logo
२०८१ बैशाख १४ शुक्रवार



लुकिछिपी नेपाल आउने घटे

मुख्य समाचार |


लुकिछिपी नेपाल आउने घटे


भउचप्रसाद यादव

काठमाडौँ, जेठ २२ गते । भारतबाट स्थलमार्ग हुँदै स्वदेश फर्काउन नेपाल–भारत सीमाका २० नाकालाई प्रवेश बिन्दु तोकिएपछि लुकिछिपी आउनेको सङ्ख्या घटेको छ तर कतिपय ठाउँमा तोकिएको प्रवेश बिन्दु पुग्नका लागि दुई दिन हिँड्नुपर्ने भएकाले त्यसलाई व्यावहारिक बनाउनुपर्ने सुझाव पनि प्रमुख जिल्ला अधिकारीहरूको छ ।
गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भन्नुभयो, “अहिले भारतबाट स्थलमार्ग हुँदै स्वदेश आउने नेपालीका लागि नेपाल–भारत सीमामा २० वटा नाका खुलाइएको छ । खुला सिमाना रहेका भारतसँग यसअघि एक सयभन्दा बढी औपचारिक प्रवेश बिन्दु रहेकोमा मुलुकमा बन्दाबन्दी सुरु भएसँगै अत्यावश्यकीय वस्तुको ढुवानी गर्नुबाहेक सीमा बन्द गरिएको थियो । ”

प्रवेश बिन्दुको पूर्ण पालना
झापाका प्रमुख जिल्ला अधिकारी उदय राना मगरले सरकारद्वारा तोकिएको प्रवेश बिन्दुको पूर्ण पालना गरिएको बताउँदै खुला सिमानाका कारण लुकिछिपी नेपाल प्रवेश गरिरहेकालाई क्वारेन्टाइनमा राख्ने गरिएको र उहाँहरूको पीसीआर परीक्षण गर्ने गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिलेसम्म भारतबाट नेपाल प्रवेश गरेका एक हजार पाँच सय जनाको पीसीआर परीक्षण गरिएको छ । भारतसँग १४४ किलोमिटर सिमाना रहेको झापामा १५९ सुरक्षा पोस्ट राखिएको छ । प्रवेश बिन्दुबीचको दूरीका कारण स्वदेश फर्कनेहरूमा व्यावहारिक समस्या देखिएको बताउँदै उहाँले भन्नुभयो, “झापा र मोरङको बीचमा रहेका गौरीगञ्ज नाका भएर स्वदेश फर्कन चाहने व्यक्तिलाई काँकडभिट्टा पुग्न दुई दिन लाग्न सक्छ, प्रवेश बिन्दु तोकिँदा यस प्रकारका समस्या देखिएका छन् । ”
धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले प्रवेश बिन्दु तय गरिएपछि लुकिछिपी स्वदेश फर्कनेहरूको सङ्ख्यामा कमी आएको बताउनुभयो । धनुषामा प्रवेश बिन्दु नभएकाले लुकिछिपी स्वदेश फर्केकालाई क्वारेन्टाइनमा राखी पीसीआर परीक्षण गर्ने गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार ४८.९ किलोमिटर भारतसँगको सीमा रहेको धनुषामा हरेक एक सय मिटरको दूरीमा ४५१ जना सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बारामा सरकारद्वारा तोकिएको प्रवेश बिन्दु नरहेकाले सिमानामा पूर्ण रूपमा आवागमन निषेध गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार ६२ किलोमिटर रहेको भारतसँगको सिमानामा १७ वटा सुरक्षा पोस्ट स्थापना गरी चार सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले प्रवेश बिन्दु तोकिनुअघि भारतबाट लुकिछिपी स्वदेश फर्केको पाइए पनि प्रवेश बिन्दु तोकिएपछि गौरीफन्टा नाकाबाहेक अन्य ठाउँबाट स्वदेश प्रवेशमा पूर्णरूपमा निषेध गरिएको जानकारी दिनुभयो ।

खुला भएका २० नाका
कोभिड–१९ को सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिमा भारतमा रहेका नेपालीलाई स्थलमार्ग हुँदै सुरक्षित रूपमा स्वदेश फर्काउन नेपाल–भारत सीमाका २० नाकालाई प्रवेश बिन्दु तोकिएको छ । कोभिड–१९ को सङ्क्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्नेसम्बन्धी आदेश २०७७ का अनुसार इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा, मोरङको रानी, सप्तरीको कुनौली, सिरहाको ठाडी र माडर, महोत्तरीको भिट्टामोड, सर्लाहीको मलङ्गवा, रौतहटको गौरलाई प्रवेश बिन्दुका रूपमा तोकिएको छ ।
त्यसैगरी पर्साको वीरगञ्ज, नवलपरासी पश्चिमको महेश्वपुर, रुपन्देहीको बेलहिया, कपिलवस्तु–तौलिहवा र कृष्णनगर, बाँकेको जमुनाह, बर्दियाको सुरजपुर र गुलरिया, कैलाली–गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको दार्चुलालाई प्रवेश बिन्दुका रूपमा तोकिएको हो । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले विश्वव्यापी रूपमा नै कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको अहिलेको अवस्था भारतमा रहेका नेपालीलाई सहज रूपमा स्वदेश फर्काउन, स्वदेश फर्केपछि उहाँहरूमा सहज रूपमा कोरोनाको पहिचान तथा व्यवस्थापनका लागि भारतसँगको सीमामा २० वटा प्रस्थान बिन्दु तोकिएको बताउनुभयो ।
तोकिएको प्रस्थान बिन्दुको कार्यान्वयनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बललगायत सुरक्षा निकाय तथा प्रवेश बिन्दु तोकिएका सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई मन्त्रालयबाट परिपत्र भइसकेको जानकारीसमेत उहाँले दिनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?