logo
२०८१ बैशाख २० बिहीवार



डाक्टर हाेउन् त यस्ता, अफ्नाे दुर्गम भत्ताबाट गरिदिए किसानलाई ऋणमुक्त

समाज |
फिचर |


डाक्टर हाेउन् त यस्ता, अफ्नाे  दुर्गम भत्ताबाट गरिदिए  किसानलाई  ऋणमुक्त


ललित बसेल
सुर्खेत, साउन १ गते । केही समयअघि कर्णाली प्रदेश सरकारले प्रदेशमा खटिने विशेषज्ञ चिकित्सकहरूलाई प्रोत्साहन स्वरुप दुर्गम विशेष भत्ता दिने व्यवस्था गरेको थियो । त्यही दुर्गम विशेष भत्ता सुर्खेतका एक डाक्टरले भैँसीपालक किसानको ऋण तिरेर ऋणमुक्त गराइदिनुभएको छ । डा. नवराज केसीले वीरेन्द्रनगर-२ का भैँसीपालक किसान कृष्णबहादुर खत्रीको ऋण तिरेर ऋणमुक्त गराउनुभएको हो ।

खत्रीले ऋण काढेर ७० हजारमा किनेर ल्याएको भैँसी पाल्दा त्यति आम्दानी नभएपछि दुई लाख ऋण पुगेको थियो । जसोतसो ५० हजार मात्रै उहाँले बुझाउनुभएको थियो । भैँसीपालक किसान खत्री समस्यामा परेको थाहा भएपछि प्रदेश अस्पताल सुर्खेतमा बालरोग विशेषज्ञसमेत रहनुभएका डा. केसीले दुर्गम विशेष भत्तावापतको डेढ लाख रुपियाँ सहयोग गरेर खत्रीलाई ऋणमुक्त गराउनभयो ।

किसान खत्रीले भैँसी किन्दा ल्याएको ऋण तिर्न नसकेर समस्यामा परेको बेला डा. केसीले उक्त ऋण तिरिदिएर आफूलाई ठूलो गुन लगाएको बताउनुभयो । दुध बेचेर ऋण तिर्ने सोचले भैँसी किनेको र भनेजस्तो आम्दानी नभएपछि समयमै पैसा तिर्न नसक्दा खत्रीलाई समस्या परेको थियो । डा. केसीले डेढ लाख रुपियाँ सहयोग गरेर ऋणमुक्त गराउन सहयोग गरेको उहाँको भनाइ छ ।

डा. केसीले समस्यामा परेका छिमेकी किसानलाई आफ्नोतर्फबाट सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो । डा. केसीले किसान खत्रीलाई दुई लाख रुपियाँ दिएको बताउँदै डेढ लाख ऋण तिरेर ५० हजार फिर्ता गर्नुभएको जानकारी दिनुभयो ।

उहाँले कर्णाली प्रदेश सरकारले कर्णालीमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई दुर्गम विशेष भत्ता दिएको र सो रकम आफूले गरिब, समस्यामा परेका किसानको ऋणमुक्त गराउने काममा लगाउन पाउँदा आत्मसन्तुष्टि लागेको प्रतिक्रिया दिनुभयो । उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, मेरो लागि दुर्गम वा सुगम होइन कर्णाली, मेरो घर हो, त्यसैले यो भत्ता आफ्नो लागि लिन अलिकति गाह्रो लाग्यो, सरकारलाई धन्यवाद दिँदै उहाँको ऋण तिर्ने काम गरियो ।

साथै डा. केसीले मेहेनती किसान कृष्णबहादुरहरू जस्तोको अनुहारमा खुशी ल्याउन बैङ्कहरूलाई पनि सुझाव दिनुभएको छ । उहाँले भन्नुभएको छ, 'बैङ्कहरू सधैँ नाफामा रहिरहँदा मेहेनेती कृष्णबहादुरजस्ता तिनै बैङ्कका सेवाग्राहीह्ले पनि नाफाको अनुहार देख्न पाउने बैङ्किङ व्यवस्था कहिले आउला ? अनि श्री रामको जन्म नेपालमा हो भने रामराज्य देख्ने मौका यी कृष्णजस्ता सुकुम्बासीहरुले कहिले पाउलान् ?' यसअघि डा. केसीले आफ्नै पहलमा स्वास्थ्य शिविर, हरित सुर्खेत, सफा सुर्खेतलगायतका अभियानहरू सञ्चालन गर्दै आउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?