logo
२०८१ बैशाख १४ शुक्रवार

  दृश्य समाचार  



'भारत भ्रमण बहुआयामिक सम्बन्ध थप बलियाे बनाउन महत्पूर्ण

मुख्य समाचार |


'भारत भ्रमण बहुआयामिक सम्बन्ध थप बलियाे बनाउन महत्पूर्ण
तस्बीर: सागर बस्नेत


चाँदनी हमाल
काठमाडौँ, माघ ३ गते । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले यस पटकको भारत भ्रमणले दुई देशको सम्बन्ध थप मजवुद बनेको बताउनुभएको छ । तीनदिने भारत भ्रमण सकेर फर्कनु भएका मन्त्री ज्ञवालीले शनिबार अपराह्न त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलमा बोल्नुहुँदै आगामी दिनमा थप द्विपक्षीय भ्रमणहरु तथा भेटघाटहरु हुने र दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास समेत व्यक्त गर्नुभयो ।


“यस भ्रमणबाट नेपाल र भारतकाबीच रहँदै आएको घनिष्ठ मैत्रीपूर्ण एवं बहुआयामिक सम्बन्धलाई थप मजवुद बनाउने दिशामा योगदान पुगेको मेरो विश्वास छ,” उहाँले भन्नुभयो ।
परराष्ट्रमन्त्री स्तरीय नेपाल–भारत संयुक्त आयोगको बैठक पनि निकै फलदायी रहेको उहाँले प्रष्ट पार्नुभयो । उहाँले कोभिडबाट सिर्जित प्रतिकूल परिस्थितिकाबीच पनि संयुक्त आयोगको बैठक सम्पन्न हुनु एवं आपसी सहकार्य र सहयोगले थप गतिलिनु सकारात्मक पक्ष रहेको विश्लेषण गर्नुभयो । नेपाल भारत सम्बन्ध घनिष्ट, सघन र विविध रहेकाले द्विपक्षीय संयन्त्रहरु नियमित र प्रभावकारी हुन् अत्यन्त जरुरी रहेको मन्त्री ज्ञवालीले औँल्याउनुभयो । सन् २०१४ यता सातावटा बैठक लगातार हुनु पनि यसको निरन्तरताको अर्को सफलता रहेको उहाँले प्रष्ट्याउनुभयो ।
बैठकले नेपाल–भारतबीच जारी सीमा विवादको समाधान अन्य वार्ता तथा संवादका क्रममा टुंग्याउने सहमति गरेको उहाँले प्रष्ट पार्नुभयो । उहाँका अनुसार सन् १९५० को मैत्री सन्धी, प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदनका सम्बन्धमा सकारात्मक छलफल भएको छ ।
बैठकको पूर्वसन्ध्यामा पुस २९ र माघ १ गते दुबै देशको उच्चाधिकारीको बैठकपछि परराष्ट्र मन्त्रीस्तरीय बैठक शुक्रबार बसेको थियो । बैठकले राजनीतिक, सुरक्षा तथा सीमा, सम्पर्क सञ्जाल, पूर्वाधार, एवं आर्थिक सहयोग, व्यापार तथा पारवहन, उर्जा, तथा जलस्रोत, र संस्कृति, पर्यटन तथा शिक्षा गरी पाँच समूह अन्तगर्तत आपसी सहयोगका विविध पक्षहरुमा समष्टिगत समिक्षा गरेको जानकारी उहाँले दिनुभयो । साथै द्विपक्षीय सहयोगको प्रबद्र्धन गर्ने सहमति पनि सो क्रममा भएको बताउनुभयो । आयोगको आगामि बैठक दुबै देशको अनुकूलतामा नेपालमा आयोजना हुने सहमति भएको मन्त्री ज्ञवालीले बताउनुभयो ।
बैठकमा नेपाल भारत साझेदारीमा सञ्चालित विकास आयोजनाहरु शिघ्र र प्रभावकारी रुपमा सम्पन्न गर्दै विकास निर्माण र समृद्धि हासिल गर्ने प्रयास भविष्यमा सकारात्मक रुपमा देखिने भन्दै मन्त्री ज्ञवालीले आश्वस्त पार्नुभयो ।
बैठकमा भएका थप निर्णयहरु
मन्त्री ज्ञवालीका अनुसार कोभिड खोपको तत्कालको टड्कारो आवश्यकता पूर्ति गर्न भारतले नेपाललाई प्राथमिकतामा राख्ने स्पष्ट गरेको छ । त्यस्तै कोभिडका कारण बन्द हवाई तथा स्थल मार्गहरु अनुकूलता हेरि क्रमश खोल्दै जाने निर्णय भएको छ ।
हुलाकी सडकका १४ वटा खण्डमध्ये निर्माण सम्पनन ११ वटा खण्डहरुको हस्तान्तरण प्रक्रिया अघि बढाउने र बाँकी खण्ड शिघ्र सम्पन्न गर्ने सहमति भएको छ ।
रक्सौल काठमाडौँ रेल निर्माण सम्बन्धमा फिल्ड लोकेसन सर्वेका लागि सम्झौता अन्तिम चरणमा पुगेको र सो कार्य शिघ्र सुरु गर्ने सहमति बैठकमा भएको छ । रेल सञ्चालन सम्बन्धी स्ट्याण्डर्ड अफ अपरेसनलाई अन्तिम रुप दिएर जयनगरदेखि कुर्थासम्म रेल सञ्चालन सुरु गर्ने र सो रेल्वेलाइनको बर्दिवाससम्म निर्माण गर्न आवश्यक सबै कार्य सुचारु गर्ने समझदारी भएको छ ।
