logo
२०८१ बैशाख २० बिहीवार



पेश्की फर्छ्यौटमा थाहा नगरपालिका देशमै उत्कृष्ट

अर्थ |


पेश्की फर्छ्यौटमा थाहा नगरपालिका देशमै उत्कृष्ट


शिवराम काशी

हेटौँडा, साउन १ गते । पेश्की फर्छ्यौट गरी आर्थिक सुशासन कायम गर्न सफल भएकामा मकवानपुरको थाहा नगरपालिकालाई मुलुकमै उत्कृष्ट स्थानीय तह घोषणा गर्दै पुरस्कृत गरिएको छ ।

आर्थिक वर्ष २०७४/७५ मा देखिएको बेरुजु फर्छ्यौटमा ९६ दशमलब ०६ प्रतिशत सफलता हासिल गरेकाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थाहा नगरपालिकालाई उत्कृष्ट घोषित गर्दै कर्मचारीहरूलाई पुरस्कार प्रदान गरेको हो । मन्त्रालयले नगरपालिकामा आर्थिक अनुशासन कायम गर्न सफल भएकोमा प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी र लेखा अधिकृत विष्णु भुसाललाई जनही पाँच हजार रुपियाँ पुरस्कार र सम्मानपत्र प्रदान गरेको हो ।

पेश्की फर्छ्यौट गरी आर्थिक सुशासन कायम गरी पुरस्कार पाउने स्थानीय तह थाहा नगरपालिका मात्र हो । नेपाल सरकारको सचिवस्तरको निर्णयले बेरुजु फर्छ्यौट कार्ययोजना र मार्ग निर्देशिका अनुसार काम गरेकोमा थाहा नगरपालिकाका कर्मचारीलाई नगद र प्रशंसापत्रसहित सङ्घीय सरकारले पुरस्कृत गरिएको थाहा नगरपालिकाका मेयर लवशेर विष्टले जानकारी दिनुभयो ।

चार प्रतिशतभन्दा कम बेरुजु रहनुलाई महालेखा परीक्षकको कार्यालयले आर्थिक अनुशासन भएको संस्था मान्ने गरेको छ । सोही बमोजिम थाहा नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा बेरुजु जम्मा २ दशमलब ५४ प्रतिशत कायम गरेपछि उत्कृष्टता हासिल गरेको हो ।

थाहा नगरपालिकामा आर्थिक वर्ष २०७४/७४ सम्ममा एक करोड ५५ लाख ६५ हजार पेश्की फर्छ्यौट भएको थिएन । तर नगरपालिकाले आर्थिक पारदर्शिता र सुशासन कायम गरी कुल एक करोड ४९ लाख ५२ हजार बेरुजु फर्छ्यौट गरेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?