logo
२०८१ बैशाख १५ शनिवार



‘बहुलताबीच सद्भावपूर्ण एकता हाम्रो राष्ट्रिय सामथ्र्य’

मुख्य समाचार |


‘बहुलताबीच सद्भावपूर्ण एकता हाम्रो राष्ट्रिय सामथ्र्य’


गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २७ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले २९९औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन अर्पण गर्नुभएको छ ।
यस अवसरमा उहाँले देश विदेशमा रहनुभएका सबै नेपालीलाई शुभकामना व्यक्त गर्नुहुँदै नेपाल विश्व मानचित्रमा सदैव एक स्वाधीन र सार्वभौम राष्ट्रको रूपमा रहिआएको बताउनुभएको छ । वि.सं. १७७९ पुस २७ गते जन्मिनुभएका तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको जग बसालेको राष्ट्रपतिको सन्देशमा उल्लेख छ ।
विविध धर्म, संस्कृति, भाषा र परम्परालाई संरक्षण गरी सबल राष्ट्रिय एकता निर्माण गर्ने फराकिलो आधारभूमि नेपाल एकीकरणले तयार गरेको थियो । राष्ट्रपतिले भन्नुभएको छ, ‘‘बहुलताबीच सद्भावपूर्ण एकता हाम्रो राष्ट्रिय सामथ्र्य हो, यस सिर्जनात्मक शक्तिको सदुपयोग गर्दै अघि बढ्न सके मुलुकले विकासमा फड्को मार्ने निश्चित छ ।’’
पृथ्वीनारायण शाहले जनताको साथ र सहयोग लिँदै मुलुकभित्र उपलब्ध स्रोत र साधनको उपयोग गरी आपसी कलहमा फसेका ससाना राज्यलाई एकीकरण गर्न सफलता हासिल गर्नुभएको थियो । नागरिकको इच्छा र चाहनाबाट नै मुलुकको शासन सञ्चालन गर्नुपर्छ भन्ने मान्यतालाई उहाँले अनुसरण गर्नुभयो ।
नेपालको भू–अवस्थितिको आत्मबोध गर्नुभएका पृथ्वीनारायण शाहले राष्ट्रलाई सुदृढ र समृद्ध बनाउन तथा मुलुकको अविच्छिन्न एकतालाई बलियो बनाइराख्न सदा स्मरणीय सन्देशहरू दिएर जानुभएको छ । उहाँका उपदेशले राष्ट्रिय आत्मनिर्भरता हासिल गर्न आवश्यक सीप र क्षमता विकास गर्नुपर्ने खाँचोलाई दर्साएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?