logo
२०८१ बैशाख १६ आईतवार



खोप खरिद पहिलो प्राथमिकता

मुख्य समाचार |


खोप खरिद पहिलो प्राथमिकता


गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ ८ गते । उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौँको बसुन्धारामा ‘राधा स्वामी कोभिड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर’ को शुभारम्भ गर्नुभएको छ । काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाले सञ्चालन गरेको ८८ शøयाको आइसोलेसन केन्द्रको शुक्रबार उहाँले एक कार्यक्रमका बीच शुभारम्भ गर्नुभएको हो । त्यस अवसरमा उपप्रधानमन्त्री पोखरेलले अक्सिजन प्लान्ट र कोरोनाविरुद्धको खोप खरिद सरकारको पहिलो प्राथमिकता भएको बताउनुभयो ।
विभिन्न देशले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाइरहेको र सहयोग आउने क्रम पनि जारी रहेको बताउँदै उहाँले जीटूजी र बीटूबी जुनसुकै माध्यमबाट अक्सिजन प्लान्ट र खोप ल्याउनका लागि पहल गरिरहेको बताउनुभयो । ‘‘जतिसुकै बजेट लागे पनि छिटो ल्याउन प्रयत्नशील छौंँ,’’ उहाँले भन्नुभयो ।
कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रका संयोजकसमेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले अक्सिजन आपूर्तिबारे भन्नुभयो, ‘‘भारत सरकारले छिट्टै नेपाललाई तरल अक्सिजन प्लान्ट सहयोग गर्दैछ । चीन सरकारले दिएको अक्सिजन सिलिन्डर पनि छिट्टै ल्याउँछौँ । निजी क्षेत्रलाई पनि प्रोत्साहित गरिरहेका छौँ ।’’ कोरोनाको त्रासबाट मुक्ति दिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्ध लडाइँको समग्र नेतृत्व गर्नुभएको उपप्रधानमन्त्री पोखरेलले बताउनुभयो ।
तत्काल ८८ शøयाको अक्सिजन थेरापी सुविधासहित सुरु भएको यो आइसोलेसन केन्द्रका लागि राधास्वामी केन्द्रले भवन उपलब्ध गराएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?