logo
२०८१ बैशाख १४ शुक्रवार



राष्ट्रिय पत्रकारिता दिवस स्मृतिभित्रको गर्भकथा

मुख्य समाचार |


राष्ट्रिय पत्रकारिता दिवस स्मृतिभित्रको गर्भकथा


 पुष्कर माथेमा

सूचनाको भोक र पाएका सूचना पस्कने सोख– यिनै दुइटा कुराले पत्रकारितातिर डो¥याएको थियो मलाई । यही आकर्षणले नेपालकै सबैभन्दा पुरानो बैङ्कको जागिर चटक्क छोडेर म नेपालकै सबैभन्दा पुरानो अखबारसँग जोडिन पुगेको थिएँ, २०४५ सालमा । जीवनको उर्वर २९ वर्ष गोरखापत्रको १२१ वर्ष गहिरो सागरमा एक बूँदसरि मिसाउन पाएकोमा गौरव गर्दै बाँच्दै छु आज ।
अगाडि बढ्नेक्रममा चालेका प्रत्येक पाइला महŒवपूर्ण लाग्छन् तत्कालका लागि तर पछाडि फर्केर हेर्दा थोरै पाइलाले मात्र डोब छाडेका हुन्छन् । गोरखापत्र दैनिकको फराकिलो फाँटमा नाचेका अधिकांश पाइलालाई समयको कुचोले विस्मृतितिर बढारिसकेका छन् तर केही पाइला अझै पनि घाममा चम्कने पानीका लहरझैँ टल्पलाइरहेका छन् । मनका तलाउमा अझै तरङ्ग सिर्जना गर्ने तिनै केही लहरमध्ये एउटा हो– आजको दिन, अर्थात् राष्ट्रिय पत्रकारिता दिवसको गर्भकथा ।
कुरो २०७२ सालको हो । गोरखापत्र अनलाइन प्रमुखको जिम्मेवारी सम्हालिरहेको मलाई गोरखापत्र संस्थानको व्यवस्थापनले पुस २० गते दोस्रोपटक गोरखापत्र दैनिकको नेतृत्व सम्हाल्न लगायो । हुन त संस्थानभित्र जिम्मेवारी परिवर्तन एउटा नियमितता थियो र सो जिम्मेवारी पनि अर्काे नियमिततासँगको जम्काभेटमात्र थियो । तर त्यो जम्काभेट शीतको थोपा नभई, एउटा डोबमा रूपान्तरित भइदियो कालान्तरमा ।
प्रायः जमेको पोखरीजस्तो प्रतीत भइरहने गोरखापत्र संस्थानको पोखरीमा केही नयाँ लहर जन्माउने स–साना ढुङ्गाहरू मनको बगरमा असरल्ल पडिरहेका थिए, अब ती ढुङ्गालाई पोखरीमा हुत्याउने मौका आएजस्तो लागेको थियो मलाई । आफैँमा नेपाली पत्रकारिताको एउटा जिउँदो इतिहासका रूपमा सतिसालजस्तै उभिएको गोरखापत्र अरू थुप्रै इतिहास जन्माउन सक्ने फाँटजस्तो लाग्थ्यो मलाई, आफैँमा नेपाली पत्रकारिताको एउटा चुचुरो भएर पनि अझै अरू चुचुरा जन्माउने सम्भावनाजस्तो लाग्थ्यो मलाई ।
गोरखापत्र दैनिकको प्रधानसम्पादकको कार्यभार सम्हालेको तेस्रो दिन अर्थात् २०७२ साल पुस २२ गते अब हिँड्ने बाटोबारे छलफल गर्न र सहकर्मीसँगको पहिलो सामूहिक बैठक बोलाएको थिएँ । साथीहरूका कुरा सुनेँ, छलफल भयो र त्यसैमा जोड्दै मैले पनि हाम्रो सहयात्राका क्रममा पाउनुपर्ने प्राथमिकता राखेँ ।
