logo
२०७८ असोज ९ शनिवार

दैनिक अध्यावधिक

image
1103

सङ्क्रमित

image
1550

निको भएका

image
9

मृत्यु भएका

मिति:आश्विन ८, २०७८ (१६:४१)
स्राेत:https://covid19.mohp.gov.np/



दुई हजार १९१ दिनमा नयाँ धरहरा

राष्ट्रिय |


दुई हजार १९१ दिनमा नयाँ धरहरा


प्रकृति अधिकारी

काठमाडौँ, वैशाख १२ गते । धवलगृह अर्थात् सेतो घर । अपभ्रंश भई पुकारिने गरेको धरहरा । इतिहासकार महेशराज पन्त धवलगृहबाटै धरहरा भन्न थालिएको दाबी गर्नुहुन्छ । संस्कृतको धरागृह अर्थात् धर्तीको घरबाट अपभ्रंश भएको भन्नेहरू पनि छन् ।
तत्कालीन मुख्तियार भीमसेन थापाले आफ्नो दरबार परिसरमा धरहरा निर्माण गर्न लगाएका थिए । मुगल शैलीमा निर्माण गरिएको थियो त्यो । भारतको बनारससम्म पुगे पनि दिल्लीमा रहेको कुतुब मिनार (स्लामिक आकृति)को संरचना भीमसेनले कहाँ देखे, ठ्याक्कै भन्न सकिँदैन । “कुनै तस्बिरमा देखेका पनि हुन सक्छन्,” इतिहासकार पन्तले भन्नुभयो ।
भीमसेनलाई त्यस्तै शैलीको संरचना निर्माण गर्न इच्छा भयो र बागदरबारभित्र १८८२ सालमा पहिलो धरहरा निर्माण गरे । त्यसलगत्तै दरबारबाहिर पनि अर्काे धरहरा निर्माण गर्न लगाइयो । मुख्तियार भीमसेनको समयकालमा काठमाडौँमा दुईवटा धरहरा बने । दुवैको आकृति र उचाइ दुरुस्त थिए । दुवै धरहराको शीर्षमा बार्दली थिएन । झ्यालजस्तो प्वाल बनाइएका थिए । जहाँबाट उपत्यकाका चारैतर्फ हेर्न सकिन्थ्यो । “आक्रमणलगायत अवलोकन गर्न धरहराको प्रयोग हुनसक्छ,” इतिहासकार पन्तले भन्नुभयो ।
पुरातìव विभागका पूर्वमहानिर्देशक भेषनारायण दाहालले बागदरबारभित्रको धरहरालाई भीमसेन स्तम्भ र बाहिरको धरहरालाई ‘रानी धरहरा’का नामले पुकारिने गरेकोे बताउनुभयो । काठमाडौँ सहर प्रवेश गर्ने ठाउँमा तत्कालीन महारानी ललितत्रिपुरासुन्दरीले निर्माण गर्न लगाएकाले ‘रानी धरहरा’ भन्न थालियो । विसं १८९० को भूकम्पका कारण दुवै धरहरा भत्किए । ती धरहरा कति तले थिए भन्ने अभिलेख छैन ।
त्यस बखत भीमसेन जीवित थिए तर ललितत्रिपुरासुन्दरीको निधन भइसकेको थियो । डेढ वर्षपछि सुन्धारासँगैको धरहराको पुनर्निर्माण गरियो र बागदरबारभित्रको धरहराको पुनर्निर्माण गरिएन । इतिहासकार पन्तले भन्नुभयो, “दुवै धरहरा भीमसेनको प्रधानमन्त्रित्वकालमा बनेका हुन् । १८९० सालको भूकम्पले भत्किएपछि निजी धरहरा भत्किएरै रह्यो । बागदरबारभित्रको धरहरा किन बनाइएन भन्न सकिँदैन ।” नयाँ ठड्याइएको धरहरालाई भीमसेन स्तम्भकै नामबाट पुकार्न थालियो ।
“त्रिपुरासुन्दरीले बनाउन लगाएकाले भीमसेन स्तम्भ भन्न मिल्दैन,” उहाँले भन्नुभयो, “तर प्रधानमन्त्री भीमसेन भएकाले उनकै नामबाट भीमसेन स्तम्भ भन्न थालिएको हुनुपर्दछ ।” त्यो नयाँ धरहरा ११ तलाको थियो । पुनर्निर्माण गरिएको धरहराबाट तत्कालीन युवराज सुरेन्द्रले जङ्गबहादुर राणालाई हाम फाल्न आदेश दिएको मिथक गाँसिएका छन् तर उनले दुईवटा छाता बनाउनुपर्ने भएकाले केही दिन लाग्ने भनेर युवराजको आदेशलाई टार्न सफल भए र धरहराबाट हाम फाल्नु परेन ।
सङ्कटमा पर्दा भारदार तथा सैनिकलाई दरबारमा सामेलीका लागि धरहराबाट बिगुल फुक्ने चलन भीमसेनले चलाएका थिए । बिगुल फुक्ने चलन २००७ सालसम्म कायम रह्यो । त्यो धरहरा १९९० सालको भूकम्पले भत्कियो । चार तला मात्र बाँकी रह्यो । पुनर्निर्माण गरियो । नौ तलामा झारियो । बार्दली थपियो ।
छ वर्षअघि २०७२ सालको भूकम्पले धरहरालाई बाँकी राखेन । ठुन्किएको धरहरालाई जस्ताको तस्तै राखी सँगै नयाँ धरहरा निर्माण गरियो । नेपाली जनताले दुई हजार १९१ दिनमा पुनः नयाँ धरहरा पाएका छन् । आकृति उस्तै भए पनि उचाइ, गोलाइ र निर्माण विधि फरक छन् । तीन अर्ब ४८ करोड रुपियाँको लागतमा निर्माण गरिएको नयाँ धरहरा फेरि ठिङ्ग उभिएर नयाँ इतिहासका पाना पल्टाइरहने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?