्रादेवी शर्माले प्रस्तुत गर्नुभएको छ । उहाँले नेतृत्व गरेपछि जिप्रकामा सेवाग्राहीलाई आवश्यक सबै पूर्वाधारको विकास गरिएको छ ।
जिल्लामा प्रजिअले जिल्ला प्रशासन कार्यालयबाट दिने सेवा–सुविधामात्रै हैन, धेरै काम गर्न सक्नुपर्छ, शर्माले भन्नुभयो । फाराम भर्न नसक्ने सेवाग्राहीको फाराम भर्ने र एउटा कार्यालयमा सेवाग्राहीमैत्री वातावरण कस्तो हुनुपर्छ भनेर त्यसको सबै काम गरेको उहाँले बताउनुभयो ।
सेवाग्राहीलाई बस्ने ठाउँ, खानेपानीको व्यवस्था, स्तनपान कक्ष, सूचना अधिकारीको व्यवस्था, कार्यालय हातामै हुलाक टिकट, बैङ्क काउन्टर राखेर सेवाग्राहीलाई सहज पारेको शर्माले जानकारी दिनुभयो ।
गृह मन्त्रालयका सहसचिव कमलराज ढकालले कानुनी राज्य तथा सुशासनको प्रत्याभूति दिलाउन भूमिका खेलेका आधारमा जिल्लाका नतिजा सार्वजनिक गरिएको बताउनुभयो । उहाँले कार्यसम्पादनमा अब्बल देखिएका जिल्लालाई प्रदेशस्तरीय सुरक्षा गोष्ठीका अवसरमा सम्मान गरिने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?