logo
२०८१ बैशाख १४ शुक्रवार



तुइन विस्थापित गर्दै झोलुङ्गे पुल

मुख्य समाचार |


तुइन विस्थापित गर्दै झोलुङ्गे पुल


नगेन्द्र सापकोटा

काठमाडौँ, पुस १५ गते । पाँच वर्षअघि २०७२ असोजमा सरकारले तुइनलाई झोलुङ्गे पुलले प्रतिस्थापन गर्ने निर्णय गरेपछि अहिलेसम्म मुलुकभरबाट १२८ वटा तुइन विस्थापन भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक २०७२ सालमा प्रधानमन्त्रीको पद बहाली गर्दा मुलुकभरका तुइन विस्थापन गरी झोलुङ्गे पुल बनाउने निर्णय गर्नुभएको थियो । मुलुकका विभिन्न ठाउँमा रहेका नदी, खोलामाथि वारपार गर्न अन्य सुरक्षित उपाय नभएको अवस्थामा निर्माण गरिएका सार्वजनिक तुइनलाई झोलुङ्गे पुलले प्रतिस्थापन गर्ने कार्यक्रम सञ्चालन भएको थियो । त्यसबेला सरकारले विस्थापन गर्नका लागि मुलुकभर १४३ वटा तुइन पहिचान गरेको थियो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागले तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गरेको सस्पेन्सन ब्रिज डिभिजनका योजना प्रमुख कुमार थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अब देशको कुनै पनि स्थानमा तुइन छैन, तुइनबाट जोखिम मोलेर नदी, खोला तर्नुपर्ने बाध्यता अन्त्य भएको छ ।”
विभागका अनुसार तुइन प्रतिस्थापन गर्ने कार्यक्रमअन्तर्गत हालसम्म गण्डकी र कर्णालीमा २८–२८, सुदूरपश्चिममा २७, बागमतीमा २२, लुम्बिनीमा १८ र प्रदेश १ मा पाँचवटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका हुन् । तुइन विस्थापन गरी १२० मिटरदेखि ३५० मिटरसम्मका झोलुङ्गे पुल निर्माण भएका छन् । स्थानीय पूर्वाधार विभागका महानिर्देशक ईश्वरचन्द्र मरहठ्ठाले नागरिकले अब तुइनबाट जोखिम मोलेर दैनिकी गुजार्नुपर्ने अवस्था नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल भौगोलिक विकटता, ठूला नदी र खोल्सा पार गर्न झोलुङ्गे पुल निर्माण गर्नु चुनौती रहे पनि विभागले तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गरिसकेको छ ।”
पहिचान गरिएकामध्ये १५ स्थानमा झोलुङ्गे पुल निर्माण भइरहेको छ । भारतसँग सीमा जोडिएका दार्चुला, नवलपरासी, अछामलगायतका क्षेत्रमा झोलुङ्गे पुल निर्माणाधीन अवस्थामा रहेको विभागले जनाएको छ । केही स्थानमा भने भारत सरकारको सहमति आउन बाँकीछ ।
तुइन विस्थापन गर्ने कार्यक्रमअन्तर्गत तुइन, बाँसको फट्के, काठको पुल, ट्युबलाई झोलुङ्गे पुलले प्रतिस्थापन गरेको हो ।
नदी, खोल्साखोल्सी तर्न निर्माण भएका झोलुङ्गे पुलले स्थानीय नागरिकका लागि सहज आउजाउको सुविधा उपलब्ध भएको, हाटबजार, शिक्षा, स्वास्थ्य, प्रशासनिक सेवा, सामाजिक र सांस्कृतिक केन्द्रमा पहुँच अभिवृद्धि भएको छ ।
तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्दा प्रत्यक्ष रूपमा ३३ लाख चार हजार २६७ जना नागरिक लाभान्वित भएको विभागले जनाएको छ । झोलुङ्गे पुलबाट तुइन प्रतिस्थापन गर्दा स्वास्थ्य सेवा लिनेको सङ्ख्या ३२ प्रतिशतले र झोलुङ्गे पुल तरेर विद्यालय जाने विद्यार्थीको सङ्ख्या २२ प्रतिशतले वृद्धि भएको स्थानीय पूर्वाधार विभागले जनाएको छ ।
तुइन विस्थापित भई झोलुङ्गे पुल निर्माण हुँदा स्थानीय नागरिकमा सुरक्षित स्तरीय र भरपर्दो स्थानीय यातायातमा सहजता भएको स्थानीय पूर्वाधार विभागका महानिर्देशक मरहठ्ठाले बताउनुभयो । स्थानीय दलित, महिला, जनजाति, उत्पीडित र उपेक्षित वर्गको सामाजिक र एवं आधारभूत सेवाको विस्तार, आर्थिक अवसर र स्रोतमा पहुँच पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?