logo
२०८१ बैशाख १४ शुक्रवार



अध्यक्षद्वयलाई विवाद सुुल्झाउने जिम्मा

मुख्य समाचार |


अध्यक्षद्वयलाई विवाद सुुल्झाउने जिम्मा
फाइल तस्बिर


सुरेशकुमार यादव

काठमाडौँ, असार १९ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बिहीबारको बैठकले पार्टीमा देखिएको आन्तरिक विवाद सुल्झाउने जिम्मेवारी पार्टीका दुई जना अध्यक्षलाई दिएको छ । निर्धारित कार्यसूचीभन्दा बाहिर बहस केन्द्रित हुुँदै विवाद बढ्न थालेपछि बैठकले यो जिम्मेवारी दिएको हो ।
पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको आन्तरिक विवादका कारण एकता नै गम्भीर मोडमा पुगेको हुनाले यस विषयमा दुई जना अध्यक्ष छलफल गरी टुङ्गोमा पु¥याएपछि मात्र अर्को बैठक बस्ने जानकारी दिनुभयो । छलफलमा अन्य सचिवालयका सदस्यले समेत सहभागी हुनसक्ने छन् ।
असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा कार्यसूचीभन्दा फरक विषयमा बहस हुन थालेपछि पार्टी एकतामा नै असर पर्ने देखिएको हुनाले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल गरेर अर्को बैठक शनिबार बस्ने भएको छ । सो अनुुसार शुक्रबार दिनभरि शीर्ष नेताको बीचमा छलफल हुन्छ र त्यसबाट निस्केको निष्कर्षसहित शनिबार ११ बजे स्थायी कमिटीको बैठक बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
बिहीबार बसेको स्थायी कमिटीको बैठकमा सदस्यहरू केशव बडाल र अमृत बोहराले मात्र आफ्नो धारणा राख्नुभयो ।
असार १४ गते मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले दिनु भएको अभिव्यक्ति र निर्वाचन आयोगमा नेकपा (एमाले) दर्ताका लागि परेको निवेदनकै विषयमा बडाल र बोहराले धारणा राख्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने भएपछि स्थायी कमिटीमा रहनुभएका मन्त्रीहरू त्यसमा जानुपर्ने भएकाले बैठक स्थगित गरिएको थियो ।
मन्त्रिपरिषद्को बैठकले ५ बजेदेखि दुवै सदनको चालू अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय भएको सन्दर्भमा नयाँ कार्यसूचीमा छलफल गर्न खोजिए पनि बैठक अघि नबढेको उहाँले जानकारी दिनुभयो । सदनको चालू अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय आइसकेपछि पार्टीका अध्यक्ष प्रचण्डले महासचिव विष्णुप्रसाद पौडेलसहित प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष ओलीसँग छलफल गर्नुभएको थियो ।
त्यस छलफलमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को निर्णयले पार्टीलाई कुनै असर गर्दैन भनी स्पष्ट पार्नुभएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले भन्नुभयो, “बिहान दुई अध्यक्षबीच छलफल हुँदा मन्त्रिपरिषद्को बैठक नबस्ने कुरा भएको थियो तर अचानक मन्त्रिपरिषद्को बैठक बोलाएर सदन स्थगित गर्ने निर्णय गरियो ।”
प्रधानमन्त्री ओलीसँग छलफल गरेपछि अध्यक्ष प्रचण्डले पार्टीका अन्य शीर्ष नेतासँग पनि छलफल गर्नुभएको थियो । सो छलफलपछि उहाँ राष्ट्रपतिसँग भेट्न शीतल निवास पुग्नुभएको थियो । त्यहाँ उहाँले संसद्को चालू अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने कुरा पनि सुनिएको छ त्यो के हो भनी जिज्ञासा राख्नुभएको थियो तर राष्ट्रपति भण्डारीले त्यस्तो केही पनि कुरा नरहेको स्पष्ट पार्नुभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
सदन स्थगित गरेर अध्यादेश त ल्याउन खोजेको होइन भनी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीसँग पनि जिज्ञासा राख्नुभएको थियो । प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउने कुनै सोच नरहेको प्रतिक्रिया दिनुभएको उहाँले बताउनुभयो ।
अध्यक्ष प्रचण्ड शीतल निवासबाट फर्केपछि पुनः स्थायी कमिटीको बैठक बसेको थियो । सो बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीसँगको भेटघाटमा भएको कुराकानीबारे जानकारी दिनुभएको थियो । प्रधानमन्त्री ओली कार्य व्यस्तता र जरुरी भेटमा रहनुभएकाले स्थायी कमिटीको बैठकमा उपस्थित नहुनु भएको प्रेस सल्लाहकार थापाले जानकारी दिनुुभयो ।
बिहीबारको बैठकमा बोहरा र बडालले पार्टी एकताप्रति चिन्ता जाहेर गर्नुभएको थियो । नेता बडालले प्रधानमन्त्री अ‍ोलीको राजीनामा मागेर समस्या बल्झेको धारणा राख्नुभयो । अर्को चुनावसम्म अध्यक्ष ओलीलाई प्रधानमन्त्री रहन दिने र चुनावपछि ओली प्रधानमन्त्री नबन्ने अरूलाई नै जिम्मेवारी दिने गरी अगाडि बढ्नुपर्ने आफूले सुझाव दिएको बताउँदै नेता बडालले पार्टीभित्र आ–आफ्नो जिम्मेवारी पूरा नगरेर पनि समस्या बल्झँदै गएको बत(ाउनुभयो ।
मङ्सिर ४ गते पार्टीमा भएको निर्णय अनुसार पार्टीको सञ्चालन अध्यक्ष प्रचण्ड र सरकारको सञ्चालन अध्यक्ष ओलीले गर्ने थियो । सदस्यता नवीकरणदेखि लिएर महाधिवेशनको तयारीसम्मको काम गर्नुपर्ने थियो तर अध्यक्ष प्रचण्डले कुनै काम गर्न सक्नु भएन र अहिले आएर सबै दोष अरूको काँधमा थुपारेको कुरा नेता बडालले बैठकमा उठाउनु भएको थियो ।
पार्टी सचिवालयमा नै समस्या रहेको कुरा आफूले बैठकमा राखेको बताउँदै उहाँले सचिवालयमा छलफल गरेर मात्र बैठकलाई अगाडि बढाउन आफूले सुझाव दिएको पनि बताउनुभयो ।
नेता बोहराले एकता खलल नपुग्ने गरी पार्टी सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो । नेताहरूको बीचमा देखिएको असमझदारीलाई आपसमा बसेर सुल्झाएर अगाडि बढ्नुपर्ने बताउँदै उहाँले पार्टीको विवादले नेता तथा कार्यकर्तामा निराशा उत्पन्न भएको ध्यानाकर्षण गराउनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?