logo
२०८१ बैशाख १५ शनिवार



पहिरो क्षेत्रमा जोखिम मोलेरै बस्दैछन् जम्बुवासी

मुख्य समाचार |


पहिरो क्षेत्रमा जोखिम मोलेरै बस्दैछन् जम्बुवासी


चित्र मिजार

सिन्धुपाल्चोक, साउन ११ गते । बाढी र पहिरोको उच्चजोखिममा परेको बाह्रबिसे नगरपािलका–५, जम्बु, सिरिसे र खाग्दलका तीन दर्जनभन्दा बढी घरका स्थानीय अहिले पनि उक्त जोखिम क्षेत्रमा नै बस्दै आएका छन् । अन्यत्र सर्ने जग्गा जमिन नभएपछि बाढीपहिरो क्षेत्रमा नै उनीहरू बस्न बाध्य भएका हुन् । जम्बु बाढीले २५ वटाभन्दा बढी घर बगायो । बाँकी रहेका सातवटा घरमा स्थानीयवासी बस्दै आएका छन् । अन्यत्र कतै जाने ठाउँ छैन, यहीँ नबसेर के गर्नु, बाढीमा परिवारका सदस्य गुमाएका चरिबहादुर तामाङले पीडा व्यक्त गर्नुभयो ।
दर्जनभन्दा बढी घर रहेको सिरिसे बस्तीमाथि रहेको गातीका डाँडो जीर्ण अवस्थामा रहेको र जुनसुकै बेला उक्त पहाडै पहिरोमा परिणत भएर आउनसक्ने खतरा रहेको भूगर्भ विद्हरूले बताउँदै आए पनि त्यही डाँडोमुनि सिरिसेवासी बस्दै आएका छन् । स्थानीयवासी जोलानी तामाङले अन्यत्र कतै जग्गा नभएपछि यहीँ बस्नुपरेको गुनासो गर्नुभयो । त्यसो त कसेरी, बुकामलगायतका बस्तीका बासिन्दा पहिरो क्षेत्रमा बस्नुपरेको स्थानीय शीक्तल लामाले बताउनुभयो । भोटेकोसी गाउँपालिकाको कोदारीगाउँ, खोकुण्डोल, चाकुलगायतका स्थानीय पहिरोमुनि नै बस्नुपरेको भन्दै चाकुका सञ्जीव श्रेष्ठले अन्यत्र जग्गा नभएकोले पहिरोमुनिको बास भएको बताउनुभयो ।
गत असार २५ गते राति भोटेकोसी नदी र एल्मो ठाडोखोलामा आएको भीषण बाढीले बाह्रबिसे नगरपालिका–५, जम्बुका २५ घर, खाग्दलका २२ घर, तातोपानीका १३ घर, बुलकुटेका पाँच घर र कसेरीका दुई घर गरी ६७ घर बाढीले बगाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?