logo
२०८१ बैशाख १४ शुक्रवार



रक्सौलका क्वारेन्टाइनमा रहेका नेपाली स्वदेश भित्रिए (फोटो फिचर सहित)

मुख्य समाचार |


रक्सौलका क्वारेन्टाइनमा रहेका नेपाली स्वदेश भित्रिए (फोटो फिचर सहित)


दिपकप्रसाद गौतम
वीरगञ्ज, जेठ १४ गते । नेपाल र भारतमा जारी लकडाउनका कारण स्वदेश आउन नपाई लामो समयदेखि सीमावर्ती भारतीय शहर रक्सौलको क्वारेन्टाइनमा रहेका र भारतको विभिन्न सहरबाट सीमामा आइपुगेका नेपालीहरू बुधबारदेखि स्वदेश फर्किन थालेका छन् ।

भारतको विभिन्न राज्यमा रोजगारी, तीर्थाटनका लागि गएका पर्सालगायत २५ जिल्लाका करिब ३५० देखि ४०० नेपाली भारतीय शहर रक्सौलको क्वारेन्टाइनमा रहेका थिए ।

रक्सौलको हजारीमल विद्यालयमा बनाइएको क्वारेन्टाइनमा रहेका नेपाली नागरिकलाई वीरगञ्ज नाकाबाट स्वेदश भित्र्याउने कार्य सुरु गरिएको, बुधबार बिहान पहिलो लटमा १०१ नेपाली नागरिक स्वेदश फर्किएको र बाँकीलाई पनि फर्काउने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो ।

मुख्य नाकामा सुरक्षाकर्मीले उच्च सर्तकताका साथ स्वेदश फर्किएकाहरूको विवरण लिने, तत्कालै स्वास्थ्यकर्मीले तापक्रम जाँच्ने , नाकामा नै सरसामान र व्यक्तिहरूलाई स्यानिटाज गर्ने र शङ्कराचार्य गेटनजिकै बनाइएको टेन्टमा राख्ने काम गरिएको छ । टेन्टमा स्वदेश फर्किएका नेपालीहरूको लागि खानेपानी, बिस्कुट र मास्कको व्यवस्था गरिएको छ ।

नजिकैका जिल्लाका बासिन्दालाई सम्बन्धित प्रशासनको जिम्मा लगाइने र पर्सा जिल्लाका व्यक्तिहरूलाई वीरगञ्जकै क्वारेन्टाइनमा राखिने अनि बिस्तारै सम्बन्धित स्थानीय निकायको क्वारेन्टाइनमा पठाउने तथा अन्य जिल्लाका व्यक्तिहरूलाई सम्बन्धित जिल्लाको प्रशासनसँग समन्वय गरी त्यसतर्फ पठाइने पर्साका प्रहरी उपरीक्षक गङ्गा पन्तले बताउनुभयो ।

पश्चिम रुकुमका २३ र दाङका २१ जनालाई सम्बन्धित जिल्लाका अधिकारीसँग समन्वय गरी सवारी साधनको व्यवस्था गरेर आजै सम्बन्धित जिल्लामा पठाइने सूचना अधिकारी समेत रहेका पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताउनुभयो ।

यसअघि गत जेठ ६ मा वीरगञ्जमा रोकिएका २१५ भारतीय नागरिकलाई भारतीय अधिकारीको जिम्मा लगाइएको थियो भने स्थानीय प्रशासनले भारतीय नागरिकलाई स्वदेश फर्काएको भोलिपल्ट रक्सौलको क्वारेन्टाइनमा रहेका २२२ नेपाली नागरिकलाई स्वदेश ल्याउने कार्यक्रम रहेको जनाए पनि भारतीय पक्षको आनाकानीका कारण सात दिनपछि बुधबार मात्र नेपाली नागरिक स्वदेश फर्किएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?