logo
२०७७ असोज ५ सोमवार

अनिष्ट होइन बादलभित्रको आन्तरिक सङ्घर्ष ‘स्पाइडर लाइटनिङ’

मुख्य समाचार |
बिज्ञान |


2020-08-06-19928


चाँदनी हमाल
काठमाडौँ, साउन २२ गते । गत मङ्गलबार साउन २० गते साँझ काठमाडौँको दक्षिणी आकाशमा लगातार जसो अनौठो दृष्य देखियो । आकाशमा देखिरहेको मल्याकमिलिक देख्दा मानिसहरूले सोचे कतै चट्याङ पर्दैछ ।

मौसस पूर्वानुमानको सूचना अनुसार न्यूनचापीय रेखा नेपालबाट दक्षिणतिर सरेको थियो । जसका कारण ठूलो वर्षा, झरी पर्ने कुनै लक्षण भने थिएन । तर निरन्तर आकाशमा चारैतिर पालैपालो चम्किरहेको बिजुलीले न चट्याङ पार्यो । न त कुनै गड्याङगुडुङको आवाज नै आयो । दिनभर घाम लागेर खुलेको आकाशमा साँझ यस्तो दृष्य देखेपछि धेरैमा कौतुहल जाग्यो, के भइरहेछ आकाशमा ? सधैँ त यस्तो देखिदैनथियो ।

नेपालको आकाशभर नै यस्तो दृष्य देखेपछि धेरैले के भएको भनेर एक–अर्कासँग सोधे । म्यासेज पठाए यता यस्तो भइरहेछ, त्यता के छ भनेर सोधखोज समेत गरे । विदेशबाट अन्य मुलुकले रातमा फाइटर प्लेन पो पठाए कि भनेर धेरैले आकलन पनि गरे ।

मौसम पूर्वानुमान महाशाखा र विज्ञहरूलाई पनि आधारातसम्म तारन्तर फोनको घण्टी गयो । कुनै अनिष्ट पो हुन थालेको हो कि भन्ने आशङ्का पैदा गरेपछि मानिसहरू छत, सडक र आँगनमै उभिएर आकाश नियाल्न थाले । झण्डै छ–सातघण्टा बिजुली चम्किरह्यो । त्यस अवधिमा आवाज त आएन । अनि पानी पनि परेन ।

यस्तो किन भयो भन्ने सवालमा चट्याङविद् श्रीराम शर्माले कौतुहल मेटाउँदै यो एउटा बादलभित्रको आन्तरिक सङ्घर्ष भएको जवाफ दिनुभयो । मङ्गलबार आकाशमा देखिएको त्यो बिजुली चम्काइ बादलभित्रै चट्याङ पर्दाको अवस्था रहेको उहाँले प्रष्ट्याउनुभयो । यसलाई ‘स्पाइडर लाइटनिङ’ भनिन्छ । यो यदाकदा मात्र देखिन्छ ।

उहाँका अनुसार मनसुन सक्रिय रहँदा गर्मीको मौसम भए पनि विगत एक महिनायता शीतल महसुस गरिएको थियो । गर्मीको समयमा हुने उच्च तापक्रमको अनुभूतिलाई साउने झरीले बिर्साइदिएको थियो । जमिनमा चिसो र हावामा समेत जलवाष्प कायमै रहेका बेला मङ्गलबार अचानक बिहानैदेखि चर्को घाम लाग्यो । यसले वायुमण्डलमा सापेक्षित आर्द्रता अर्थात ह्युमिडिटी बढायो ।

ह्युमिडिटी बढेपछि जलवाष्प र हावामा रहेका पानीका कण उड्दै माथिल्लो वायुमण्डलमा पुग्न थाले । दिनभरको सूर्यको किरणको राप जमिनमा परिरहँदा मानिसले चर्को गर्मी महसुस गरे । तर तापक्रमको घटबढमा भने कुनै परिवर्तन आएन । तापक्रम स्थिर नै थियो । प्रशस्त मात्रामा जलवाष्प वायुमण्डलमा पुगेपछि त्यो बादल बन्यो । “तातो र चिसोको एकैपटकको मेलले त्यहाँ उथलपुथल पैदा भयो र बादलभित्रै सङ्घर्ष चल्न थाल्यो,” चट्याङविद् शर्माले भन्नुभयो ।

त्यहाँ नेगेटिभ र पोजेटिभ चार्ज पैदा हुँदा आपसमै टकराउन थाल्यो । चिसो बरफ र तातो वाफको सङ्घर्ष निरन्तर हुँदा करेन्ट प्रवाह भएर चट्याङ पर्दाको अवस्थामा झैँ बिजुली चम्कन थाल्यो । तर त्यो बिजुली चट्याङ बनेर जमिनमा झरेन । बादलभित्रै एकअर्कामा चट्याङमा पर्यो ।

जमिनमा चट्याङ पर्दा जमिनमा रहेको पोजिटिभ वा नेगेटिभ इनर्जीसँग बादलको पोजिटिभ वा नेगेटिभ इनर्जी ठोकिन्थ्यो र आवाजसहित चट्याङ पर्थ्याे । तर माथिल्लो वायुमण्डलको बादलभित्रभित्रै यो प्रक्रिया भएकाले आवाज जमिनमा आइनपुगेको शर्माले बताउनुभयो ।

अरु बेला जमिन र आकाशको पोजिटिभ नेगेटिभ इनर्जी ठोक्किएको केही क्षणमै वर्षा हुन्थ्यो । तर आकाशमा भएको बादलको सङ्घर्षमा समुद्रको जलवाष्प थिएन । जसका कारण स्थानीय रुपमै बनेको बादलको त्यो सङ्घर्षले आकाशमा रहेको चिसो बादल र जमिनबाट गएको तातो वाष्पबीच घर्षण हुन लामो समय लाग्यो ।

आक्कलझुक्कल देखिने यो चट्याङ बढीजसो पृथ्वीको भूमध्यरेखीय क्षेत्रमा देखिन्छ । अन्यत्र भने अचानक बढेको सापेक्षित आर्द्रताका कारण कहिलेकाहीँ देखिन्छ । सक्रिय मनसुनको गति न्यून हुँदै गर्दा नेपालका अचानक बढेको तातोका कारण यस्तो अवस्था आएको हो । बादलभित्रको बरफ र पानीको कणमा उत्पन्न उर्जाको सङ्घर्षपछि यो सन्तुलनमा आउँछ । त्यसपछि वर्षा हुन्छ । सोही अनुसार काठमाडौँ उपत्यकासहित अन्य केही स्थानमा रातमा पानी परेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?