logo
२०८१ बैशाख २० बिहीवार



सार्वजनिक यातायात सञ्चालनमा सरकारले सहयोग गर्ने

मुख्य समाचार |


सार्वजनिक यातायात सञ्चालनमा सरकारले सहयोग गर्ने


लक्की चौधरी

काठमाडौँ, साउन १ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
यातायात व्यवसायी र मजदुर सङ्गठनका नेताहरूसँग बिहीबार बिहान बालुवाटारमा कुरा गर्नुहुँदै प्रधानमन्त्रीले सो प्रतिबद्धता जनाउनुभएको हो । सार्वजनिक यातायात सञ्चालनमा सरकारको तर्फबाट सहयोग भए मात्र यातायात सञ्चालन गर्न सकिने अडान यातायात व्यवसायीको छ । उहाँहरूले प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज छुट्टाछुट्टै ज्ञापनपत्र बुझउनुभयो ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “अहिले सबै क्षेत्रमा कोभिड-१९ को असर परेको छ, सार्वजनिक यातायात सञ्चालन गर्न सरकारको हैसियतअनुसार आवश्यक सहयोग गर्छौं ।” यातायात व्यवसायीले उठाउनुभएको माग उचित रहेको उहाँले सो अवसरमा बताउनुभएको नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीम ज्वाला राईले बताउनुभयो ।

सोहीअनुसार अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोभिड-१९ का कारण विश्वभरका यातायात व्यवसायी प्रभावित रहेको र सरकारको तर्फबाट हरेक देशमा आवश्यक सहुलियत उपलब्ध भइरहेको बताउनुभयो । “तपाईहरूको माग जायज छ, सरकारको तर्फबाट केही न केही आर्थिक सहुलियत उपलब्ध गराउन म पहल गर्छु” ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले प्रतिबद्धता जनाउनुभएको सङ्गठनका अध्यक्ष राईले जानकारी दिनुभयो ।

भेटका क्रममा यातायात व्यवसायीले सरकारको तर्फबाट आर्थिक सहुलियत उपलब्ध हुनुपर्ने, बैङ्कको पुनःकर्जा व्यवस्था हुनुपर्ने, कर्जा बुझाउने म्याद थप हुनुपर्ने, कागजात नवीकरण सहज हुनुपर्ने, यातायात मजदुरको निःशुल्क स्वास्थ्य परीक्षण हुनुपर्ने, कोरोना बीमाको व्यवस्था हुनुपर्ने, आवश्यक स्वास्थ्य सामग्री मास्क, सेनिटाइजरको व्यवस्था गरिनुपर्ने लगायतका माग राखेको राईले बताउनुभयो ।

साे अवसरमा यातायात व्यवसायी महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, महासचिव सरोज सिटौला, सङ्गठनका अध्यक्ष भीम ज्वाला राई, अखिल नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष रामचन्द्र कार्की, नेपाल यातायात मजदुर सङ्घका धर्मराज भण्डारी लगायतको सहभागिता रहेको राईले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?