logo
२०८१ बैशाख १४ शुक्रवार



थपिनेभन्दा निको हुने दोब्बर

मुख्य समाचार |


थपिनेभन्दा निको हुने दोब्बर


गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ २२ गते । विगत दुई सातायता दैनिक थपिने सङ्क्रमितको सङ्ख्यालाई निको हुनेको सङ्ख्याले उछिनेको छ ।
लगातार १४औँ दिन शुक्रबार आठ हजार ६६३ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् भने नयाँ थपिएका सङ्क्रमितको सङ्ख्या चार हजार ६२४ रहेको छ ।
हालसम्म पाँच लाख ८१ हजार ५६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा चार लाख ७६ हजार १३० जना निको भइसकेका छन् । ३१ लाख २१ हजार १२० जनाको पीसीआर परीक्षण गरिएको छ । अहिले निको हुने दर ८१.९ प्रतिशत छ । यो दर अफगानिस्तान, भुटान, माल्दिभ्स् र श्रीलङ्काभन्दा बढी हो भने बङ्गलादेश, भारत र पाकिस्तानभन्दा कम हो । बङ्गलादेश र भारतको निको हुने दर ९२.५ र पाकिस्तानको ९१.८ प्रतिशत छ ।
विगत २४ घन्टामा १४ हजार १८२ जनाको पीसीआर परीक्षण गर्दा चार हजार ६२४ जनामा र छ हजार ६३१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा दुई हजार २९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा ८९७, भक्तपुरमा १८८ र ललितपुरमा २९९ जना गरी एक हजार ३८४ जना सङ्क्रमित थपिएका छन् । शुक्रबार १०१ जना सङ्क्रमितको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या सात हजार ७३१ पुगेको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?