logo
२०८१ बैशाख १४ शुक्रवार



चीनले दिएकोे १८ हजार अक्सिजन सिलिण्डर तातोपानी आइपुग्यो

मुख्य समाचार |


चीनले दिएकोे १८ हजार अक्सिजन सिलिण्डर तातोपानी आइपुग्यो
फाइल तस्विर


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २ गते । नेपाललाई चीन सरकारले सहयोग स्वरुप उपलब्ध गराएको १८ हजार थान अक्सिजन सिलिण्डर तातोपानी नाकामा आइपुगेको छ ।उक्त सिलिण्डर तातोपानी नाकामा आइपुगेको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले बताउनुभयो ।

तातोपानी नाकासम्म आइपुगेको अक्सिजनका सिलिण्डरलाई काठमाडौं ल्याउनका लागि काम भइरहेकाे उहाँले जानकारी दिनुभयो । नेपाल सरकारको अनुरोधमा चीन सरकारले ती सिलिण्डर सहयोगस्वरुप उपलब्ध गराएको हो । चीन सरकारले उपचारमा सहयोग पुगोस् भनेर सिलिण्डरहरू नेपाललाई दिएको हो ।

उता तातोपानी भन्सार कार्यालयका प्रमुख नारदमणि गौतमले चीनको खासास्थित नाल्यम भन्सारबाट सामान अगाडि बढेको अनाैपचारिक जानकारी आएको र त्यो सामान भरे साँझसम्म सीमाक्षेत्रमा आइपुग्ने उहाँले बताउनुभयो । साथै निजी क्षेत्रले मगाएको ७५ सय अक्सिजन सिलिण्डर पनि आएको भन्ने अनौपचारिक जानकारी रहेको उहाँले बताउनुभयो । चीन सरकारले उपलब्ध गराएको सिलिण्डर कति परिमाणमा आएको भन्ने जानकारी पनि नभएको उहाँले बताउनुभयो ।
सीमामा आएको सामान तुरुन्त अनलाइन मार्फत जानकारी हुने र त्यसलाई छिटो प्रक्रियाबाट काठमाडौ पठाइने बताउनुभयो । सबै कुरा सहज भए भोलिसम्म ती सामग्री काठमाडौ पुग्छ उहाँले बताउनुभयो ।

नेपालमा अक्सिजन अभावको कारण अस्पतालहरूमा कोरोनाका बिरामीलाई उपचार गर्न समस्या भइरहेका बेला चीनले दिएको अक्सिजनले उपचारमा ठुलो सहयोग मिल्नेछ । यसै गरी सरकारले अक्सिजनको अभाव हुन नदिन देशमै अक्सिजन प्लान्टदेखि देशका विभिन्न ठाउँमा प्रयोग विहीन अक्सिजन सिलिण्डर जम्मा गरिरहेको छ ।

विदेशमा रहेका नेपालीले पनि नेपालमा अक्सिजन ग्यास पठाइरहेका छन् ।हिजो मात्रै खाडी मुलुकमा रहेका नेपालीले ५६० अक्सिजन सिलिण्डर नेपाल पठाइ सकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?