logo
२०७७ असार २६ शुक्रवार

रिपोर्टरको डायरीः कोरोना हल्लालाई जितेको समय

समाज |


2020-07-01-17603


बलेवा, असार १७ गते । चीनमा फैलिएको कोरोनाका कारण विश्वमा नै प्रभाव पर्न सक्छ भनेर बीबीसीले लेखेका धेरै अनुसन्धानमूलक समाचार हेरिरहेकै थिएँ । कोरोना युरोप र अमेरिकाका मुलुकमा फैलियो । ठूल्ठूला देशले समेत कोरोनाको प्रभावमा परेका आफ्ना नागरिकको जीवन रक्षाका लागि बन्दाबन्दी गरेका खबरले अन्तरराष्ट्रिय समाचार एजेन्सी भरिभराउ भएका थिए ।
कोरोनाका विषयमा विश्व स्वास्थ्य सङ्गठनले दिएका चेतावनी र निर्देशनका विषयमा जानकार थिएँ । नेपालमा पुस माघतिरदेखि कोरोनाको ठूलो चर्चा चलेको हो । चीनबाट आएका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि हल्लाखल्ला मच्चियो । उनी उपचारपछि घर फर्किए । त्यसको केही समयमा कोरोनाका कारण प्रभावित १७० नेपालीको सरकारले उद्धार गर्यो । त्यसबेला भक्तपुरको खरिपाटीमा स्थानीयवासीले क्वारेन्टाइन बनाउन सरकारलाई नदिएको विरोध गरेको कुराले मलाई धेरै छोयो । त्यसको केही समयमा विशेष गरी युरोपेली देशबाट आउनेहरुमा धमाधम कोरोनाको सङ्क्रमण पुष्टि भयो । काठमाडौँ र कञ्चनपुरपछि कोरोना सङ्क्रमण पुष्टि हुने पहिलो जिल्ला बन्यो बाग्लुङ, जसका कारण हामीले अरु क्षेत्रमा जस्तै अवसर र चुनौती दुवैको सामना गर्नुपर्यो ।

चैत ९ गते विशेष कामका लागि मेरा साथीहरु पोखरा गयौंँ । तेस्रो कोरोना सङ्क्रमित देखिएकाले सरकारले लामो दूरीको यातायात चैत १० गतेदेखि बन्द गर्ने निर्णय चैत ९ गते नै ग¥यो । हामी ९ गते पोखराको काम सकेर उतै बसेका थियौंँ । लामो दूरीको यातायात बन्द भएकाले १० गते बागलुङ फर्किने सम्भावना कम देखेर हाम्राबीचमा ११ गतेसम्म विचार गर्ने चर्चा चल्यो ।
मैले १० गते जुनसुकै हालतमा बागलुङ फर्किने साथीसँग जिद्दी गरेँ । साथी मेरो कुरामा सहमत हुनुभो । पोखराबाट बागलुङ आइपुग्ने बेलासम्म जुन कष्ट हामीले व्यहो¥यौँ, त्यो नै लकडाउन र कोरोनाका कारण हामीले व्यहोर्नुपरेको कष्टको पहिलो खुड्किलो थियो । यदि हामी पोखरामै भएको भए ११ गतेदेखि भएको लकडाउनमा हामी उतै थुनिन्थ्यौंँ ।
सङ्कटका बेलाको पत्रकारिताको त्यति धेरै अनुभव त छैन तर मैले राज्यमा सङ्कट पर्दा पत्रकारितामा पनि असर पर्छ भन्ने कुरा २०६२÷०६३ को जनान्दोलन, २०७२ को भूकम्पलगायत घटनाबाट केही बुझेको थिएँ । विसं २०७० देखि २०७३ सम्म मलेसियामा बस्दा त्यहाँ चलेको स्थानीय भाषामा बिर्सी (सफाइ) अभियानमा त्यहाँको सङ्कट देखेर पनि केही सिक्ने मौका पाएको थिएँ । अहिले पनि त्यो अवस्था आउन सक्छ भन्ने पूर्व आकलन त थियो तर त्यसभन्दा कठिन मोड आउला भनेर सोचेकै थिइन ।

