logo
२०८१ बैशाख १४ शुक्रवार



प्रमद्वारा २८ वटा परियोजना शिलान्यास : निर्माण कार्य उत्साहजनक

प्रमद्वारा २८ वटा परियोजना शिलान्यास

मुख्य समाचार |


प्रमद्वारा  २८ वटा परियोजना शिलान्यास : निर्माण कार्य उत्साहजनक


भउचप्रसाद यादव

काठमाडौँ, कात्तिक २४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दोस्रो कार्यकालमा शिलान्यास गर्नुभएका सबै परियोजनाको निर्माण कार्य सफलपूर्वक अगाडि बढिरहेको छ । कतिपय परियोजनाको निर्माण कार्य सम्पन्न भई उद्घाटन भइसकेको छ भने कतिपय परियोजनाको निर्माण कार्य अन्तिम चरणमा छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भइरहेको परियोजना प्रमुखसँगको निरन्तर प्रगति समीक्षा तथा परियोजनाको अनुगमन र सहजीकरण गर्दा शिलान्यास गरिएका ती परियोजना अगाडि बढ्न सम्भव भएको जनाइएको छ ।
ओली दोस्रो कार्यकालका लागि २०७४ फागुन ३ गते प्रधानमन्त्री हुनुभएको थियो । दोस्रो कार्यकालमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि उहाँले अहिलेसम्म २८ वटा परियोजनाको शिलान्यास गर्नुुभएको छ । शिलान्यास गरिएका परियोजना सफल रूपमा अगाडि बढेको प्रधानमन्त्री ओलीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलियाले जानकारी दिनुुभयो । प्रधानमन्त्री भएपछि उहाँले महाराजगञ्ज शिक्षण अस्पताल अन्तर्गत रहेको मनमोहन सेन्टर एनेक्स भवनको २०७४ फागुन १८ गते पहिलो शिलान्यास गर्नुभएको थियो । गत कात्तिक १९ गते सो भवनको उद्घाटन उहाँले गरिसक्नुभएको छ ।
त्यसैगरी २०७४ फागुन २५ गते दोस्रो शिलान्यास गरिएको पाँच सय शøया क्षमताको वीर अस्पताल सर्जिकल भवनको निर्माण कार्य अन्तिम चरणमा छ । त्यसैगरी २०७६ कात्तिक ४ गते शिलान्यास गरिएको मुलुककै पहिलो आधुनिक सुरुङ मार्ग नागढुङ्गा–सिस्नेखोलाको निर्माण सुरु भइसकेको छ ।
त्यसैगरी २०७५ पुस १२ गते शिलान्यास गरिएको ऐतिहासिक धरहराको निर्माण कार्य तीव्र रूपमा अगाडि बढाइएको छ । कुल २२ तलामध्ये १७ तलाको ढलान सम्पन्न भइसकेको छ । त्यसैगरी गत वर्ष असोजमा शिलान्यास गरिएको सिंहदरबारस्थित संसद् भवनको निर्माण कार्य उत्साहजनक रूपमा अगाडि बढिरहेको छ । त्यस्तै ललितपुरको भैँसेपाटीस्थित मुख्यमन्त्री निवास र प्रदेश प्रमुखको भवन निर्माण, बालुवाटारस्थित प्रधानमन्त्री निवास भवन लगायतको निर्माण कार्य उत्साहजनक रूपमा अगाडि बढिरहेको थपलियाले बताउनुभयो ।
विकास व्यवस्थापन विज्ञ थपलियाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भइरहेको परियोजनाको निरन्तरको समीक्षा, अनुगमन र सहजीकरण गर्दा परियोजनाको निर्माण प्रगति उत्साहजनक रहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?