logo
२०७७ जेष्ठ १६ शुक्रवार

नेपालमा नकारात्मक प्रचार रुचाउने र रमाउने प्रवृत्ति बढ्दै

मुख्य समाचार |
पढ्नै पर्ने |
समाज |


2020-03-22-10635


रमेश लम्साल

काठमाडौँ, चैत गते । घटना नं १ : नेपाल प्रहरीले कोभिड–१९ को संक्रमण नेपालमा देखिएको भन्दै भ्रामक श्रव्य सामग्री (अडियो) बनाइ सामाजिक सञ्जालमा राख्ने रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने विवेक थापा पक्राउ ।    
    
घटना नं २ : नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरी आकाशबाट कोरोना भाइरस विरुद्ध किटनाशक औषधी छरिने ।    
    
घटना नं ३ : अमेरिकको टेक्सासमा रहेका एक युवाले टेकु अस्पतालमा कोरोना भाइरस लागेका नौ जनाको मृत्यु भएको भन्दै टिकटकमा भिडियो बनाएर ‘पोष्ट’ गरे ।    
    
यसरी अफवाहपूर्ण भिडियो बनाएर सामाजिक सञ्जालमार्फत त्रास फैलाइयो । संसार नै कोरोना भाइरसको महामारीमा परेर त्राहीमान भइरहेका बेला नेपाली समाजमा पनि यस्ता नकारात्मक प्रचार भइरहेका छन् ।    
    
विपद्को समयमा आफूलाई चर्चित बनाउने नाममा गलत हल्ला फैलाउने प्रवृत्ति बढेको देखिन्छ । ‘गोरखा भूकम्प’ ताका पनि यस्ता नकारात्मक अफवाह ह्वात्तै बढेको थियो । जबजब विपद् देखा पर्छ, त्यत्तिबेला गलत हल्ला फैलाएर त्यसबाट क्षणिक तुस्टी लिने र समाजलाई भयवित बनाउन एकाध मान्छे हातै धोएर पनि लागिपरेको देखिन्छ । यस्तो किन हुन्छ ? किन यस्तो गरिन्छ र कुन मानसिाकताका कारण यस्ता क्रियाकलाप गर्न मानिसहरु उद्दत् हुन्छन् भन्ने विषयमा जानकारहरु भन्छन्–“आम मानिसको प्रवृत्ती सकारात्मकभन्दा नकारात्मक विषयमा बढी केन्द्रित हुन्छ ।”    
    
विपद्ले आम मानिसलाई त्रसित बनाइरहेको हुन्छ । कति बेला के हुने हो भन्ने कुनै ठेगान नभएको समयमा आउने यस्ता गलत प्रचार र हल्लाले पीडितलाई झनै पीडित मात्रै बनाउँदैन, थप मनोवैज्ञानिक असर समेत पार्ने उहाँहरुको तर्क छ ।    
    
विपद्को समयमा पूर्वतयारीमा जुट्नुपर्ने, सूचना सङ्कलनमा लाग्नुपर्ने सरकारी निकायलाई नै गुमराहमा पार्ने गरी यस्ता गलत प्रवृत्ति देखा परेको छ । जुन सामाजिक दृष्टिकोणमा एउटा अपराध नै हो ।    
    
सङ्कटको समयमा क्षणिक फाइदा उठाउने त्यस्तो प्रवृत्तिले आम मानिसको ध्यान अन्यत्र मोडिदिने र त्रास फैलाउन सहयोग पुगेको देखिन्छ । यसलाई नेपाली समाजको चरित्र र दृष्टिकोणबाट हेर्दा ‘पाप धर्मको ख्याल नभएको’ प्रवृत्तिका रुपमा समेत लिन सकिने समाजशास्त्रीको भनाइ छ ।    
    
छोटो समयमा चर्चित हुने भोकका कारण पनि गलत मनसाय राख्नेले चलखेल गरेको अर्थमा यस्ता घटनालाई लिन सकिने उहाँहरुको भनाइ छ । सङ्कटका बेला मान्छे आफैँमा त्रसित हुन्छ, त्यस्तो बेलामा यस्ता गलत सामग्रीले थप त्रास फैलाउन सहयोग पुग्छ ।    
    
त्रिभुवन विश्वविद्यालय मानवशास्त्र केन्द्रीय विभागका प्रमुख एवम् मानवशास्त्री डम्बर चेम्जोङका विचारमा हाम्रो समाजिक चरित्र ठानिएको जस्तो सकारात्मक सोचको नभएका कारण पनि यस्ता सङ्कटको बेलामा यस्ता प्रवृत्ति देखा पर्छ ।    
    
“नेपालीमा नकारात्मक प्रचार रुचाउने र रमाउने प्रवृत्ति बढ्दै गएको छ । यो एक प्रकारको मनोवैज्ञानिक प्रवृत्ति पनि हो” राससँगको कुराकानीमा उहाँले भन्नुभयो, “अरुलाई दुःख दिएर रमाउने प्रवृत्ति, परपीडक चरित्र पनि यसमा छ ।”    
    
