logo
२०८१ बैशाख १४ शुक्रवार



कोभिसिल्डको विकल्पमा दुई खोप

मुख्य समाचार |


कोभिसिल्डको विकल्पमा दुई खोप


गोरखापत्र समाचारदाता

काठमाडौंँ, जेठ १४ गते । कोभ्याक्सले कोरोना नियन्त्रणका लागि कोभिसिल्ड खोपको विकल्प दिन पत्राचार गरेसँंगै नेपालले कोभिसिल्डको विकल्पमा अन्य दुई कम्पनीका खोप सिफारिस गरेको छ । केही दिनअघि मात्र कोभ्याक्सले नेपाललाई कोभिसिल्डको विकल्पमा अन्य खोपको विकल्प दिन आग्रह गरेको थियो । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख डा. झलक गौतमले नेपालले कोभिसिल्ड खोपको विकल्पमा कोभ्याक्सलाई एस्ट्राजेनिका र जोन्सन एन्ड जोन्सनको खोप विकल्पका रूपमा दिन पत्राचार गरिएको जानकारी दिनुभयो ।
कोभ्याक्सको सूचीमा रहेकामध्ये एस्ट्राजेनिका र जोन्सन एन्ड जोन्सनको खोप मात्र नेपाललाई उपयुक्त हुने उहाँले बताउनुभयो । यी दुई खोप दुईदेखि आठ डिग्री सेल्सियससम्ममा लगाउन सकिन्छ । खोप सल्लाहकार समितिको मङ्गलबारको बैठकले पहिलो विकल्पमा एस्ट्राजेनेका र अर्कोमा जोन्सन एन्ड जोन्सनलाई सिफारिस गरेको बताउँदै गौतमले कोभिसिल्डको विकल्पमा एस्ट्राजेनिकाको फर्मुला प्रयोग गरेर उत्पादन गरेको खोप कोभिसिल्ड खोप लगाएका व्यक्तिलाई समेत लगाउन सकिने बताउनुभयो ।
। नेपालमा ६५ वर्षमाथिका करिब १५ लाखले पहिलो डोज कोभिसिल्ड लगाएका छन् । उनीहरूलाई दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ ।
कोभिसिल्ड खोप भारतले नदिने भएपछि एस्ट्राजेनिकाको फर्मुलामा बनाइएका अन्य खोप पनि उपयुक्त हुने सुझाव छ । एस्ट्राजेनिका फर्मुलामा भारतबाहेक बेलायत, कोरियामा उक्त खोप उत्पादन हुने गर्दछ । कम विकसित, विकासशील, विकासोन्मुख देशहरूमा समेत समान वितरणका लागि बनेको ग्लोबल एलाइन्स कोभ्याक्स फ्यासिलिटीले नेपालमा पहिलो चरणमा कोभिसिल्ड खोप तीन लाख ४८ हजार डोज उपलब्ध गराइसकेको छ ।
कोभ्याक्सले नेपाललाई कुल जनसङ्ख्याको २० प्रतिशतका लागि खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । कोभ्याक्सले ९२ देशलाई जनसङ्ख्या हेरेर समानुपातिक रूपमा खोप दिने छ । कोभ्याक्स सुविधाअन्तर्गत कोभिसिल्ड, जोन्सन एन्ड जोन्सन र भाइजरको खोप मात्र सूचीकृत रहेको छ । अन्य स्पुतनिक, भेरोसेललगायतका खोप कोभ्याक्सले आफ्नो सूचीमा राखेको छैन ।
डा. गौतमले भाइजरको खोप माइनस ७० डिग्रीमा राख्नुपर्ने भएकोले नेपालका लागि उक्त खोप सम्भव नहुने धारणा राख्नुभयो । नेपालको खोप अभियानमा फाइजर खोप अनुकूल नहुने सुझाव छ । उहाँका अनुसार अमेरिकी कम्पनी जोन्सनले उत्पादन गरेको जोन्सन एन्ड जोन्सन दुईदेखि आठ डिग्री सेल्सियसमा हुने भएकोले उक्त कम्पनीको खोप मात्र नेपालका लागि अनुकूल हुन्छ ।
कोभ्याक्सको सूचीमा रहेको अस्ट्राजेनिकाको कोभिसिल्ड, जोन्सन र फाइजरले उत्पादन गरेको रोज्नुपर्ने भन्दै कोभिसिल्डले खोप नदिने भनेपछि फाइजर कम्पनीको नेपालमा काम नलाग्ने भएकोले जोन्सन एन्ड जोन्सन कम्पनीको खोप सुविधा लिन सकिन्छ । नेपालमा १४ लाख ७५ हजार जनाले कोभिसिल्डको पहिलो मात्रा लगाइसकेका छन् । ती व्यक्तिहरू अहिले कोभिसिल्डको दोस्रो मात्राको लागि बसिरहेका छन् ।
कोभ्याक्सले सन् २०२१ को मे महिनासम्म नेपालमा १९ लाख २० हजार मात्रा खोप कुल जनसङ्ख्याको २० प्रतिशतलाई पुग्ने खोप पठाउने प्रतिबद्धता गरेको थियो । प्रतिबद्धताअनुसार गत फागुन २३ गते पहिलो चरणमा तीन लाख ४८ हजार डोज कोभिसिल्ड खोप नेपाल पठाएको थियो । कोभिसिल्ड उत्पादन गरेको कम्पनी सेरमले कोभ्याक्स कार्यक्रमलाई पनि कोभिसिल्ड दिन नसक्ने जनाएपछि कोभ्याक्सले नेपाललाई अर्को खोप रोज्न
आग्रह गरेको हो । स्वास्थ्य सेवा विभागले कोभिसिल्ड तत्काल नआउने भएपछि खोप खरिदका लागि नेपालमा दर्ता भएका अन्य तीन खोप उत्पादक र अमेरिकाको मोर्डना, जोन्सन एन्ड जोन्सन कम्पनीलाई पत्राचार गरेको थियो ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?