logo
२०८१ बैशाख २० बिहीवार



अस्पतालको शुल्कमा अनियमितता

मुख्य समाचार |


अस्पतालको शुल्कमा अनियमितता


गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २५ गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले काठमाडौँ उपत्यकाका विभिन्न ठूला अस्पतालको अनुगमन गर्ने क्रममा शुल्कमा अनियमितता भएको जनाएको छ । पछिल्लो पटक अस्पतालमा शय्याको अभाव र मुल्यको अनियमिततालगायत विषयमा विभागमा आएका गुनासोका आधारमा विभागको नेतृत्वमा औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौँ र नेपाल प्रहरीको सहयोगमा उपत्यकाका ठूला अस्पतालको अनुगमन गर्दा यस्तो पाइएको हो ।
विभागका निर्देशक एवं प्रवक्ता शिवराज सेढाईंले सेवाग्राहीको गुनासोका आधारमा अस्पतालबाट पाइने उपलब्ध सेवा, लिने शुल्कलगायतमा केन्द्रित भई अस्पतालको अनुगमन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार बिहीबार मिनभवनमा रहेको सिभिल अस्पताल, चाबहिलमा रहेको ओम अस्पताल र मेडिकेयर, सिनामङ्गलमा रहेको काठमाडौँ मेडिकल कलेज (केएमसी), सुकेधारामा रहेको ह्याम्स, टोखामा रहेको ग्रान्डी र मेट्रो अस्पतालमा अनुगमन गरिएको हो ।
यसअघिका दिनमा विभागले कोभिडमा केन्द्रित भएर उपचार गरिरहेका अस्पतालको अनुगमन गर्दै आएको छ । निर्देशक सेढाईंले अनुगमनका क्रममा आयातकर्ताबाट उक्त अस्पताललाई उपलब्ध गराइएको रेम्डेसिभिर औषधि पर्याप्त नभएको पाइएको बताउनुभयो ।
उहाँले अनुगमनका क्रममा ती ठूला अस्पतालले अस्पतालमा उपचाररत बिरामीका लागि प्रयोग गरेको रेम्डेसिभिर नामक औषधिको न्यून उपलब्धता, विवरण प्रद्धति प्रभावकारी नहुँदा एक अस्पतालमा सञ्चित हुँदा अर्को अस्पतालमा अभाव भएको देखिएको बताउनुभयो । उक्त औषधिको अधिक मूल्य पाँच हजार एक रुपियाँ लिनुपर्नेमा अधिकांशमा तोकिएको मूल्यभन्दा अधिक लिएको अनुगमनका क्रममा पाइएको पनि उहाँले जानकारी दिनुभयो ।
यस्तै विभागका अनुसार अस्पतालमा बिरामीको अनुपातमा उपलब्ध शय्या सङ्ख्या अपुग रहेको, अस्पतालमा नै तोकिएको स्वास्थ्य मापदण्ड पालना नभएको, अस्पतालपिच्छे उपलब्ध सेवा र शुल्कबीच असमानता रहेकोसमेत पाइयो । विभागका निर्देशक सेढाईंले अस्पतालबाट उपलब्ध हुने सेवा शुल्कमा देखिएको अनियमितताको विषयमा छानबिनका लागि उपत्यकामा सञ्चालित २३ वटा ठूला अस्पताललाई तीन दिनभित्र प्रमाण पेस गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।
“अस्पतालले दिने सेवा शुल्कमा मूल्य अन्तर धेरै भएको पाइयो । त्यसकारण हामीले उनीहरूले दिने सेवामा के कति शुल्क हो र त्यो के आधारमा तोकिएको हो, शुल्कबारेमा स्पष्ट खुलाउन निर्देशन दिएका छौँ,” उहाँले भन्नुभयो, “अस्पताललाई यथाशीघ्र (तीन दिनभित्र) विवरण पेस गर्ने समय दिएका छौँ, आएका विवरण हेर्छौं । त्यसपछि के गर्ने भन्नेमा निर्णय लिन्छौँ र अगाडि बढ्छौँ । ”
पछिल्लो समय निजी क्षेत्रको लगानीमा सञ्चालित अस्पतालले कोरोना भाइरस सङ्क्रमणका बिरामीको उपचारमा चर्को शुल्क लिने गरेको गुनासोपछि विभागले विभिन्न निकायको समन्वयमा १७÷१८ वटा अस्पतालको अनुगमन गरेको हो ।
कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै यही वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकाका तीन जिल्लामा लागू गरिएको निषेधाज्ञामा बजारमा अनुचित व्यापारिक कारोबारमा वृद्धि हुने भन्दै विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ ।
विभागको अनुगमन टोलीले शुक्रबार उपत्यकामा विभिन्न ठाउँमा सञ्चालित मेडिकल पसलको अनुगमन गरी मेडिकल मास्कको मनपरी मूल्य लिने केही औषधि फर्मालाई जरिवाना वा कारबाही गरेको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?