लकडाउनपछि जिल्लामा क्रियाशील धेरै साथी गाउँ फर्किनुभयो । ज्यान बाँच्यो भने पत्रकारिता फेरि गरौंँला भन्ने सामाजिक सञ्जालमा व्यक्त अभिव्यक्ति देख्दा मलाई पनि घर फर्किन मन नलागेको होइन । हामी केही साथीहरुका बीच काम छाडेर गाउँ फर्किने कुरामा विषयमा चर्चा चल्यो तर सङ्कटमा अफवाह चिर्ने र जनताका बोली बोल्ने सञ्चारमाध्यम र सञ्चारकर्मी नै हुन् भनी पत्रकारिताको मर्मबाट विचलित हुन मन लागेन । केही साथीहरु मात्रै मैदानमा थियौंँ ।

मैले काम गर्ने सञ्चारमाध्यम राष्ट्रिय समाचार समिति (रासस) निरन्तर चलिरहेकै थियो । म र हामीहरु पनि निरन्तर चलिनै रह्यौंँ । चैत १५ गते बागलुङमै सङ्क्रमित भेटिए । एम्बुलेन्स भाग्नेदेखि प्रशासनले अस्पताल थर्काउने र बिरामी समयमा अस्पताल नल्याउने गैरजिम्मेवार सरकोकार भएकाहरुको प्रत्यक्षदर्शी मात्रै बनेनौँ, हामीले बिरामी समयमा अस्पताल ल्याउन र उनको सम्पर्कमा आएकालाई खोज्न निरन्तर खबरदारी ग¥याँैं । त्यतिबेला सदरमुकाममा केही पत्रकार साथी मात्रै हुनुहुन्थ्यो जो अस्पतालसम्म पुगेर वस्तुस्थिति सुरक्षित हिसाबले प्रत्यक्ष नियाल्नुभयो ।
हाम्रो खबरदारीले नै केही न केही सरोकार पक्षमा दवाव सिर्जना भएकै हो । त्यसपछि हामीले बनाएका समाचारले सबैलाई झक्झकाउने काम गर्यो । सामाजिक सञ्जालका म्यासेन्जरमा छड्के हानेर तर्साउन खोज्नेदेखि मोबाइलका घण्टी बजे पनि हामी विचलित भएनाँैं । निरन्तर सर्वसाधारणको पक्ष र सत्ता तथा शक्तिको कमजोरीका विपक्षमा कलम चलाइरह्यौँ । अचम्मको कुरा त के हो भने कोरोनाका बिरामीको उपचार थालेको धौलागिरि अस्पतालमा चिकित्सकबाहेक पहिलो पटक छिर्ने पत्रकार हुन् । त्यसमा पनि सरकारी सञ्चारमाध्यमका पत्रकार धेरै थिए । सङ्कटको बेला सरकारी सञ्चारमाध्यमको उपस्थिति कति बलियो र प्रभावकारी हुन्छ भन्ने कुरा धौलागिरि अस्पतालमा कोरोनाको शुरुआती चरणका बिरामीको उपचार, चिकित्सकको सक्रियतालगायत विषयमा नेपाल टेलिभिजन र राससले जुन हिसाबले स्थान दिए त्यो हिसाबको उपस्थिति अरुमा देखिएन । यसबाट चिकित्सक र बिरामी सबैलाई हौसला मिल्यो र सबै सरोकार पक्षको ध्यान जाने वातावरण बन्यो । पहिला केही दिनमा मास्क, स्यानिटाइजर नभएकोलगायत समस्याले निकै सताए । मैले काम गर्ने सञ्चार संस्था र नेपाल पत्रकार महासंघ बागलुङले देखाएको सक्रियताका कारण पछि समस्या समाधान हुँदै गए ।

लकडाउनका कारण मर्कामा परेका मजदूर र विपन्नका प धेरै समाचार बने । हामीले उनीहरुका समस्यासँग जोडेर समाग्री बनायौंँ जसका कारण उनीहरुले राहत पाए, सहज जीवनको महसुस गरे तर हामी आफैँ भने लकडाउन र कोरोना कहरले कष्टकर समय बिताउँदै थियाैँ ।

