logo
२०७८ असोज १२ मंगलवार

दैनिक अध्यावधिक

image
975

सङ्क्रमित

image
1262

निको भएका

image
7

मृत्यु भएका

मिति:आश्विन ११, २०७८ (१६:१८)
स्राेत:https://covid19.mohp.gov.np/



शारीरिक अशक्तलाई गाह्रो छ डिजिटल बैङ्किङ

अर्थ |


शारीरिक अशक्तलाई गाह्रो छ डिजिटल बैङ्किङ


गोपालचन्द्र सुवेदी

काठमाडौँ, जेठ २९ गते । संविधानदेखि अन्य कानुनले शारीरिक रूपमा अशक्त भएका व्यक्तिलाई जुनसुकै सेवा सुविधा सहज रूपले पहुँचको व्यवस्था गरेको छ । आमनागरिकसँग वित्तीय पहुँच विस्तारका लागि राज्य र सरोकारवालाले विभिन्न सक्रियता देखाइरहँदा नेपालका दृष्टिविहीन अझै पनि वित्तीय सेवा प्राप्तिमा सकस रहेको अनुभव गर्छन् ।
बैङ्क खाता सञ्चालनदेखि सेयर कारोबारमा दृष्टिविहीनहरूले स्क्रिन रिडर सफ्टवेयरको सहायताले मोबाइल, ल्यापटप र कम्पयुटर चलाउँछन् र त्यहीबाटै मोबाइल बैङ्किङ एप, सेयर कारोबारको सफ्टवेयर टीएमएस चलाउँछन् । आँखा नदेखे पनि आवाजको अन्दाजले कारोबार व्यवसाय गर्दैगर्दा उनीहरूका समस्या भने कम छैनन् ।
“कतिपय एप त्यसका विभिन्न फिचर सफ्टवेयरले रिड गर्दैन,” दृष्टिविहीन युवा कृष्ण आचार्य भन्नुहुन्छ, “एपले क्याप्चा माग्छ, त्यो कसरी हेर्नु ? कतिपय आइकन तस्बिर मात्र हुन्छ, त्यो रिडरले पढ्न सक्दैन र अनि हामी समस्यामा पर्छौं । ”
प्रविधिमा आधारित वित्तीय कारोबारका समस्या आफ्नै छन् । त्योभन्दा धेरै समस्या भौतिक उपस्थितिका लागि पनि रहेको बताउनुहुन्छ नेपाल नेत्रहीन सङ्घका वरिष्ठ उपाध्यक्ष खोमराज शर्मा, “बैङ्क तथा वित्तीय संस्थामा ह्विलचेयर लिएर जान अझै सम्भव छैन । सेतो छडी देख्नासाथ कतिपय वित्तीय संस्थामा यो मान्छे भित्र नछिरोस् भनेजस्तो हेयभाव राखेको अनुभव मैले कतिपय ठाउँमा गरेको छु । ”
नेपाल राष्ट्र बैङ्कले २०७० असोजमै सबै बैङ्क तथा वित्तीय संस्थालाई ज्येष्ठ नागरिक तथा शारीरिक अशक्तता भएका व्यक्तिलाई सहज ढङ्गले अनुकूल सेवा प्रदान गर्न भनेको थियो तर त्यो अझै कार्यान्वयन भएको छैन । यस्ता व्यक्तिका लागि छुट्टै काउन्टरसमेत वित्तीय संस्थाले व्यवस्था गरेका हुँदैनन् । अधिकांश यस्ता संस्थाका भौतिक सजावट उत्कृष्ट हुन्छ तर ह्विलचेयर भित्र पुग्ने संरचना बनेकै हुँदैनन् । यस्तै वर्गमा पर्ने पत्रकार गजेन्द्र बुढाथोकी भन्नुहुन्छ, “यहाँ कुरा मात्र धेरै हुन्छन्, कार्यान्वयन नभएपछि हामी सधैँ दुःख खेप्ने त हो नि । ”
ज्येष्ठ नागरिक, शारीरिक रूपले अशक्त व्यक्तिका लागि आवश्यक पूर्वाधार वित्तीय संस्थाहरूमा बन्न नसक्नु दुःखद रहेको बताउनुहुन्छ नेपाल बैङ्कर्स सङ्घका अध्यक्ष भुवन दाहाल । “धेरै वित्तीय संस्था भाडामा बसेका हुन्छन् अनि यस्ता पूर्वाधार बनाउन समस्या भएको देखियो” उहाँले भन्नुभयो, “तर भौतिक पूर्वाधार बनाउन नसके पनि म्यानेजरदेखि कर्मचारीले सोच चाहिँ तत्काल बदल्न जरुरी छ । ह्विलचेयरमा आँगनसम्म आएका ग्राहकलाई ससम्मान बोकेरै भए पनि कार्यालय प्रवेश गराउने दायित्व संस्थाले आजैदेखि कार्यान्वयन गर्न सक्नुपर्छ । ”
शारीरिक रूपले अशक्त व्यक्तिले वित्तीय कारोबारमा भोगेका समस्या पहिचान र समाधान खोज्न बहुपक्षीय सरोकारवाला कार्यदल बनाएर काम गर्नुपर्ने उहाँको सुझाव छ ।
धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले पछिल्लो समय सेयर बजारमा प्रविधिको प्रवेशले शारीरिक रूपमा उपस्थित नहँुदा पनि कारोबारको अवसर जुटेसँगै दृष्टिविहीन तथा अन्य अशक्तता भएका व्यक्तिको सहभागिता बढ्नु सुखद रहेको औँल्याउनुभयो । “तर यत्तिकैमा खुसी मनाउने अवस्था पनि होइन, गर्नु धेरै बाँकी छ,” उहाँले भन्नुभयो, “प्रत्यक्ष कारोबार भएकाले यसलाई अझै सुदृढ सहज र भरपर्दो बनाउनुपर्ने हुन्छ । सेयर कारोबारका लागि सबै कम्पनीको अवस्थाबारे जान्न उहाँहरूलाई सूचनामा सहज पहुँचको व्यवस्था गर्नुपर्छ तब मात्र उहाँहरू सुरक्षित कारोबार गर्न सक्नुहुन्छ । ”
नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर बमबहादुर मिश्रले वित्तीय कारोबार विस्तरित हुनु र सुरक्षितसहित सहज बनाउनु राज्यकै दायित्व रहेको र यो दिशामा नेपाल राष्ट्र बैङ्क मौन नबसेको बताउनुभयो ।
नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)ले शुक्रबार आयोजना गरेको साक्षात्कारमा सहभागी सरोकारवालाका मतअनुसार दृष्टिविहीनदेखि सबै खाले विशेष अवस्थाका व्यक्तिको अधिकार र सेवाका लागि राज्यले गरेका नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयनको थालनी र सबलाङ्गले हेर्ने दृष्टि परिवर्तन हुन भने अझै जरुरी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?