logo
२०८१ बैशाख १५ शनिवार



नेपाल–भारत परराष्ट्र सचिव स्तरीय बैठक ‘वार्ताबाटै समस्या समाधान’

मुख्य समाचार |


नेपाल–भारत परराष्ट्र सचिव स्तरीय बैठक  ‘वार्ताबाटै समस्या समाधान’



चाँदनी हमाल

काठमाडौँ, मङ्सिर १२ गते । नेपाल र भारतबीच परराष्ट्र सचिव स्तरीय बैठक सम्पन्न भएको छ । बैठकमा भारतीय पक्षको नेतृत्व विदेश सचिव हर्षवद्र्धन श्रृङ्गला र नेपाली पक्षको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गर्नुभएको थियो । बैठकमा आपसी हित र द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धका विविध पाटोका बारेमा छलफल भयो । बैठक निकै मैत्रीपूर्ण, उपलब्धिमूलक र फलदायी रहेको प्रतिक्रिया दुवै देशका सचिवले दिनुभएको छ ।
छलफलका क्रममा द्विपक्षीय सहयोगको समीक्षा पनि भएको छ । साथै आपसी हितका विविध मुद्दामा छलफल भएका छन् । औपचारिक बैठकमा भने नेपाल–भारत द्विपक्षीय पहल र परियोजनामा भएको प्रगतिबारे गहन विश्लेषण भयो ।
भूकम्पपछिको पुनर्निर्माण तथा हालसम्म भएका अन्य परियोजनामा प्रगति निकै उपलब्धिमूलक रहेको भन्दै एक अर्काको सराहना गर्दै दुई सचिवले सन्तुष्टि व्यक्त गर्नुभयो । आपसी सहकार्य अगाडि बढाउन थप कदम चाल्ने दुई पक्षबीच सहमति भएको छ ।
भूकम्पपछिको पुनर्निर्माणमा सहयोग, नेपालको तराई क्षेत्रका सडक मार्ग स्तरोन्नति र पूर्वाधार निर्माण अन्तर्गतको हुलाकी सडक निर्माण, सीमा नाकामा चारवटा चेकपोस्ट निर्माण, नेपाल–भारत पेट्रोलियम पाइप लाइन, रेल्वे सेवा, खाद्य सुरक्षा, व्यापार वाणिज्य र सहज आपूर्ति, अरुण तेस्रोलगायत विविध परियोजनामा नेपालको भारतसँग सहकार्य छ ।
धेरै सङ्ख्यामा नेपाल–भारत बीचका विभिन्न मुद्दामा सहकार्य रहेकाले बिहीबारको छलफल निकै उपलब्धिमूलक रहेको विदेश सचिव श्रृङ्गलाले बताउनुभयो ।
“भएका प्रतिबद्धता अनुसार राम्रो द्विपक्षीय सहकार्य भएको छ, यसले आपसी सहकार्य बढाउन थप पहल गरेको छ” उहाँले भन्नुभयो । साथै ईपीजी प्रतिवेदन, सीमा व्यवस्थापन, व्यापार, पारवहन, सम्पर्क सञ्जाल, पूर्वाधार, ऊर्जा, कृषि, लगानी, संस्कृति आदानप्रदान, जनसम्पर्क लगायतका विषयमा पनि थप बढोत्तरी गर्ने सहमति दुई पक्षबीच भएको छ ।
सांस्कृतिक र सभ्यतागत सम्बन्धलाई थप सुदृढ बनाउँदै दुई देश र जनतालाई लाभ हुनेगरी मैत्रीपूर्ण सम्बन्धको आधार खडा गर्नुपर्नेमा जोड दिइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सीमासम्बन्धी विषयमा भएको छलफलमा हालसम्म पूरा भएका तथा बाँकी कामका बारेमा छलफल भएको जनाइएको छ । कोभिड–१९ सँगको लडाईंका बारेमा दुवै पक्षले आफ्ना अनुभव साटासाट गरेका थिए । भारतले विकास गरेको कोभिडको खोपको प्रगतिका बारेमा समेत कुराकानी भएको थियो ।

अत्यन्तै खुसी लाग्यो : श्रृङ्गला
भारतीय विदेश सचिव श्रृङ्गलाले नेपाल–भारत दुईपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन आफ्नो ध्यान केन्द्रित रहेको नेपाली भाषामै बताउनुभयो । दुई दिने औपचारिक भ्रमणका लागि बिहीबार नेपाल उत्रनासाथ प्रतिक्रिया दिनुहुँदै उहाँले नेपालसँगको सम्बन्धलाई अब कसरी अगाडि बढाउने भन्ने विषयमा छलफलका क्रममा कुराकानी हुने प्रस्ट्याउनुभयो । नेपालमा आउँदा आफूलाई अत्यन्तै खुसी लागेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “रमाइलो लाग्यो, म पहिला पनि काठमाडौँ आएको थिएँ, तर विदेश सचिवको रुपमा यो पहिलो भ्रमण हो । यो ‘क्लोज फ्रेन्डसिप’लाई कसरी अगाडि बढाउने आज त्यसबारेमा कुरा गर्छौं ।”

भारतको सहयोगमा ४० हजार घर
शुक्रबार नेपाल–भारत मैत्री सम्बन्धका बारेमा हुने भर्चुअल छलफलमा विदेश सचिव श्रृङ्गलाले मन्तव्य राख्नुहुने कार्यक्रम रहेको छ ।
त्यस्तै गोरखामा भारत सरकारको सहयोगमा बनेको विद्यालयको उहाँले उद्घाटन गर्नुहुनेछ । भारतीय प्रधानमन्त्री मोदीको प्रतिबद्धता अनुुसार ५० हजार घर बनाउने योजना अनुसार ४० हजार घर बनिसकेका छन् ।
शिक्षामा पनि आफूहरुको सहयोग रहेकाले तीनवटा विद्यालय निर्माण भएको जानकारी दिनुभयो । त्यस्तै मनाङमा बनेको बौद्ध गुम्बाको पनि उहाँले उद्घाटन गर्नुहुने जनाइएको छ ।
विगतदेखि दुई देशबीच बल्झिरहेको सीमा समस्या गतवर्ष भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नक्सा अद्यावधिक गरेपछि चर्किएको थियो । नेपालले आफ्नो भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नक्सा अद्यावधिक गरेपछि दुई पक्षबीच सचिव स्तरमा भेटवार्ता भएको हो ।
नेपालले त्यो भूभाग आफ्नो भएको स्पष्ट धारणासहित पटक पटक कूटनीतिक नोट पठाइसकेको छ । भारतले पनि वार्ताको ढोका खुला रहेको सामान्य जनाउ दिए पनि औपचारिक धारणा राखेको थिएन ।
प्रधानमन्त्रीसँगकोे भेटमा विदेश सचिवमार्फत भारतले आफ्नो औपचारिक धारणा राखेको हो । योसँगै अब सीमाका विषयमा अर्को स्तरको छलफलका लागि बाटो खुलेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?