logo
२०८१ बैशाख १४ शुक्रवार



अब एकै शिक्षकबाट सबै विषय अध्यापन

मुख्य समाचार |


अब एकै शिक्षकबाट सबै विषय अध्यापन


प्रकृति अधिकारी

काठमाडौँ, मङ्सिर २७ गते । कक्षा १–३ मा अध्यापन गर्दै आएका हरेक शिक्षकले आगामी नयाँ शैक्षिक सत्रबाट सबै विषय अध्यापन गर्नुपर्ने छ । हाल पृथक् विषयमा विषयगत शिक्षकले अध्यापन गर्ने गरेका छन् । आगामी शैक्षिक सत्रबाट एकीकृत पाठ्यक्रम लागू हुँदैछ । सोअनुसार कक्षा १–३ का शिक्षकले सो तहमा लागू हुने सबै विषय अध्यापन गर्नुपर्ने हुन्छ ।
पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकारी (उपसचिव) गणेशप्रसाद भट्टराईले अब एउटै शिक्षकले सबै विषय अध्यापन गर्नुपर्ने हुन्छ भन्दै थप्नुभयो, “एउटै विषयवस्तु भएकाले उनीहरूले अध्यापन गर्न सक्छन् । ”
आगामी वर्षबाट कक्षा १–३ मा नेपाली, अङ्ग्रेजी, गणित र मेरो सेरोफेरो विषय अध्यापन गरिनेछ । चालू शैक्षिक सत्रमा कक्षा १–३ मा नेपाली, अङ्ग्रेजी, गणित, सामाजिक, विज्ञान, स्वास्थ्य र स्थानीय विषय अध्यापन गरिँदै आएको छ ।
प्राथमिक तहमा साविकको एसएलसी र प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण भएका शिक्षकहरू अधिक सङ्ख्यामा कार्यरत छन् । नयाँ नियुक्त भएका शिक्षकको योग्यता बढी छ । पुराना शिक्षकले नेपाली, अङ्ग्रेजी, गणित अध्यापन गर्न कठिन हुने शिक्षाविज्ञहरूको भनाइ छ ।
सरस्वती निकेतन मावि, ब्रह्मटोलका प्रधानाध्यापक रविना महर्जनले एकीकृत पाठ्यक्रमको अवधारणा निकै राम्रो भए पनि एउटै शिक्षकले अध्यापन गर्दा चाहेजस्तो सिकाइ कक्षाकोठाभित्र प्रवेश गर्न नसक्ने सम्भावना रहने बताउनुभयो ।
नयाँ पाठ्यक्रम लागू हुने समय नजिकै आइसक्दा पनि शिक्षकलाई तालिम दिनेलगायतका तयारी भइसकेको छैन । शिक्षाविद् प्रा.डा. मनप्रसाद वाग्लेले पाठ्यक्रमका दृष्टिकोणले एकीकृत पाठ्यक्रमको सोच उपयुक्त भएको तर त्यसअनुरूप अध्यापन गर्ने शिक्षक तालिम प्राप्त नभइसकेकाले समस्या सिर्जना हुन सक्ने बताउनुभयो ।
“हाम्रा कतिपय शिक्षक एसएलसी वा १२ कक्षा उत्तीर्ण छन् । उनीहरूलाई विशेष प्रकारको तालिम नदियूञ्जेल एकीकृत पाठ्यक्रम सफल हुन सक्दैन”, उहाँले भन्नुभयो । पाठ्यक्रम विकास केन्द्रले चालू शैक्षिक सत्रमा १८ जिल्लाका १०३ वटा विद्यालयमा परीक्षणका रूपमा एकीकृत पाठ्यक्रम लागू गरेको छ ।
परीक्षणमा रहेका विद्यालयहरूबाट विद्यार्थीका लागि क्रियाकलाप कम भएको, विद्यार्थीको सक्रियता कम भएको, पुस्तकमा छापिएका चित्र समाजसँग सम्बन्धित हुनुपर्ने, विषयवस्तु सरलीकरण हुनुपर्ने आदि पृष्ठपोषण प्राप्त भएको केन्द्रका उपसचिव भट्टराईले बताउनुभयो ।
उहाँले कक्षा १ मा अध्यापनरत ११ हजार शिक्षकलाई तीन दिनको प्रबोधीकरण तालिम दिइने र त्यसका लागि बजेट स्थानीय तहमा गइसकेको जानकारी दिनुभयो । साथै केन्द्रले मुख्य प्रशिक्षक तयार गर्ने योजना पनि बनाइसकेको छ ।
शिक्षा मन्त्रालयअन्तर्गतकै निकाय शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ)ले कक्षा ३ मा गरेको अध्ययनले विद्यार्थीहरूले प्रतिमिनेट २७ शब्दमात्र शुद्धसँग पढ्न सकेको देखाएको थियो । जब न्यूनतम ४५ शब्द पढ्न सक्नुपर्ने मापदण्ड ईआरओले तय गरेको छ ।
ईआरओका अधिकृत श्याम आचार्यले शिक्षकलाई १० दिनको तालिमले मात्र नपुग्ने र विद्यालय, स्थानीय तथा प्रान्तीय तहमा समेत तालिम दिइनुपर्ने सुझाव दिँदै भन्नुभयो, “परिवर्तित पाठ्यक्रमले विद्यार्थीको सिकाइलाई सुधार गर्न सक्नुपर्छ । त्यसका लागि पहिले शिक्षकको विकास गरिनुपर्छ, अनिमात्र पाठ्यक्रम कार्यान्वयनमा लिएर जान सक्नुपर्छ । अन्यथा कक्षाकोठाभित्र हामीले चाहेको सिकाइ पुग्न सक्दैन । ”
शिक्षाविद् डा. वाग्लेले शिक्षकलाई एक महिनाको आवासीय तालिम दिन सकिएन भने नयाँ पाठ्यक्रमका बारेमा शिक्षकले बुझ्न कठिन हुने तर्क गर्दै भन्नुभयो, “तीन
दिनको तालिम झारा टार्ने मात्र हुनेछ । ”
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?