logo
२०८१ बैशाख १४ शुक्रवार



हुलाकको अन्तर्राष्ट्रिय सेवा अझै अवरुद्ध

खुला |


हुलाकको अन्तर्राष्ट्रिय सेवा अझै अवरुद्ध


गोपालचन्द्र सुवेदी

काठमाडौँ, पुस २८ गते । कोरोना भाइरस (कोभिड–१९) महामारी सुरु भएसँगै बन्द भएको नेपालको अन्तर्राष्ट्रिय डाँक ढुवानी अझै सञ्चालनमा आउन सकेको छैन ।
हुलाक सेवा विभाग मातहत सञ्चालन हुने यो सेवा चैतदेखि बन्द भएको हो । डाँक ढुवानी गर्ने विमान कम्पनी थाई एयरको सेवा नेपालमा अवरुद्ध भएको भन्दै भारतबाहेक सबै मुलुकका सेवा बन्द राखिएको होध्र
गोश्वारा हुलाक कार्यालय, डिल्लीबजारका प्रमुख वेदप्रसाद भण्डारीले यो समस्या विभाग र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा जानकारी गराइसकेको बताउनुभयो । “अन्तर्राष्ट्रिय सेवा सञ्चालन गर्ने आवश्यक व्यवस्था गर्न हामीले माथि पत्राचार गरेका छौँ,” भारतबाहेकका मुलुकमा जाने पार्सल लिने काम नै बन्द रहेको जानकारी दिँदै उहाँले
भन्नुभयो । भारतमा एयर इन्डियाबाट ढुवानी भइरहेको छ ।
नेपालको हुलाकबाट विशेष गरी भारत, अमेरिका सिङ्गापुर, रुस, जापान र खाडी मुलुकमा चिठीपत्र तथा मालसामान बढी ढुवानी हुने गर्छ तर सरकारको हुलाक संरचनाले काम गर्न नसक्दा निजी कुरियर सेवा प्रदायकले भने व्यापार बढाउन
पाएका छन् ।
अन्तर्राष्ट्रिय डाँक सेवा बन्द हुँदा नेपाली हुलाकको आम्दानी निकै घट्ने देखिएको छ । सामान्य अवस्थामा नेपाली हुलाकले वार्षिक १८ करोड रुपियाँ आम्दानी गर्ने गरेको थियो तर यस वर्ष यो कमाइ चार करोड रुपियाँमा सीमित हुने देखिएको छ ।
सन् २०१६ मा हुलाक सेवा विभागले ठेक्का प्रक्रियाबाट ढुवानीको जिम्मा थाई एयरलाई दिएको थियो । सन् २०१९ मा सम्झौता अवधि सकिएपछि बोलपत्र आह्वान गर्दा अरू विमान कम्पनीले चासो नदेखाएपछि थाईसँगै पुनः सम्झौता गरिएको विभागले जनाएको छ ।
कोभिड–१९ महामारीका कारण थाई एयरको काठमाडौँ उडान बन्द भएपछि नेपाली हुलाकका सामान ढुवानी गर्न थाई एयरले पनि कुनै वैकल्पिक व्यवस्था गरेको छैन । विभागले पनि यसको वैकल्पिक व्यवस्था गर्न चासो देखाएको छैन ।
विभागका महानिर्देशक आभा श्रेष्ठ कर्ण थाई विमान सेवा सञ्चालन हुने अपेक्षामै हुनुहुन्छ । “नयाँ विमान कम्पनी खोज्न सार्वजनिक खरिद
ऐनका प्रक्रिया पूरा गर्ने धेरै समय लाग्छ,” उहाँले भन्नुभयो ।
थाई एयरले आफ्नो वेबसाइटमा आगामी मार्च २५ सम्मका लागि उडान सेवा बन्द गरिएको सूचना जारी गरेको छ । नेपाल अन्तर्राष्ट्रिय हुलाक सङ्घको सदस्य पनि हो । नेपालको अन्तर्राष्ट्रिय हुलाक सेवा सञ्जाल भत्किएपछि सङ्घले नेपालको हुलाकको अन्तर्राष्ट्रिय सञ्जाल भरपर्दो नभएको सूचीमा राखेको छ । यसले गर्दा विदेशी सरकारी हुलाकले पनि नेपालका लागि बुकिङ लिन हच्किन्छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?