logo
२०८१ बैशाख १४ शुक्रवार



घटेन कोरोना सङ्क्रमण

मुख्य समाचार |


घटेन कोरोना सङ्क्रमण


गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ ३१ गते । नेपालमा थप एक हजार ४५९ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा १० हजार ३७५ जनाको पीसीआर परीक्षण गर्दा थप एक हजार ४५९ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । सोमबार एक हजार १७० जनामा कोरोना पुष्टि भएकोमा मङ्गलबार यो सङ्ख्या ह्वात्तै बढेको हो ।
हालसम्म कुल सङ्क्रमितको सङ्ख्या ५६ हजार ७८८ र सक्रिय सङ्क्रमितको सङ्ख्या १५ हजार ७७९ रहेको छ । प्रवक्ता डा. गौतमले पछिल्लो २४ घण्टामा देशभर थप एक हजार ६२ जना उपचारपछि निको भएर डिस्चार्ज भएको जानकारी दिनुभयो । योसहित नेपालमा डिस्चार्ज हुनेको कुल सङ्ख्या ४० हजार ६३८ पुगेको छ ।
देशभरका क्वारेन्टाइनमा छ हजार ८९२ जना रहेको जानकारी दिँदै होम आइसोलेसनमा सात हजार ६४० जना रहेको बताउनुभयो । त्यसैगरी संस्थागत आइसोलेसनमा आठ हजार १३९ जना रहेका छन् ।
यस्तै काठमाडौँ उपत्यकामा थप ६७६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । उपत्यकामा यो सङ्ख्या सोमबार ५१२ थियो । मङ्गलबार काठमाडौँमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ जनामा सङ्क्रमण देखिएको हो । योसँगै उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार ९२४ पुगेको छ । काठमाडौँंमा १० हजार ५८३, ललितपुरमा एक हजार २२६ र भक्तपुरमा एक हजार ११५ सङ्क्रमित पुगेका छन् ।
कोरोना भाइरस सङ्क्रमणले थप ११ को मृत्यु भएको छ । ती मध्ये चार महिला र सात पुरुष छन् । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३७१ पुगेको छ ।

आईसीयू र भेन्टिलेटरमा पनि उत्तिकै
यस्तै नेपालमा आईसीयूमा उपचार गराउने कोरोना सङ्क्रमितको सङ्ख्या २०२ छ । मन्त्रालयका अनुसार २८ जना भेन्टिलेटरमा र १७४ जना सङ्क्रमित आईसीयूमा उपचाररत छन् ।
आईसीयूमा रहेका सङ्क्रमितको सङ्ख्या सबैभन्दा बढी बागमती प्रदेशमा १२३ जना आईसीयूमा र २५ जनाले भेन्टिलेटरमा उपचार गराइरहेका छन् । प्रदेश–५ मा २२ जना आईसीयू र एक जना भेन्टिलेटरमा, प्रदेश–१ मा पाँच जना आईसीयू र एक जना भेन्टिलेटरमा, सुदूरपश्चिममा एक जना भेन्टिलेटरमा उपचाररत छन् । यस्तै प्रदेश–२ मा नौ, गण्डकी प्रदेशमा छ र कर्णाली प्रदेशमा नौ आईसीयूमा उपचाररत छन् ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?