logo
२०८१ बैशाख १४ शुक्रवार



उपत्यकाका नाकामा विशेष सुरक्षा सतर्कता

मुख्य समाचार |


उपत्यकाका नाकामा विशेष सुरक्षा सतर्कता


नगेन्द्र सापकोटा

काठमाडौँ, जेठ ४ गते । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण व्यापक बन्न नदिन काठमाडौँ प्रवेश गर्ने नाका जोडिएका नगरपालिकाले नाकामा विशेष सुरक्षा अवलम्बन गर्न थालेका छन् । उपत्यका बाहिरबाट लुकिछिपी उपत्यका छिर्न थालेपछि ती नगरपालिकाले नाकामा विशेष सुरक्षा सतर्कता अपनाउन थालेका हुन् । उपत्यका प्रवेश गर्ने नाका जोडिएका काठमाडौँको चन्द्रागिरि, तारकेश्वर, शङ्खरापुर, सूर्यविनायक, नागार्जुन र दक्षिणकाली नगरपालिकाले नाकामा विशेष सुरक्षा अपनाएका हुन् ।
अनुमतिबिना प्रवेश रोक्ने : तारकेश्वर
तारकेश्वर नगरपालिकाले अनुमति नलिई प्रवेश गर्न खोज्ने अपरिचित व्यक्ति तथा सवारी साधनलाई नगरपालिका क्षेत्रमा कडाइका साथ रोक लगाउने निर्णय गरेको छ । बन्दाबन्दीको अवधिमा उपत्यका बाहिरबाट कुनै व्यक्ति आफ्नो टोलमा प्रवेश गरेको जानकारी भएमा तत्काल नजिकको प्रहरी, स्वास्थ्य वा वडा कार्यालयमा खबर गर्न सबै नगरवासीलाई नगरपालिकाले आग्रह गरेको छ । त्यस्ता व्यक्तिलाई घरधनी वा आफन्तले स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन आग्रह गरिएको नगरप्रमुख रामेश्वर बोहराले जानकारी दिनुभयो ।
बाहिर ननिस्कनूू : नागार्जुन
नागार्जुन नगरपालिकाले कोरोना भाइरसको नियन्त्रण रोकथामका लागि अत्यावश्यक कामबिना बन्दाबन्दी अवधिभर बाहिर ननिस्कन नगरवासीलाई आग्रह गरेको छ । नगरपालिकाभित्र कोही नयाँ व्यक्ति बसोबास गर्ने गरी वा बहालमा बस्न आएमा तत्काल सम्बन्धित निकायमा सूचना दिन आग्रहसमेत गरिएको नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो ।
गस्ती व्यापक : टोखा
टोखा नगरपालिकाले उपत्यका बाहिरबाट वडा नं. १ झोर महाँकाल हुँदै काठमाडौँ प्रवेश गर्ने नाकामा नेपाल प्रहरीले गस्ती गर्ने व्यवस्था मिलाएको छ । झोरमा यसअघिदेखि नै नेपाली सेनाको ब्यारेक बस्दै आएको छ । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सो क्षेत्रमा प्रहरीले समेत आवतजावत रोक्न गस्ती गर्ने गरेको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो । सो क्षेत्रबाट अहिले आवतजावत बन्द गरिएको र हेल्थ डेस्क राखी स्वास्थ्य परीक्षण गर्ने गरिएको छ ।
नयाँ प्रवेशीलाई अस्पताल : सूर्यविनायक
सूर्यविनायक नगरपालिकाले उपत्यका बाहिरबाट आएका नयाँ व्यक्तिलाई पहिला अस्पतालमा गई कोरोना भाइरसको परीक्षण गराएर मात्र प्रवेश गर्न आग्रह गरेको छ । ती व्यक्तिलाई नगरपालिकाले कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएपछि मात्र नगर क्षेत्रमा आउन दिने व्यवस्था गरेको नगरपालिकाका प्रमुख वासुदेव थापाले जानकारी दिनुभयो ।
प्रवेश बिन्दुमै रोक्ने : चन्द्रागिरि
चन्द्रागिरि नगरपालिकाले नगरपालिकाभित्र विदेश वा तराईलगायत सङ्क्रमित स्थानबाट आएका व्यक्तिलाई प्रवेश बिन्दुमै रोक्ने निर्णय गरेको छ । ती व्यक्तिलाई कोरोना भाइरसको पीसीआर परीक्षणको नेगेटिभ रिपोर्टपछि मात्र प्रवेश गर्न दिने नीति नगरपालिकाले अख्तियार गरेको छ । कुनै पनि घरधनीले बाहिरबाट आएका व्यक्तिलाई घरमा प्रवेश नगराउन नगरपालिकाले सबै नगरवासीलाई आग्रह गरेको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिनुभयो ।
पुगेकै ठाउँमा रहन आग्रह : दक्षिणकाली
दक्षिणकाली नगरपालिकाले कोरोना भाइरसको सङ्क्रमण उपत्यकामा फैलन नदिन नगरवासी उपत्यकाबाहिर गएको भए त्यहीँ केही समय रहन नगरवासीलाई आग्रह गरेको छ । उपत्यकाबाहिर गएका व्यक्तिलाई आफन्तले पनि सोही सूचना पु¥याउन नगरपालिकाले आग्रह गरेको हो । लुकिछिपी बसेको भए स्वयं क्वारेन्टाइनमा बसी उपचारको प्रक्रिया अवलम्बन गर्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीकुमार पोखरेलले बताउनुभयो ।
नाकामा हेल्थ डेस्क : शङ्खरापुर
शङ्खरापुर नगरपालिकाले उपत्यका प्रवेश गर्ने नाकामा उपत्यका बाहिरबाट आउने व्यक्तिहरूको उच्च निगरानी राखेको छ । सिन्धुपाल्चोकबाट साँखु हुँदै काठमाडौँ भित्रिने मुख्य नाका शङ्खरापुर नगरपालिका भएकाले उक्त नाकामा उच्च निगरानी राखेको नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?