भैहरवामा एकिकृत चेकपोष्ट निर्माण तथा महाकालीमा निर्माणाधिन चारलेनको सडक र पुललाई भारतको राष्ट्रिय सडक सञ्जालसँग जोड्न भारत सहमत भएको छ । भूकम्पपछिको पुननिर्माण सम्बन्धी परियोजनालाई अन्तिम रुपदिन पनि दुई देश सहमत भएका छन् ।
नेपाल भारत बाणिज्य, पारवहन र रेल सम्बन्धी सन्धी सम्झौताको पुनरावलोकन प्रक्रिया छिटो सम्पन्न गर्न आवश्यक प्रक्रिया अघि बढाउने भएको छ । व्यापार प्रबद्र्धन गर्न र अवरोध हटाउन सहयोग गर्दै नेपालको निर्यात बढाउने ठोस उपाय अवलम्बन गर्न नेपालले भारत सरकारलाई बैठकमार्फत अनुरोध गरेको मन्त्री ज्ञवालीले बताउनुभयो ।
उहाँका अनुसार जलमार्गको निर्माण तथा विस्तार र सीमापार आर्थिक सेज निर्माणमा भारत सकारात्मक रहेको छ । सन् २०१४ मा हस्ताक्षर भएको उर्जा व्यापार सम्झौतमा विद्यमान खुला विद्युत व्यापारको व्यवस्था अनुरुप भारतले सीमापार उर्जा व्यापार प्रक्रिया शिघ्र जारी गर्ने र उर्जा बैंकिङलाई व्यवस्थित बनाउन पनि सकारात्मक पहल भएको छ ।
ढल्केवर–मुजफ्फरपुर उच्च भोल्टको ट्रान्समिसन लाइनको निर्माण लगत्तै भैरहवा–गोरखपुर ट्रान्समिसन लाइन लगायत सीमापार ट्रान्समिसन लाइनको निर्माण प्राथमिकतामा राख्ने सहमति दुई मुलुकबीच भएको छ । बैठकले हाल चर्चामा रहेको पञ्चेश््रवर बहुउदेश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार गर्न सहमति जनाएको छ ।
महाकाली सन्धिको प्रावधान अनुसार नेपालले पानउुपर्ने पानीको लागि टनकपुर बाँधमा हेड रेगुलेटर र लिंक क्यानलको काम अगाडि बढाउन सम्बन्धित अधिकारीलाई बैठकले निर्देशन दिएको छ । महाकाली नदीमा सिरसा, झुलाघाट र दार्चुलामागरी तीनठाउँमा मोटर आवतजावत गर्ने पुुल निर्माण, भारतीय भूमिमा निर्मित सडक र पूर्वाधारका कारण नेपालको सीमा क्षेत्रका गाउँ तथा सहरमा हुने समस्याको समाधान गर्न विगतका प्रयास कार्यान्वयन गर्ने बारेमा सकारात्मक छलफल भएको छ ।
कृषि क्षेत्रमा थप सहकार्य गर्दै मल खरिद गर्न सरकार–सरकारमाध्यमबाट गर्नका लागि आवश्यक पर्ने सम्झौतालाई गतिदिने थप सहमति बैठकमा भएको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।
रक्षा मन्त्रीसँग भेट
भारतमा रहँदा भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग शिष्टाचार भेट भएको र सो भेटमा दुई देशको सम्बन्ध सुदृढ बनाउने लगायत विविध बिषयमा छलफल भएको उहाँले स्पष्ट पार्नुभयो । सो क्रममा दुई देशका सेनालाई विपद् व्यवस्थापनमा सहकार्य गराउने बिषयमा कुराकानी भएको छ , उहाँले थप्नुभयो । सीमा विवाद जारी रहेका नेपाली सेनालेृ निर्माण गरिरहेृको बाटोका सम्बन्धमा समन्वय गरेर वारपार गर्ने बिषयमा पनि दुई देशका सेनाबीच समझदारी यसअघि नै भएको उहाँले बताउनुभयो ।
सो क्रममा सीमा विवादको बिषयमा भएको छलफलमा रक्षमन्त्री सिंहले थप छलफल गर्न तयार रहेको जनाउनुभएको मन्त्री ज्ञवालीले प्रष्ट पार्नुभयो । “सबैलाई थाहा छ, यसमा भारतको आफ्नो पोजिसन छ, अब हामी सीमा समस्यालाई छिटो समाधान गर्न अघि बढ्नेछौँ,”उहाँले भन्नु भयो । नापी गर्न र सीमाकंन गर्न बाँकी रहेको स्थानको काम छिटो टुंग्याउन पनि थप पहल गर्ने सहमति भएको छ ।
उहाँका अनुसार राजनीतिक तहमा पनि छलफल गर्दै जाने र वार्ताको माध्यमबाट पनि अघि बढ्दै जाने गरि सीमाको बिषयलाई आगामी दिनमा अगाडि बढाइने भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?