logo
२०८१ बैशाख १५ शनिवार



नेकपाका अलग अलग भेला

पार्टी एकताको पक्षमा छु : गौतम

मुख्य समाचार |


नेकपाका अलग अलग भेला


दीपक श्रेष्ठ

काठमाडौँ, पुस ७ गते । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेको छ । पार्टी विभाजनको चौबाटोमा पुगेको नेकपामा समूहगत रूपमा बेग्लाबेग्लै भेला र बैठक भइरहेका छन् । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकअर्कामाथि कारबाही प्रक्रिया अगाडि बढाउने तयारीमा छन् ।
साढे दुई वर्षअघि २०७५ साल जेठ ३ गते पार्टी एकताको ऐतिहासिक घोषणा गरेका दुई पार्टी एकताको अढाई वर्षपछि विभाजनको सङ्घारमा पुगेका हुन् । यद्यपि, कारबाहीको घोषणा पहिला कसले गर्ने भन्ने मात्र बाँकी छ । दुवै पक्षले मङ्गलबार केन्द्रीय कमिटीको बैठक डाकेका छन् ।
अध्यक्ष दाहाललाई प्रधानमन्त्रीका रूपमा अगाडि सार्दै विघटित प्रतिनिधि सभामा अविश्वासको प्रस्ताव दर्ता गर्न पुगेका दाहाल–नेपाल समूहका नेताहरू यतिबेला प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाउने तयारीमा छन् । प्रचण्ड–माधव नेपाल पक्षीय स्थायी कमिटीको बैठकले पार्टी अध्यक्ष ओलीमाथि अनुशासनको कारबाही अगाडि बढाएको पत्र निर्वाचन आयोगमा सोमबार पेस गरेका छन् । सो घटनापछि प्रधानमन्त्री एवं अध्यक्ष ओलीले केन्द्रीय कमिटीको बैठक मङ्गलबार बिहान ९ बजे बोलाउनुभएको छ ।

मेरो हस्ताक्षरले मात्र वैधानिक : ओली
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान प्रधानमन्त्री एवं अध्यक्ष ओली पक्षीय विघटित प्रतिनिधि सभाका सदस्यहरूको भेला भएको थियो । सो भेलामा सहभागी विघटित प्रतिनिधि सभाका सदस्य विशाल भट्टराईका अनुसार भेलामा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले आफ्नो हस्ताक्षरबिनाको नेकपाको कुनै पनि ‘डकुमेन्ट’ ले वैधानिकता नपाउने स्पष्ट पार्नुभयो । आफू र पार्टीभित्रको घेराबन्दीको चर्चा गर्नुहुँदै प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन र आम निर्वाचनको घोषणा गर्नुपर्ने कारणबारे बैठकमा चर्चा गर्नुभएको थियो । दाहाल–नेपाल पक्षले आफूमाथि अनुशासनको कारबाही गर्ने भन्ने हल्लाबारे टिप्पणी गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “यो हास्यास्पद कुरा हो । यस्ता निर्णय मन बुझाउनका लागि मात्र काम लाग्छ ।”

एकताबद्ध हुन प्रचण्डको आह्वान
अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षीय विघटित प्रतिनिधि सभाका सदस्यहरूको भेलामा पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तìवहरूका विरुद्ध एकताबद्ध भएर उभिन आह्वान गर्नुभएको छ । भेलामा अध्यक्ष दाहालले भन्नुभयो, “कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन सक्ने छैन ।”दाहाल–नेपाल पक्षीय स्थायी कमिटी सदस्य बेदुराम भुसालले मङ्गलबार बस्ने केन्द्रीय कमिटी बैठकको कार्यसूची प्रधानमन्त्री एवं अध्यक्ष
ओलीलाई अध्यक्षबाट हटाइने रहेको जानकारी दिनुभयो ।

फुटको साक्षी बन्दिनँ : गौतम
नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधि सभा विघटनको विरुद्धमा रहे पनि पार्टी फुटको साक्षी बस्न कतै नजाने बताउनुभएको छ । उहाँले भन्नुभयो, “दुवैतर्फबाट भइरहेका भेला पार्टी फुटाउनका निम्ति भइरहेका छन् । म फुटको साक्षी बस्न सक्दिनँ ।” पार्टी एकीकरण गराउने मध्येका नेता भएका कारण अहिले पनि एकताको पक्षमा रहेको उहाँले स्पष्ट पार्नुभएको छ ।
“प्रतिनिधि सभा भङ्गको गैर संवैधानिक कदमको विरोध गरिरहन्छु तर दुवैतिरका भेलामा मेरो उपस्थिति हुँदैन । मैले पहिले पनि गुटहरूको भेलामा नजाने भन्दै आएको हुँ”, उहाँले भन्नुभयो, “अब फुटको घोषणा गर्नमात्रै बाँकी रहेका बैठक, भेलामा भाग नलिने निर्णय मैले गरेँ । फेरि पनि पार्टी एकताको पक्षमा छु । त्यसका निम्ति अर्को निर्णय नहुँदासम्म म पार्टी एकीकरण बचाउन सकिन्छ कि भन्ने प्रयासमै रहनेछु ।”

 बेग्लाबेग्लै भेला
प्रतिनिधि सभा विघटनपछि बदलिँदो राजनीतिक परिस्थितिको मूल्याङ्कन रणनीति तय गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वयले बेग्लाबेग्लै भेला राख्नुभएको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान भेला डाक्नुभएको थियो । त्यस्तै, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बानेश्वरस्थित संसद् भवनमा भेला राख्नुभएको थियो ।
बानेश्वरमा भएको प्रचण्ड समूहको भेलाले विघटित प्रतिनिधि सभाको नियमित काम अगाडि बढाउने निष्कर्ष निकालेको छ । सो भेलाले प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई अस्वीकार गर्दै नेकपा संसदीय दलको बैठक बुधबार बोलाउने निर्णय गरेको छ । भेलाद्वारा पारित प्रस्तावमा भनिएको छ, “प्रतिनिधि सभाको नियमित कार्य अगाडि बढाउनुपर्छ भनी यो बैठक जोडदार माग गर्दछ ।”
अध्यक्ष दाहालको सचिवालयका अनुसार, नेकपा केन्द्रीय समिति बैठक मङ्गलबार बबरमहलस्थित एक पार्टी प्यालेसमा बोलाइएको छ । त्यस्तै प्रधानमन्त्री एवं अध्यक्ष ओली पक्षीय बागमती प्रदेशका केन्द्रीय सदस्यहरूको भेला तीनकुनेस्थित एक पार्टी प्यालेसमा पुस ७ गते ११ बजे बोलाइएको छ ।
तीन वर्षअघि २०७४ साल असोज १७ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी–केन्द्र) बीच वाम गठबन्धन बनाएर निर्वाचन लड्ने र निर्वाचन लगत्तै पार्टी एकता गर्ने घोषणा गरिएको थियो । एउटै घोषणापत्रबाट निर्वाचनमा उत्रिएका दुई पार्टीले करिब दुई तिहाई नजिकको बहुमत प्राप्त गरेका थिए । यसलाई पार्टी एकताको अनुमोदनका रूपमा समेत नेताले व्याख्या गर्ने गरेका थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?