logo
२०८१ बैशाख १६ आईतवार

  असार महिनामा बाढीपहिरो  



आजसम्म ४६ जनाको मृत्यु, ३७ घाइते, ५८ बेपत्ता

मुख्य समाचार |


आजसम्म ४६ जनाको मृत्यु, ३७ घाइते, ५८ बेपत्ता


चाँदनी हमाल
काठमाडौँ, असार २६ गते । मनसुन सुरु भएयता जेठ ३१ गते यता पहिरोबाट बढी क्षति भएको गृह मन्त्रालयले जनाएको छ । जस अनुसार मानिसको ज्यान जाने गरी विभिन्न १२ जिल्लामा बाढी र पहिरोजन्य ठूला विपद्का घटका भएका छन् । पहिरोका कारण हालसम्म ४६ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार सङ्घीय सरकार, स्थानीय तह र जिल्ला प्रशासन कार्यालय विपदपछिको उद्धार, राहत र उपचारमा जुटेको छ ।

पर्वत, पाल्पा, बझाङ, गुल्मीको इश्मा ,सिन्धुपाल्चोक, म्याग्दी, कास्की, जाजरकोट, लमजुङ, रुकुम पश्चिममा गएको पहिरोमा परी ४६ जनाको मृत्यु भएको हो । जसमा ३७ जना घाइते भएका छन् । गृहमन्त्रालयस्थित राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख मुरारी वस्तीका अनुसार ती घटनामा परी हालसम्म ५८ जना बेपत्ता रहेको खबर साँझसम्म सङ्कलन भएको छ ।

आजमात्र बाढीले एक र पहिरोबाट २३ को मृत्यु
आज मात्र एक जनाको बाढीले बगाएर र २३ जनाको पहिरोमा परी मृत्यु भएको छ, २४ जना बेपत्ता छन् । सिन्धुपाल्चोकमा हालसम्म दुई जनाको मात्र शव फेला परे पनि अन्यको भेटिएको छैन । पाँच जना घाइते काठमाडौँमा छन् । हालसम्म एक चिनियाँसहित २१ जना बेपत्ता रहेका छन् । म्याग्दीमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । एक जनाको बाढीले बगाएर मृत्यु भएको छ भने पाँच जना घाइते छन् । त्यहाँ २९ जना बेपत्ता रहेका छन् । त्यहाँ १९ जना बेपत्ता रहेको प्रहरी प्रवक्ता निरजबहादुर शाहीले जानकारी दिनुभयो । आपतकालीन केन्द्रका अनुसार जाजरकोटमा सात जनाको शव फेला परेको छ । पाँच जना घाइते र पाँच जना बेपत्ता रहेका छन् । कास्कीमा सात जनाको शव फेला परेको छ भने १७ जना घाइते छन् । लमजुङमा तीनजनाको मृत्यु तीन जना घाइते रहेका छन् । गुल्मीको कुश्मा एक जना र रुकुम पश्चिमको आठबिसकोटमा दुई जनाको मृत्यु भएको छ ।

विस्थापितको सङ्ख्या यकिन नभएपनि हालसम्म तीन सय जना र घर क्षति एक सय जनाको तथ्याङ्क केन्द्रमा आएको छ । थप सङ्कलन कार्य जारी रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार वर्षासँगै तराईमा डुबान सुरु भएको छ ।

