logo
२०८१ बैशाख २६ बुधवार



बन्दाबन्दीमा रेल मार्ग निर्माण

मुख्य समाचार |


बन्दाबन्दीमा रेल मार्ग निर्माण


भउचप्रसाद यादव

काठमाडौँ, जेठ ३ गते । कोरोना भाइरस (कोभिड–१९) का कारण भएको बन्दाबन्दीबीच पनि पूर्व–पश्चिम विद्युतीय रेल मार्ग अन्तर्गत बर्दिबास–निजगढ खण्डमा रेल मार्ग निर्माण कार्य जारी छ । पूर्व–पश्चिम विद्युतीय रेल मार्ग अन्तर्गत बर्दिबास–निजगढ खण्डमा पर्ने रौतहटको सन्तपुर र धन्सार–बाग्मती तथा जयनगर–जनकपुर–कुर्था क्षेत्रमा काम भइरहेको रेल विभागले जनाएको छ ।
विभागका अनुसार रेल मार्ग निर्माण अन्तर्गत ट्रयाक बेड निर्माण, पुल निर्माण तथा सोमा पर्ने मुख्य र सहायक संरचनाको काम भइरहेको छ । सामाजिक दूरी कायम गर्दै विकास निर्माणलाई निरन्तरता दिने निर्णय सरकारले गत चैत २० गते गरेको थियो ।
रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार बन्दाबन्दीमा सरकारले दिएको निर्देशन तथा सुरक्षाको पालना गर्दै स्थानीय प्रशासनको अनुमति लिएर निर्माण कार्य सुरु गरेको थियो । पूर्व–पश्चिम रेल मार्ग र जयनगर–जनकपुर–कुर्था रेल मार्ग अन्तर्गत काम जारी छ । स्थानीय प्रशासन, सुरक्षा निकायको सहयोग र सहजीकरणमा रेल मार्ग निर्माणको काम अगाडि बढाइएको उहाँले बताउनुभयो ।
पूर्व–पश्चिम रेल मार्ग अन्तर्गत बर्दिबास–निजगढ खण्डमा पर्ने रौतहटको सन्तपुर क्षेत्रमा ट्रयाक बेड तथा सोमा पर्ने मुख्य र सहायक संरचनाको काम भइरहेको बताउँदै महानिर्देशक मिश्रले बर्दिबास–निजगढ खण्डलाई विभिन्न आठ खण्डमा विभाजन गरी काममा निरन्तरता दिइएको जानकारी दिनुभयो । पूर्व–पश्चिम रेल मार्ग अन्तर्गतको धन्सार–बाग्मती खण्डमा सन्तोषी कन्टेक÷स्वच्छन्द (जेभी), लुम्बिनी, एपेक्स, रौताहा÷हेम्डङ÷कन्काई (जेभी), लामा गोल्डेनवाल÷सिरुवा (जेभी) ले काम गरिरहेका छन् । निजगढ–बर्दिबास खण्डको दूरी ७० किलोमिटर छ । जयनगर–जनकपुर–कुर्था रेल मार्ग अन्तर्गत विजपुरा खण्डमा अहिले ट्रयाकको काम भइरहेको तथा सो क्षेत्रमा अहिले करिब एक सय जनाको जनशक्ति कार्यरत छ ।
महानिर्देशक मिश्रले सर्लाही र महोत्तरीको सीमामा पर्ने बाँके खोला पुलको काम भइरहेको जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?