विगतका बैठकझैँ एकोहोरो पदचापमा हिँडिरहेको उक्त बैठकबीच साथीहरूसमक्ष मैले एउटा सपना पस्केँ, ‘थाहा छैन म यो जिम्मेवारीमा कहिलेसम्म हुन्छु तर यही कार्यकालमा एउटा प्रयास गर्ने सोच छ । म यो सोचलाई सबैभन्दा पहिला आज तपाईंहरूको सहमतिका लागि अगाडि राख्दै छु । नेपालमा पत्रकारिताको शङ्खघोष भएको दिन वैशाख २४ राष्ट्रिय पत्रकारिता दिवसका रूपमा स्थापित गर्ने एउटा सपना छ र तपाईंहरूको साथ भएमा मेरो प्रयास आउँदो वैशाख २४ लाई नै पहिलो राष्ट्रिय पत्रकारिता दिवसका रूपमा मनाउनका लागि हुनेछ ।’
यसरी भएको थियो उक्त दिन– राष्ट्रिय पत्रकारिता दिवससम्बन्धी अवधारणाको गर्भाधान । करिब ३०÷३५ जनाको जमघटबीच केही साथीका अनुहारमा अपत्यारिलो फिस्स हाँसो तैरिएका थिए भने अधिकांशको आँखामा ताजा चमक चम्किएको देखेँ । फिस्स हाँसोले मेरो सपनालाई फितलो बनाएन बरु चमक्क चम्केका चमकले चम्काइदियो । सहकर्मीहरूको मुस्कानसहितको समर्थन राष्ट्रिय पत्रकारिता दिवस घोषणासम्बन्धी यात्रातर्फको मेरा लागि पहिलो सगुन थियो ।
संस्थागत पत्रकारिता सुरु भएको ११५ वर्ष भइसक्दा पनि नेपालको आफ्नै पत्रकारिता दिवसका सन्दर्भमा विद्यमान अभावलाई पुर्ने एउटा जमर्काेमात्रै थियो, त्यो प्रस्ताव । हुन त विश्व पत्रकारिता जगत्सँग हातेमालो गर्दै प्रत्येक मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस नेपाली पत्रकारले मनाउने नगरेको होइन तर आफ्नो भनेको त आफ्नै हो नि !
मनको मझेरीमा सपना सजाउनु गाह्रो कुरा थिएन, त्यो सपनालाई साथीहरूसमक्ष राख्नु पनि स्वादिलो कुरा थियो तर त्यसलाई मूर्त रूप प्रदान गराउनका लागि तय गर्नुपर्ने यात्रा सजिलो थिएन । म त्यो औपचारिक प्रक्रिया छिचोल्नका लागि मानसिक रूपमा तयार भने थिएँ । यस सन्दर्भमा मेरो अर्काे पाइला अनौपचारिकस्तरमै रहेको यस अवधारणाप्रति संस्थागत समर्थन प्राप्त गर्नु थियो । यसलाई औपचारिक रूपमा अगाडि बढाउनका लागि गोरखापत्र संस्थानको व्यवस्थापनको अनुमोदन आवश्यक थियो । सहकर्मीहरूसँग सल्लाह भएको एक÷दुई दिनपछि नै म मेरा सहकर्मी प्रबन्ध सम्पादक श्रीओम रोदनका साथ संस्थानका तत्कालीन महाप्रबन्धक सुशील कोइरालासमक्ष पुगेँ र गोरखापत्र दैनिकका सम्पादकहरूबीच भएको बैठकमा प्रस्तुत गरेको अवधारणाबारे बेलिविस्तार लगाएँ ।
अनपेक्षित रूपमा आएको उक्त प्रस्तावले उहाँको अनुहारमा बिजुली चम्काइदियो र निकै उत्साहित हुँदै सहर्ष स्वीकार्नुभयो । नेपाली पत्रकारिताकै सन्दर्भमा एउटा नयाँ अध्याय थालनी गर्ने त्यस प्रस्तावलाई ‘माथि’ अर्थात् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयस्तरमा पु¥याउनका लागि अपनाउनुपर्ने प्रशासनिक प्रक्रियामा उहाँले उल्लेखनीय सक्रियता प्रदर्शन गर्नुभयो ।
