logo
२०८१ बैशाख १५ शनिवार



पुल स्थापना प्रक्रिया सुरु गर्न निर्देशन

मुख्य समाचार |


पुल स्थापना प्रक्रिया सुरु गर्न निर्देशन


भउचप्रसाद यादव

काठमाडौँ, साउन २७ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खोलामा आएको बाढीले बगाएका पुलको ठाउँमा स्थानीय सरकारसँग समन्वय गरेर बेलिब्रिज वा यान्त्रिक पुल राख्न निर्देशन दिनुभएको छ ।
सिंहदरबारमा मङ्गलबार बसेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले सो क्षेत्रमा बाढीले पुल बगाउँदा स्थानीयवासीलाई आवतजावत गर्न ठूलो समस्या भएकाले तत्काल पुल स्थापनाको प्रक्रिया सुरु गर्न निर्देशन दिनुभएको हो ।
प्रधानमन्त्रीको निर्देशनसँगै सो क्षेत्रमा बाढी जानुको कारणबारे अध्ययन गर्न पनि प्राधिकरणलाई बाटो खुलेको छ । प्रधानमन्त्री देउवाले अन्य मुलुकको अनुभव समेत लिएर मेलम्ची खोला र सो क्षेत्रमा लेदो बग्नुको कारणबारे अध्ययन गर्न प्राधिकरणलाई निर्देशन दिनुभयो । असार १ गते गएको बाढीपहिरोले मेलम्ची क्षेत्रमा पाँचवटा पुल बगाउनुका साथै मेलम्ची खानेपानी आयोजनामा ठूलो क्षति पु-याएको थियो ।
प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार बैठकमा प्रधानमन्त्रीले जहाँजहाँ पुल बगेको छ त्यहीँको स्थानीय सरकारसँग समन्वय गरेर पुलहरू बगाएको ठाउँमा बेलिब्रिज वा यान्त्रिक पुल राख्न निर्देशन दिनुभएको हो । यान्त्रिक पुललाई निकालेर पछि अर्को ठाउँमा भण्डारण वा जडान गर्न सकिन्छ ।
पुलको खरिद तथा जडानका लागि नेपाली सेनालाई आवश्यक पर्ने बजेट उपलब्ध गराउन पनि प्रधानमन्त्रीले प्राधिकरणलाई निर्देशन दिनुभएको छ । समस्याको पहिचान गर्ने जिम्मेवारी भने प्राधिकरणमै रहनेछ ।
यसैगरी, बैठकमा प्रधानमन्त्री देउवाले प्राधिकरणलाई अझ सबल, समक्ष र प्रभावकारी बनाउन यसको संस्थागत संरचना परिमार्जन गर्न जोड दिनुहुँदै विपत् कोषको नियमावली संशोधन गरी सो कोषलाई प्राधिकरणमार्फत सञ्चालन गरिनुपर्ने बताउनुभयो ।
पुल जडानको जिम्मेवारी पाएका नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौड्यालले प्रधानमन्त्रीबाट भएको निर्देशनबमोजिम सेनालाई प्राप्त हुने पत्रको आधारमा चाँडै नै पुल खरिद प्रक्रिया अगाडि बढाइने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?