logo
२०८१ बैशाख १४ शुक्रवार



सन्थालको व्यवस्थित बस्ती बन्ने

मुख्य समाचार |


सन्थालको व्यवस्थित बस्ती बन्ने


भउचप्रसाद यादव

काठमाडौँ, साउन ८ गते । मोरङको उर्लाबारीमा सन्थाल जातिको व्यवस्थित बस्ती निर्माणका लागि ठेक्का सम्झौता भएको छ । अल्पसङ्ख्यक र लोपोन्मुख जातिको उत्थान गरी उनीहरूलाई व्यवस्थित र एकीकृत बस्तीमा बसाउने कार्यक्रमअन्तर्गत बस्ती निर्माणको सम्झौता भएको हो ।
सहरी विकास मन्त्रालयअन्तर्गतको सङ्घीय आयोजना कार्यान्वयन एकाइका प्रमुख गङ्गाप्रसाद यादवले मोरङको उर्लाबारी नगरपालिकास्थित रातोहोली खोल्सी किनारमा बस्ती निर्माण गर्न लागिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “सन्थाल बस्ती निर्माणका लागि सम्झौता भई ठेकेदार कम्पनीले कार्यादेशसमेत पाइसकेको छ । अब काम छिट्टै सुरु हुन्छ ।” यसअघि सो बस्ती निर्माणका लागि गुरुयोजना तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण सम्पन्न भइसकेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष फागुन १८ गते सो बस्ती निर्माणको शिलान्यास गर्नुभएको थियो ।
एकाइ प्रमुख यादवका अनुसार अबको दुई वर्षभित्र सो एकीकृत बस्तीको निर्माण सम्पन्न हुनेछ । कुल लागत १८ करोड रुपियाँमा निर्माणको जिम्मा सगुन/शर्मा (ज्वाइन्ट भेञ्चर) ले पाएको छ । अहिले नदी किनारामा ७० सन्थाल घरपरिवार नरकट र खरको छानाले बारेर बनाएको घरमा बसिरहेका छन् ।
बस्तीसँगै सामाजिक तथा आर्थिक पूर्वाधारअन्तर्गत विद्यालय, स्वास्थ्य चौकी, सडक, खानेपानी, बिजुलीबती, मनोरञ्जन स्थल, खोल्सी संरक्षण, सरसफाइ, बाल विकास केन्द्र, सामुदायिक भवनलगायतको संरचना पनि निर्माण गरिने उहाँले जानकारी दिनुभयो ।
सन्थाल जातिका लागि सात विघा क्षेत्रफलमा १३२ घर निर्माणसहितको बस्ती विकास भइरहेको छ । प्रतिपरिवारलाई ३५ वर्गमिटर क्षेत्रफलमा दुईवटा कोठा, एउटा भन्साकोठा, एउटा चर्पी र स्नान घरसहितको घर निर्माण गरी वितरण गरिने छ ।
उहाँले भन्नुभयो, “समग्रमा प्रतिघरपरिवार ८० वर्गमिटर जग्गा पर्न आउँछ । कुल १८ करोड रुपियाँको लागतमा सो बस्ती निर्माण भइरहेको छ । अबको १८ महिनामा घर निर्माण सम्पन्न भई बढीमा दुई वर्षभित्र घर उहाँहरूलाई वितरण भइसक्ने छन् ।” जम्मा १२६ घर निर्माण गरिने छ ।
सो ठाउँमा सन्थाल समुदायको कुल १३२ घरपरिवारको बसोबास रहेको छ । राष्ट्रिय जनगणना–२०६८ अनुसार मुलुकभरि सन्थाल जातिको कुल जनसङ्ख्या करिब ५२ हजार रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?