logo
२०८१ बैशाख १५ शनिवार

   स्थानीय जनप्रतिनिधिलाई विज्ञको सुझाव   



कोरोना नियन्त्रणमा विशेष भूमिका निर्वाह होस्

खुला |


कोरोना नियन्त्रणमा विशेष भूमिका निर्वाह होस्


नगेन्द्र सापकोटा

काठमाडौँ, वैशाख १५ गते । स्थानीय शासन विज्ञहरूले सहरी क्षेत्रमा कोरोनाको दोस्रो लहर व्यापक रूपमा फैलिएसँगै यसको रोकथाम र नियन्त्रणका लागि स्थानीय तहका जनप्रतिनिधिलाई विशेष भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ ।
स्थानीय तहका जनप्रतिनिधि, स्थानीय भूगोल, समुदाय, टोल बस्तीसँग परिचित हुने भएकाले सङ्घीय सरकारले गरेका निर्णय कार्यान्वयन गराउनेदेखि नागरिक सचेतना अभिवृद्धि गर्ने कार्य स्थानीय तहले मात्र गराउन सक्ने उहाँहरूको निष्कर्ष छ ।
स्थानीय शासनविज्ञ रमेशकुमार अधिकारीले स्थानीय तहका जनप्रतिनिधिले स्थानीय तहमा भएका कोरोना रोकथाम र नियन्त्रण कार्यको कार्यान्वयन अवस्थाको अनुगमन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहले कोरोना रोकथाम र नियन्त्रणसम्बन्धी चेतना व्यक्ति–व्यक्तिमा र उपचार बस्ती बस्तीमा पु-याउनुपर्छ । ”
नागरिकलाई कोरोनासम्बन्धी जानकारी पहिला पनि भइसकेकाले त्यस्ता स्थानमा स्थानीय तहले अनुगमन गर्नुपर्छ । नागरिकको स्वास्थ्यमा जटिल अवस्था पैदा हुँदै गए अस्पतालसम्म पु-याउने काम स्थानीय तहले गर्नुपर्छ । कोरोना सङ्क्रमण फैलिएका जिल्लामा निषेधाज्ञा कार्यान्वयन गराउने, भारतीय सीमा क्षेत्रबाट आएका नागरिकलाई अनिवार्य रूपमा क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन सुझाव स्थानीय शासन विज्ञहरूको छ ।
सम्भव भएसम्म आ–आफ्नै घरमा क्वारेन्टाइन राख्ने व्यवस्था मिलाउने र त्यो सम्भव नभए स्थानीय तहभित्र भएका सामुदायिक विद्यालय, कलेज र सामुदायिक भवनलगायतका स्थानमा अस्थायी क्वारेन्टाइन बनाएर राख्ने व्यवस्था मिलाउनुपर्ने उहाँहरूको सुझाव छ ।
स्थानीय शासनविज्ञ अधिकारीले अहिले सहरी क्षेत्रमा फैलिएको कोरोना क्रमिक रूपमा गाउँ–गाउँसम्म फैलिन सक्ने भएकाले कोरोना नफैलिँदै

स्थानीय तहका जनप्रतिनिधिले सचेतना र स्वास्थ्य पूर्वाधारको कार्य सञ्चालन गर्न सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो, “स्थानीय तहका जनप्रतिनिधिले सङ्घीयताको राम्रोसँग जनतालाई महसुस गराउने यो राम्रो अवसर पनि हो । यो काम सङ्घीय र प्रदेश सरकारले भन्दा पनि स्थानीय सरकारले सहजै गर्न सक्छन् । ”
अर्का स्थानीय शासनविज्ञ डा. श्याम भुर्तेलले सबै कुराको कार्यान्वयन गराउने जिम्मेवारी स्थानीय तहको भएकाले कोरोना रोकथाम र नियन्त्रण कार्यमा स्थानीय तहको भूमिका प्रभावकारी हुने बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिक सचेतनादेखि उपचारसम्मको काममा स्थानीय तहका जनप्रतिनिधिको भूमिका महìवपूर्ण हुन्छ । यस्तो महìवपूर्ण जिम्मेवारी स्थानीय तहले पूरा गर्नुपर्छ । ”
त्यसका लागि तत्काल स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले विदेशबाट नेपाल भित्रिएका नागरिकको खोजी खोजी क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउनुपर्छ । यसो गर्न सके कोरोना भाइरसको सङ्क्रमण व्यापक रूपमा फैलनबाट रोकिने र आफू बच्च सकिन्छ अरूलाई पनि बनाउन सकिन्छ ।
दैनिक बढ्दै गएको कोरोना रोकथाम र नियन्त्रण गर्ने कार्यमा स्थानीय तहका जनप्रतिनिधि सक्रिय रूपमा लाग्न तयार भएको तर तीनै तहको तहगत व्यवस्थापनसहितको स्पष्ट कार्ययोजना ल्याउन सङ्घीय सरकारलाई आग्रह गरेका छन् ।
नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोककुमार ब्याञ्जु श्रेष्ठले भन्नुभयो, “क्वारेन्टाइन निर्माण, उपचारलगायतका कार्य सञ्चालन गर्न सबै स्थानीय तहसँग पैसा छैन, सङ्घीय सरकारले आर्थिक अधिकारसहितको जिम्मेवारी दिनुपर्छ । ” सङ्घ, प्रदेश र स्थानीय तहले आ–आफ्नो जिम्मेवारीसहितको स्पष्ट खाका ल्याउन उहाँले सङ्घीय सरकारलाई सुझाव दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?