logo
२०८१ बैशाख १६ आईतवार



गौतमबुद्ध विमानस्थल बुद्ध पूर्णिमादेखि सञ्चालनमा

मुख्य समाचार |


गौतमबुद्ध विमानस्थल बुद्ध पूर्णिमादेखि सञ्चालनमा


लक्ष्मण पौडेल

भैरहवा, मङ्सिर २९ गते । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी बुद्ध पूर्णिमादेखि सञ्चालनमा आउने भएको छ । विमानस्थल निर्माण आयोजनाले बुद्ध पूर्णिमादेखि विमानस्थल सञ्चालनमा आउने जानकारी दिएको हो । यद्यपि यसको औपचारिक निर्णय भने नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्नुपर्नेछ ।
विमानस्थलको टर्मिनल भवनमा मार्बल तथा टायल लगाउने र सीसीटीभी तथा एक्सरे मेसिन जडानलगायतका काम भइरहेको छ । विमान पार्किङ क्षेत्रमा मार्किङको काम तीव्र पारिएको छ । त्यस्तै आगमन तथा प्रस्थान भवनतर्फ पनि छानो लगाउनेदेखि विमानस्थल सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको विमानस्थल सुदृढीकरण कार्यान्वयन आयोजना एकाइ रूपन्देहीका प्रमुख प्रवेश अधिकारीले जानकारी दिनुभयो ।
“टर्मिनल भवनमा अहिले फिनिसिङ र उपकरण जडानको काम भइरहेको छ । त्यस्तै धावनमार्गको सिभिल निर्माणतर्फको काम सबै सकेर अहिले लाइट जडानको काम अगाडि बढेको छ”, उहाँले भन्नुभयो । समग्रमा विमानस्थलको भौतिक प्रगति करिब ८५ प्रतिशत रहेको उहाँले बताउनुभयो । सबै उपकरण आइसकेको र जडानको काम मात्र बाँकी रहेकाले अब भौतिक प्रगति स्वतः बढ्ने आयोजनाले जनाएको छ । धावनमार्गका बत्ती तथा सञ्चार उपकरण पुसभित्र आइपुग्ने र त्यसको एकदेखि डेढ महिनाभित्र जडान पूरा हुने आयोजनाले जनाएको छ ।
बुद्ध पूर्णिमामा विमानस्थल सञ्चालनको लक्ष्यसहित काम अघि बढेको तथा अध्यागमन, क्वारेन्टाइन, भन्सार, मौसम विभाग तथा सुरक्षा निकायका अधिकारीहरूसँग छलफल भइसकेको आयोजना प्रमुख अधिकारीले जानकारी दिनुभयो ।
सरकारले सन् २०१४ नोभेम्बरमा चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनसँग गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार सन् २०१७ को डिसेम्बर ३१ सम्म विमानस्थलको आईसीभी १ अन्तर्गतका भौतिक पूर्वाधारका सबै काम सक्नुपर्ने थियो । तर विभिन्न कारणले निर्माण कम्पनीले समयमा काम नसकेपछि समय थप्दै सन् २०१९ को डिसेम्बर सम्ममा निर्माणको काम सक्नुपर्ने म्याद दिइएको छ ।
सरकारले छ अर्ब ८२ करोड रुपियाँमा आईसीभी १ अन्तर्गत विमानस्थलको तीन हजार मिटरको रन–वे, ट्याक्सी–वे, एप्रोन टर्मिनल भवन, टावर कन्ट्रोल भवन निर्माणका लागि सम्झौता गरेको थियो । त्यस्तै आईसीभी २ अन्तर्गत विमानस्थलमा जडान हुने उपकरणका लागि ५० करोड रुपियाँ विनियोजन भएको छ । यो विमानस्थल निर्माण गर्न एसियाली विकास बैङ्क (एडीबी) ले ४०.५ प्रतिशत ऋण र १८ प्रतिशत अनुदान दिएको छ । ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्ट्सको ३०.५ प्रतिशत ऋण र नेपाल नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लगानी छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?