logo
२०८१ बैशाख १४ शुक्रवार



सञ्चार क्षेत्रको उच्च प्रशंसा

मुख्य समाचार |


सञ्चार क्षेत्रको उच्च प्रशंसा


गोरखापत्र समाचारदाता

काठमाडौं, वैशाख २४ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रेस स्वतन्त्रता, विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचना तथा सञ्चारको हकलगायतका संवैधानिक व्यवस्थाको कार्यान्वयनमा सरकारको प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले छैटौँ राष्ट्रिय पत्रकारिता दिवस तथा गोरखापत्र दैनिकको १२१औँ वर्ष प्रवेशका अवसरमा सम्पूर्ण सञ्चारकर्मीलाई शुुभकामनासँगै सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
उहाँले भन्नुभएको छ, “नेपालको लोकतान्त्रिक आन्दोलन, नागरिक अधिकार प्राप्तिको आन्दोलनदेखि सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेपालको आमसञ्चार जगत्ले खेल्दै आएको भूमिकाको म उच्च प्रशंसा गर्दछु ।”
पत्रकारहरूको दक्षता अभिवृद्धिका लागि ‘आमसञ्चार प्रशिक्षण प्रतिष्ठान’ स्थापनाको योजना बनाइएको उहाँले बताउनुभएको छ । कोभिड महामारीको मारमा परेका सञ्चारगृहका लागि सहुलियत ब्याजदरमा कर्जा प्रवाह गर्ने र सञ्चारकर्मीहरूलाई बीमाको व्यवस्था गरिएको पनि स्मरण गर्नुहुँदै उहाँले जनतालाई सही सूचना प्रवाह गर्न आमसञ्चार क्षेत्रले उत्प्रेरकको भूमिका निर्वाह गर्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।
यसैबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले कोरोना भाइरसविरुद्ध एकजुट हुन सबै राजनीतिक दललाई आग्रह गर्नुुभएको छ । कोरोना भाइरस सङ्कट समाधानका लागि सरकारको आलोचना मात्रै गर्नेभन्दा पनि सकारात्मक ढङ्गबाट आ–आफ्नो ठाउँबाट एकजुट भएर सहयोग गर्न सबै राजनीतिक दललाई अनुरोध गर्नुभएको हो ।
सिंहदरबारस्थित मन्त्रालयमा बिहीबार आयोजित निजी क्षेत्रका सञ्चार माध्यमका सञ्चालकहरूसँगको भर्चुअल छलफलमा बोल्दै उहाँले भन्नुभयो, “यो एकले अर्कालाई आरोप प्रत्यारोप गर्ने बेला होइन, बाँच्ने र बचाउने बेला हो, हामी सबै मिलेर मानवीय रूपमा एकले अर्कालाई सहयोग गर्ने बेला हो, सबैले सकारात्मक ढङ्गबाट सहयोग गरौँ ।”
मन्त्री गुरुङले अफवाह फैलाउने गरी भ्रामक समाचारभन्दा पनि कोरोनाबाट बच्न सकिने सन्देशमूलक समाचार प्रकाशन÷प्रसारण गर्न आमसञ्चार माध्यमलाई आह्वान गर्नुभयो । मन्त्री गुरुङले कोरोना भाइरसलाई पराजित गर्न आमसञ्चार माध्यमको भूमिका महìवपूर्ण रहने हुँदा सङ्कटको घडीमा जिम्मेवारीपूर्वक समाचार सम्प्रेषण गर्न अनुरोध पनि गर्नुभयो ।
उहाँले आमसञ्चार माध्यमहरूले विपत्मा सम्वेदनशील भएर समाचारहरू सम्प्रेषण गर्दा क्षति कम भएको उदाहरणहरू रहेको बताउनुभयो । उहाँले भन्नुभयो “भय, त्रास सिर्जना गर्ने, हतोत्साही बनाउने खालका समाचारले जनता कोरोनाबाट झन्झन् आतङ्कित हुने, मनोबल गिर्ने, निरुत्साहित हुने अवस्था आउन सक्छ, त्यसतर्फ सचेत रहनुुपर्छ ।”
कोभिड–१९ विरुद्धको अभियानमा सहकार्य गर्ने, सकारात्मक र सन्देशमूलक समाचारहरू सम्प्रेषण गरी जनतालाई सुसूचित गर्न योगदान गर्ने आमसञ्चार गृहलाई मूल्याङ्कनका आधारमा पुरस्कृत गरिने घोषणा पनि उहाँले गर्नुभयो । महामारी नियन्त्रणमा आमसञ्चार जगत्बाट हुनसक्ने योगदान र प्रयासबारे आएका सुझावका आधारमा तत्कालै कोभिड केन्द्रित भएर आम सञ्चारगृहका लागि कार्ययोजना र रणनीति निर्माण गर्ने, सूचना संयन्त्रको व्यवस्था गर्ने, कल सेन्टर स्थापना गर्ने उहाँले जानकारी दिनुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?