यसको लगत्तै तत्कालीन सूचना तथा सञ्चारमन्त्री शेरधन राईज्यूसँग माघ महिनामा उहाँको कार्यकक्षमा भएको भेटमा पनि यस विषयबारे ध्यानाकर्षण गरायौँ । कुरो त निकै अगाडि बढिसकेको रहेछ । उहाँले यस प्रस्तावलाई प्राथमिकतापूर्वक लिइएको र मन्त्रिपरिषद्बाट अनुमोदनका लागि प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिनुभयो । सोही महिना नेपाल सरकारले उक्त प्रस्तावबारे नेपाल पत्रकार महासङ्घ, प्रेस काउन्सिल नेपाललगायतका सरोकारवाला निकाय तथा विज्ञहरूसँगको छलफललाई पनि अगाडि बढाएको थियो । नेपाल सरकारको सदाशयताका फलस्वरूप समग्र नेपाली पत्रकारिताकै सन्दर्भमा एउटा परम्पराका लागि अगाडि बढाइएको यस पहलले करिब दुई महिनाको अन्तरालमै मूर्त रूप पायो । २०७२ साल फागुन १७ गतेको मन्त्रिपरिषद्को बैठकले नेपालको पहिलो समाचारपत्र गोरखापत्रको प्रकाशन आरम्भ भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय ग¥यो । सोही निर्णयलाई कार्यान्वयन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा २०७३ साल वैशाख २४ गते पहिलो राष्ट्रिय पत्रकारिता दिवस भव्यतासाथ आयोजना गरिएको थियो । यसरी नेपालमा समाचारमूलक पत्रकारिता थालनी भएकै दिन राष्ट्रिय पत्रकारिता दिवस मनाउने परम्पराको पनि थालनी भयो । आज हामी यसक्रमको छैँटौँ संस्करणमा छौँ ।
‘गोर्खापत्र’ प्रकाशन थालनीपछिका १२१ वर्षको अन्तरालमा नेपाली समाचारमूलक पत्रकारिताले ठूलो छलाङ मारिसकेको छ । छापा पत्रकारितापछि रेडियो पत्रकारिता र त्यसपछि टीभी पत्रकारिता हुँदै अहिले आएर अनलाइन पत्रकारितासम्मको तीव्रतापूर्ण अग्रगमन विभिन्न कालखण्डमा विभिन्न क्षेत्र, संस्था तथा व्यक्तित्वको देन हो । यी सबै उपलब्धिको पृष्ठभूमिका रूपमा ‘वैशाख २४’को कोशेढुङ्गाको ऐतिहासिक योगदान अविस्मरणीय छ ।
विषम परिस्थितिमा पनि सुधारवादी राणा प्रधानमन्त्री देवशमशेरबाट सामाजिक एवम् बौद्धिक विकासका लागि सूचनाको महŒवलाई आत्मसात् गर्दै नेपालमा समाचारमूलक पत्रकारिताको श्रीगणेश भएको दिनको स्मरणमा राष्ट्रिय पत्रकारिता दिवस मनाउन पाउनु नेपाली पत्रकारिता र नेपाली पत्रकारितामा समर्पित सम्पूर्णका लागि गौरव हो । यात्रा जतिसुकै लामो भए पनि पहिलो पाइलाको भिन्नै वजन र महŒव हुन्छ । गोरेटो खन्नु र खनिएको गोरेटोमा हिँड्नु फरक कुरा हुन् । यो दिवस नेपाली माटोमै खन्न थालिएको नेपाली पत्रकारिताको पहिलो दिनप्रतिको सम्मान हो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?