logo
२०८१ बैशाख १५ शनिवार

  बागमती प्रदेश  



तीन वर्षमा बन्यो सोह्र सय किमी सडक

मुख्य समाचार |


तीन वर्षमा बन्यो सोह्र सय किमी सडक


भउचप्रसाद यादव

काठमाडौँ, माघ २३ गते । बागमती प्रदेशले तीन वर्षको अवधिमा एक हजार ६०१ किलोमिटर सडक निर्माण गरेको छ । यस्तै ३९३ किलोमिटर सडकको स्तरोन्नति गरेको छ ।
यो वर्षको पुस मसान्तसम्म नयाँ सडकमध्ये ९०४ किलोमिटर सडक कच्ची, ४३५ किलोमिटर सडक खण्डास्मित (ग्राभेल), २१९ किलोमिटर सडक कालोपत्रे र ४३ किलोमिटर सडक ढलान गरिएको बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयालले जानकारी दिनुभयो ।
उहाँका अनुसार तीन वर्षको सडक पूर्वाधार विकासले १८ वटा स्थानीय तहका केन्द्रलाई जोड्ने काम गरेको छ । यस अवधिमा एक हजार १५९ किलोमिटर सडक निर्माणका लागि सर्भेको काम सम्पन्न भएको छ ।
यस अवधिमा ३३ वटा नयाँ पुल निर्माण गरी उद्घाटन सम्पन्न भइसकेको छ भने ४५ वटा पुल निर्माणाधीन रहेका छन् । त्यसैगरी ४३ वटा पुल निर्माण गर्न सर्भे सम्पन्न भइसकेका छन् । सर्भे भएका सडक निर्माणका लागि चालू आर्थिक वर्षमा नै ठेक्कापट्टाको काम सम्पन्न गरिने छ ।
मन्त्री फुयालका अनुसार यस अवधिमा जनता आवास कार्यक्रमअन्तर्गत प्रदेशभरि एक हजार ३५४ वटा घरको निर्माण सम्पन्न भएका छन् । त्यसैगरी ५३ वटा सार्वजनिक भवन निर्माण र २९ वटा पार्क निर्माण भएका छन् ।
उहाँका अनुसार ‘एक घर, एक धारा’ भन्ने प्रदेश सरकारको नारालाई साकार पार्ने उद्देश्यसहित यस अवधिमा ३३ वटा खानेपानी आयोजना सम्पन्न भएका छन् ।
यसबाट थप ७४ हजार १५६ जना जनसङ्ख्या खानेपानीबाट लाभान्वित भएका छन् । २५ वटा खानेपानी आयोजनाको सम्भाव्यता अध्ययन र १०९ वटा खानेपानी आयोजनाको विस्तृत योजना प्रतिवेदन (डीपीआर) तयार भएको छ ।
प्रदेश सरकारले तीन वर्षको अवधिमा १३० वटा सिँचाइ आयोजना सम्पन्न गरेको जसबाट छ हजार ८५० हेक्टर जमिन सिञ्चित हुन पुगेको मन्त्री फुयालले बताउनुभयो । त्यसैगरी ४७ किलोमिटरमा नदी नियन्त्रण, पहिरो नियन्त्रण तथा तटबन्ध निर्माण सम्पन्न भएको छ । पूर्वाधार निर्माण, ऊर्जा, जलस्रोत र सिँचाइ, खानेपानी, भवन निर्माणका एक सयभन्दा बढी बहुवर्षीय योजनामा अहिले प्रदेश सरकार काम गरिरहेको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?