logo
२०८१ बैशाख १४ शुक्रवार



सहरी पूर्वाधार विकास बैङ्क स्थापनाको तयारी

खुला |


सहरी पूर्वाधार विकास बैङ्क स्थापनाको तयारी


नगेन्द्र सापकोटा

काठमाडौँ, पुस ४ गते । सबै नगरपालिकाको सहरी सौन्दर्य कायम गर्दै आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न सहरी पूर्वाधार विकास बैङ्क स्थापना गरिने भएको छ ।
नगरपालिकाको आवश्यकता र औचित्यका आधारमा पूर्वाधार पहिचान गरी व्यवस्थित सहर निर्माण गर्न पूर्वाधार विकास बैङ्क स्थापना गर्न लागिएको र त्यसको तयारी सुरु भएको जनाइएको छ ।
नेपाल नगरपालिका सङ्घका कार्यकारी निर्देशक कलानिधि देवकोटाले सहरी, खानेपानी सहरी सडक, रङ्गशाला, सपिङ मल, सभा सम्मेलन हल, विश्वविद्यालय, फोहोरमैला व्यवस्थापन, यातायात सञ्चालन, प्रदूषण नियन्त्रण, शान्ति सुरक्षा, वातावरण संरक्षण, विपद् व्यवस्थापन, पर्यटन विकास, प्रविधि निर्माणका लागि बैङ्क स्थापना गर्न लागिएको बताउनुभयो ।
नेपाल नगरपालिका सङ्घको समन्वयमा विश्व बैङ्क, एसियाली विकास बैङ्क र नेपाल नगरपालिका कोष जस्ता राष्ट्रिय र अन्तर्राष्ट्रिय दातृ निकायको लगानी सम्मेलन गरी नेपालका २९३ वटै नगरपालिकाको आवश्यकताका आधारमा विकास गर्न पूर्वाधार विकास बैङ्क
स्थापना गर्न लागिएको हो ।
सहरी पूर्वाधार विकास बैङ्क निर्माणका लागि नेपाल नगरपालिका सङ्घले प्रारम्भिक गृहकार्य गरेको छ । बैङ्क स्थापनामा सरकारले समेत आवश्यक सहयोग र समन्वय गर्नुपर्ने सङ्घले जनाएको छ । त्यस्तै पूर्वधार निर्माण, खानेपानी व्यवस्थापन, नदी खोला संरक्षण, करिडोर निर्माणलगायत समावेश गरी सहरी पूर्वाधार विकास बैङ्क स्थापना गरिनेछ ।
सङ्घले अहिले २९३ वटै नगरपालिकासँग स्थानीय आवश्यकता र दीर्घकालीन महŒव राख्ने प्रकृतिका निर्माण गर्नुपर्ने सहरी पूर्वाधारका नामावली माग गरेको छ । सङ्घका निर्देशक देवकोटाले भन्नुभयो, “पूर्वाधार बैङ्क
स्थापना गर्न सङ्घ र प्रदेश सरकारले समेत आवश्यक सहयोग गर्नुपर्नेछ । ”
अहिलेको नगरपालिकाका जनप्रतिनिधिले बैङ्कको सुरुवात मात्र गरे भने पनि अबको अर्को निर्वाचनबाट निर्वाचित भई आउने नगरपालिकाका प्रतिनिधिले त्यसको उद्घाटन गर्नेछन् । उहाँले भन्नुभयो, “अहिले पूर्वाधार विकास बैङ्क कार्यान्वयन गरिए अबको पाँच वर्षमा २९३ वटै नगरपालिका व्यवस्थित सहर निर्माण भई नगरपालिका आर्थिक क्रियाकलापको केन्द्रका रूपमा स्थापित हुनेछ । ”
नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार व्याञ्जू श्रेष्ठले नगरपालिकालाई क्रमिक रूपमा व्यवस्थित सहर निर्माण गर्न पूर्वाधार विकास बैङ्क आवश्यक भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सबै नगरपालिकाका साझा समस्या सामूहिक रूपमा समाधान गर्न र कतै योजना अभाव कतै योजनाका खातैखात हुने परिस्थिति अन्त्य गर्न पूर्वाधार विकास बैङ्कको अवधारणा अगाडि सारिएको हो । ”
पूर्वाधार विकास बैङ्क स्थापनाले सरकारले तय गरेको दिगो विकासका लक्ष्य हासिल गर्न सहज हुने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव विष्णुदत्त गौतमले दिगो विकासका लक्ष्य हासिल गर्न र नगरपालिकाको एकीकृत पूर्वाधार विकासका लागि मन्त्रालयले आवश्यक सहयोग र समन्वय गर्ने बताउनुभयो ।
 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?