म बाग्लुङ बजारमा बस्छु । परिवार गाउँमा छ । वृद्ध आमा, ससाना छोराछोरीको दिनदिनै बज्ने मोबाइलको घण्टी उठ्न नपाउँदै एउटै प्रश्न हुन्थ्यो, घर कहिले आउने ? लकडाउन शुरु भएका केही दिन म घर गइन । झण्डै एक महिनापछि घर जाँदा परिवारमा नै शङ्का थियो । हेम्मिएर नजिक पर्न मलाई पनि आँट थिएन भने परिवारका सदस्यलाइ पनि । गाउँका एक जना मै हुँ भन्ने नेताले चलाएको हल्लाले गाउँले थर्कमान थिए ।

बागलुङमा कोरोना देखिएकाले त्यहाँबाट आउनेसँग नजीकै पर्नुहुन्न भन्ने भ्रमसहितको हल्लाले मेरो घरको मुटु पनि चिरिएकै थियो । साँझ घर पुगेकाले खाना खाएर आराम गर्न लागेंँ । कोठामा पस्ने बेला पाँच वर्षको छोराले भन्यो, ‘तपाईँ हामी सुत्ने कोठामा नसुत्नू ।’ मैले सोधेंँ किन ? ‘तपाईँलाई कोरोना लाको छ, थाहा छैन बाग्लुङमा कोरोना आएको ।’ गाउँमा फैलिएको अफवाहले उनको बालमानसपटलमा निकै गहिरोसँग छोएको रहेछ । ऊ, उसकी ममी, दिदी र मेरी आमासमेत उसको कुरामा धेरथोर सहमत हुनुहुन्थ्यो । त्यसपछि ऊ त्यो दिन मसँग बसेन । ऊ मेरी आमासँग बस्यो । एक दिन बसेर उसको मनको बाघ त हटाएँ तर ऊ जस्ता कयौंँ बालबालिकाको मानसपटलमा बसेको बाघ हटाउन भने हामी जस्ता सञ्चारकर्मी र सञ्चारमाध्यमलाई समय लाग्छ ।

स्थलगत रिपोर्टिङमा बढी विश्वास गर्ने मैले अहिले पनि त्यो काम छाडेको छैन । लकडाउनमा पनि पत्रकारको परिचयपत्रका आधारमा हिँडडुल गर्न पाउने भएकाले अहिले पनि पाइला रोकिएको छैन । स्थलगत रुपमा हरेक ठाउँ पुग्दा त्यहाँ हुने व्यवहारले भने बेला बेला मनको कुनाकन्दरामा हान्छ । संक्रमित भएर निको भएकी ६५ वर्षीया मनकुमारी पौडेल आमासँग अन्तर्वार्ता गर्दाको आधा त्रास र आधा उत्साहदेखि अंशु सापकोटाको गाउँ पुग्दाका तीता अनुभवले धेरै सिकायो । फ्रन्ट लाइनमा रहेकाले पत्रकार महासङ्घको पहलमा भएको परीक्षणको रिपोर्ट आउने बेलाको तनाव र आफ्नै साथीभाइले त्यही विषयलाई लिएर गरेका कतिपय आलोचनाले मन चिरिन्छ । सङ्कटमा सबै क्षेत्र कमजोर र शिथिल हुँदा राज्यको दवदवामा नागरिकका अधिकार कुण्ठित हुन नदिनका लागि जे प्रयास गरियो त्यो सिकाइ र अनुभव दुवैका लागि उपयोगी हुनेमा विश्वस्त छु । सङ्कटमा भागेर होइन डटेर अघि आउने नै पत्रकार हो भन्ने अग्रजले सिकाएको कुरालाई शिरोपर गर्दै अझै देखिन सक्ने सङ्कटको सामना गर्न र नागरिकका पक्षमा कलम चलाउन पाइयोस् । पत्रकारिताको दूर दौडमा पटुकीले कम्मर कसेर दौडिररहने प्रेरणा मिलोस् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?