logo
२०८१ बैशाख १४ शुक्रवार

  बेनी-जोमसोम सडक  



नौ दिनदेखि अवरुद्ध, मुस्ताङकाे बाह्य सम्पर्क विच्छेद

मुख्य समाचार |
प्रदेश |


नौ दिनदेखि अवरुद्ध, मुस्ताङकाे बाह्य सम्पर्क विच्छेद


अमृतप्रसाद पौडेल
बेनी, साउन ३ गते । अविरल वर्षाका कारण आएकाे बाढीको कटानले एकातर्फको भाग गत असार २६ गते बिहान भत्किएपछि ढलेको राहुघाट खोलाको बेलिब्रिज मर्मत नहुँदा बेनी जोमसोम सडकमा नाै दिनदेखि सवारी सञ्चालन हुन सकेको छैन ।

मुस्ताङका लागि हवाइ अनि बेनी जोमसोम सडक मार्ग नै बाह्य क्षेत्रसँग जोड्ने माध्यम हो । हवाइ यातायातसमेत ठप्प भएको वर्तमान अवस्थामा स्थल मार्गको एक मात्रै रुट बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएपछि आवतजावतमा समेत समस्या भएको छ ।

कोरोना भाइरसको कारणले लकडाउनको अवस्था रहेको भएपनि अत्यावश्यक सामग्री तथा एम्बुलेनस लगायतका यातायातका साधनसमेत चल्न सकेका छैनन् । बेनी नगरपालिका–९, गलेश्वर र रघुगङ्गा गाउँपालिका–३, पिप्ले जोड्ने पुल गत असार २६ गते बिहान राहुघाट नदीले भत्काएको थियो ।

नेपाली सेनाले खोलेको पाइलट ट्रयाक निर्माणको क्रममा सेनाले बनाएको उक्त बेलिब्रिजलाई जोगाउन पक्की लठोले अड्याएको भए पनि त्यसलाई सवारी सञ्चालन गर्ने अवस्था बनाउनका समय लाग्छ । बाढीले एकापट्टीको भाग भत्काएकाले त्यहाँ रहेको पुलले नपुग्ने मुस्ताङका प्रदेशसभा सांसद चन्द्रमोहन गौचन बताउनुहुन्छ ।
नेकपा मुस्ताङका अध्यक्षसमेत रहनुभएका गौचनले पुलको स्थलगत अनुगमनपछि भन्नुभयो, 'बेनी–जोमसोम सडक आयोजनाले जति सक्यो चाँडो पुल मर्मत गरेर सवारी सञ्चालनको व्यवस्था गर्नुपर्छ । मुस्ताङ तथा उत्तरी म्याग्दीका बासिन्दाहरूका लागि पनि खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुको ढुवानीमा यसले समस्या पारेको छ ।’

म्याग्दी र मुस्ताङको सीमाना रहेको घोप्टेभीरमा पनि पहिरोले गर्दा सडक अवरुद्ध भएको छ । उक्त पहिरो हटाएर सडक निर्माणका लागि नेपाली सेना, नेपाल प्रहरी, सडकले प्रयास गरिरहेका छन् भने स्थानीय युवा क्लब, आमा समूहले पनि जनश्रम तथा अन्य सहयोग गरेको मुस्ताङका प्रतिनिधि सभा सदस्य प्रेम तुलाचनले बताउनुभयो । उक्त सडक खुलाउनका आफूले व्यक्तिगत रुपमा पनि सक्दो सहयोग गर्ने तुलाचनले बताउनुभयो ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालका अनुसार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दाना र मुस्ताङको थासाङ गाउँपालिकाको सिमाना घोप्टेभीरमा ठूलो पहिरोले गर्दा समस्या भएको छ । स्थानीय तह र बेनी जोमसोम सडक आयोजनाले पहिरो हटाउन प्रयास गरी रहेका भए पनि अझै दुई दिन सडक खुलाउनका लागि घोप्टेभिरमै समय लाग्ने प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।

उहाँले भन्नुभयो, 'मुस्ताङभित्र सडकमा खासै समस्या नभए पनि म्याग्दी साइडमा रुप्से छहरानजिकै दुई ठाउँमा पहिरो गएको छ । त्यस्तै, अन्नपूर्ण गाउँपालिका–३, दानाको द्वारीखोलानजिकै पहिरोले अjरुद्ध भएको छ । बेनी-जोमसोम सडकमा सानाठूला गरी १० स्थानमा सडक मर्मत गर्नुपर्ने अवश्था छ ।'

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?