हालसम्म विभिन्न क्षेत्रमा विपत्तिमा परेकालाई उद्धार र राहतका लागि प्रदेश स्थानीय स्तरबाट परिचालन गरिएको छ । त्यहाँबाट नसकेको विषयमा भने केन्द्रले सहयोग गरिरहेको छ । “खराब मौसमका कारण कतिपय स्थानमा केन्द्रबाट उद्धारका लागि हेलिकप्टर पठाउन सकिएको छैन, म्याग्दीमा जानै सकेको छैन, उता जाजरकोटमा पनि पुग्न सकिएको छैन, ” उहाँले भन्नुभयो । सिन्धुपाल्चोकमा भने खोजी जारी रहेको छ । लमजुङ, पोखराको उद्धार गरेर अस्पताल लगिएको छ । म्याग्दीको धौलागिरी र जाजरकोटको स्थान अति दुर्गममा रहेकाले उद्धार र राहतमा समस्या परेको केन्द्र प्रमुख वस्तीले बताउनुभयो । स्थानीय पालिकाले सुरक्षित स्थानमा राखेर तत्कालका लागि खान र बस्ने व्यवस्था मिलाइएको छ । मौसम सफा हुनासाथ थप उद्धारका कार्य थालिनेछ ।

उहाँका अनुसार म्याग्दीमा पनि तत्कालका लागि स्थानीय तह, रेडक्रसले नै त्रिपाल , खाना र लत्ताकपडाको व्यवस्था गरेको छ । बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकामा पनि जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय उद्योग बाणिज्य संघ, नगरपालिका र गाउँपालिकाले नै व्यवस्थापन गरिरहेका छन् । त्यहाँ ३६ घर परिवार विस्थापित छन् ।

जोखिम क्षेत्रबाट स्थानान्तरण नहुँदा अत्यधिक क्षति
२०७२ सालमा भूकम्प गएलगत्तै पहिरोको जोखिम क्षेत्रको अनुसन्धान गरी त्यस्ता क्षेत्रको पहिचान गरिएको थियो । कतिपय स्थानमा बस्ती नबस्नसमेत सिफारिस गरिएको थियो । वस्तीका अनुसार थात थलो छाड्न नचाहने पद्धतिका कारण पनि क्षति बढेको हो । “जन्मेको थातथलो, बाउबाजे यही बसेका, यो ठाउँ छाडेर कहाँ जाने, बाउ बाजे यही मर्या, हामी चाँही झोला बोकेर कता जाने भन्ने जस्ता सेन्टीमेन्टका कुराले मानिस जोखिम क्षेत्र छाडिरहेका छैनन् ,” वस्ती प्रष्ट्याउनुहुन्छ । हिँडेपछि गोठ खोइ, पूजा गर्ने ठाउँ खोई, भोज खाने ठाउँ सबै सकिन्छ भनेर पीर गर्ने र त्यही बस्ने गरेका छन् ।

अन्य कारणमा यसपाला वैशाख जेठमा राम्रै पानी पर्यो । माटो गलेको थियो, अलिकति ठूलो पानी पर्नेबित्तिकै त्यो गलेको माटो जम्मै बगेर ठाउँ छाड्यो । अहिले नदी पनि चाहिएको छैन । साना साना खोलाबाट ठूला अप्रत्यासित पहिरो गइरहेको उहाँ बताउनुहुन्छ । भिरालो जग्गामा कमजोर माटोले ठाउँ छाडेपछि ढुङ्गासहित भेलमा बगेर झरिरहेको छ । यस्तो जोखिम देख्दादेख्दै पनि त्यहाँको थातथलो नछाडेका अवस्था छ । घर घरमा बाटो लैजाँदै डोजर एस्काभेटरले पहिले पहिरो गएका स्थान थर्काएर डाँडा थप खुकुलो बनाइदिएको छ । विकास पूर्वाधारमा वातावरण र विपदमैत्री नहुनु पनि पहिरो जानुको कारक रहेको उहाँ बताउनुहुन्छ । विपद्सम्बन्धी पूर्वसूचना २१ गतेदेखि नै सार्वजनिक गर्दा पनि मानिसले बेवास्ता गर्नु पनि क्षति बढी हुनुकाे पछिल्लो मुख्य कारक हो । “तीनचार दिन बढी पानी पर्छ, नदीमा बाढी आउँछ भनेको भन्यै छौँ, एसएमएस पनि पठाएकै छौँ, तर मानिसले वास्ता गरेका छैनन्,” वस्तीले भन्नुभयो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?