उहाँका अनुसार सङ्कटको बेलामा सहयोगी बन्नुको सट्टा आत्मकेन्द्रित र व्यक्ति केन्द्रीत चरित्र देखा पर्छ । त्यो भनेको आफूलाई दुःख पर्दा सबैले सहयोग गरुन जस्तो लाग्ने, अरुलाई दुःख परेको बेलामा रमाउने र थप पीडा दिन खोज्ने संस्कार हामीमा मौलाएको छ । खान पकाउने एलपी ग्यास, दैनिक उपभोग्य वस्तु, मास्क, स्यानीटाइजरमा देखिएको कालोबजार र बढी थुपार्ने प्रवृत्तिले त्यही कुराको संकेत गर्दछ ।    
    
चेम्जोङका अनुसार नेपाली समाजलाई सम्पूर्णतामा हेर्दा सोझो र इमान्दार भएपनि वृहत्तर तहमा भने त्यस्तो देखिँदैन । उहाँले भन्नुभयो, “हामी अत्यन्तै आत्मकेन्द्रीत छौँ भन्ने देखिन्छ । कुनै समाग्रीको अभाव सिर्जना हुन लाग्यो भने सबैलाई अभाव हुने हो तर त्यतिबेला हामी सबै नै सबै सामान एकत्रीत गर्न थाल्छौँ ।”    
    
सङ्कटमा कसरी फाइदा लिने, सङ्कटमा कसरी आर्थिक लाभ गर्ने भन्ने मनोवृत्तिले पनि काम गरेको छ । चेम्जोङका अनुसार पूँजीवादमा यस्तो प्रवृत्ति बढ्ता हुन्छ । बजार निर्मम हुन्छ । बजारले जहिले पनि सङ्कटलाई मन पराउँछ ।    
    
समाजमा इमान्दार, निष्ठान, नैतिकवान समाजिक व्यक्ति पाउन गाह्रो भएको टिप्पणी गर्नुहुँदै उहाँले त्यसको सुधारका लागि सामाजिक अवस्था, पठनपाठनमा पनि सुधार जरुरी रहेको बताउनुभयो । “अप्ठ्यारोमा रमाउन खोज्नुको पछाडि हाम्रो शिक्षा दिक्षा र परिवारभित्रको सामाजिक समस्याले पनि काम गरेको छ”, उहाँले भन्नुभयो, “सङ्कटको समयमा नाफा कमाउने प्रवृत्ति मानवीय भएन । त्यसैले समाजिकीकरणको प्रणालीमा परिवर्तन गर्नुपर्छ । नैतिक शिक्षाको पाठ्यक्रमलाई मानवशास्त्रीय बनाउनुपर्छ ।”    
    
यस्तै समाजका मानवीय र सामाजिक चरित्रका बारेमा जानकार गुमानसिंह खत्रीका अनुसार समाजमा कतिपय व्यक्तिले अरुको ध्यान आफूतिर आर्कषित गर्ने अभिलाषा राखेर काम गर्ने गरेको पाइन्छ । यस खाले अभिलाषा पूरा गर्न अरुले भन्दा केही फरक वा उलेख्य काम गर्नुपर्ने हुन्छ । सोही कारण नकारात्मता हावी हुन पुग्छ ।    
    
उहाँले भन्नुभयो, “जब समाजमा कुनै प्रकारको विपद् वा महामारी फैलन्छ , समाजका स्थापित संरचना र मूल्यमान्यताले पूर्ववत अवस्थामा काम गर्न सक्दैन । यस्तो परिस्थितीमा सामाजिक जनजीवनले सामान्य अवस्थाको लय गुमाउँछ ।”    
    
समाजका एक खालको सङ्कटको स्थिती पैदा हुन्छ । यस्ता सङ्कटको बेला राज्य र उसका अङ्ग प्रभावकारी हुनुपर्छ । अन्यथा राज्यप्रति आम नागरिकको विश्वास र भरोसा टुट्न जाने भएकाले नकारात्मक प्रवृत्तिलाई निर्मूल गर्नुपर्ने खत्रीको भनाइ छ ।     
    
उहाँले थप जोड दिँदै भन्नुभयो, “सङकटका बेला अरुको ध्यान आफूतिर आर्कषित गर्ने प्रवृत्तिका मानिस अनेक अफवाह फैलाउन सक्रिय हुन्छन् । जब सङ्कटका बीच सामाजिक सञ्जालमा विभिन्न खाले सूचना र समाचारको बाढी आउन शुरु गर्छ । आम नागरिकले के सही, के गलत र अफवाह छुट्याउने विवेक गुमाउँछ ।”    
    
उहाँका अनुसार विवेक गुमेका बेला अफवाह तथा नकारात्मक कुराले समाजमा सन्देह र उत्तेजना फैलाउने विषयमा नै मानिसको ध्यान बढी जान्छ । यस्ता सामग्री बढी मन पराइन्छ । उहाँ सामािजक सञ्जाल माथिको नियमन र व्यक्तिका खराब प्रवृत्तिमाथिको सामाजिक नियन्त्रण कमजोर हुँदा यस्ता अफवाह फैलाउनेहरु थप उत्साहित हुने अवस्था देखा परेको टिप्पणी गर्नुहुन्छ ।    
    
विगतमा पाप र धर्मको आधारमा पनि मानिसहरु झट्टै गलत काम गरिहाल्न हच्किन्थे तर पछिल्लो समयमा भएको सामाजिक परिवर्तन र कोही कसैले पनि आफू नियन्त्रणमा बस्नु पर्दैन भन्ने मानसिकता विकसित भएका कारण पनि समस्या बढेको उहाँको भनाइ छ ।    
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?