logo
२०८१ बैशाख २६ बुधवार



ट्याक्सी सञ्चालनको व्यवस्था मिलाउन निर्देशन

मुख्य समाचार |


ट्याक्सी सञ्चालनको व्यवस्था मिलाउन निर्देशन
फाइल तस्बिर


गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २५ गते । सङ्घीय संसद् अन्तर्गतको विकास तथा प्रविधि समितिले सर्वसाधारणको आवत–जावतलाई सहजता प्रदान गर्न सार्वजनिक यातायातसँग सम्बद्ध ट्याक्सी सञ्चालनको व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
सिंहदरबारस्थित समितिको कार्यकक्षमा बुधबार बसेको समितिको बैठकले यातायातसँग आबद्ध विभिन्न सङ्घ संस्थाका प्रतिनिधिसँगको छलफलपछि विश्व स्वास्थ्य सङ्गठन, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कोरोना सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले तयार पारेका मापदण्ड पूरा हुने गरी ट्याक्सी यातायात सञ्चालनको व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।
बैठकमा सार्वजनिक यातायातसँग सम्बद्ध सरोकारवाला मजदुर सङ्गठन र व्यावसायिक सङ्गठनका पदाधिकारीले बन्दाबन्दीका कारण मजदुरको दैनिकी कष्टकर बनेको, गुजारा चलाउन नसकेपछि आत्महत्याको तहसम्म पुग्नुपर्ने दर्दनाक परिस्थितिको सिर्जना भएको, व्यवसायीहरूले ऋण तिर्न नसकेका लगायतका समस्याबारे जानकारी गराउनुभएको थियो । असार १ गतेदेखि बन्दाबन्दी केही खुकुलो भए पनि सार्वजनिक यातायात सञ्चालनमा आउन सकेको छैन । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?