पृथ्वीनारायण शाहको सालिक सिंहदरबारअगाडि नराखिएको भए...

मुख्य समाचार |


2019-12-03-5040



प्रकृति अधिकारी

काठमाडौँ, मङ्सिर १७ गते । तत्कालीन राजा पृथ्वीनारायण शाहको सालिक सिंहदरबारको मूल ढोका सामुन्ने नठड्याइएको भए कहाँ हुन्थ्यो होला ? वास्तवमा त्यो सालिकलाई त्यहाँ राख्ने सुरुको निर्णय नै थिएन । निर्णय थियो, “चन्द्रागिरिमा राख्ने । ” पछि कसैको आदेशले निर्णय नै परिवर्तन गरियो र सालिकलाई ल्याएर सिंहदरबारको मूल ढोका अघिल्तिर ठड्याइयो ।
पृथ्वी जयन्ती मूल समारोह समितिको कार्यालय थियो– घण्टाघरतर्फको त्रिचन्द्र कलेजमा । समितिका पदाधिकारीमा मुख्य चौतरिया फत्तेजङ्ग पराक्रम शाह, फिल्ड मार्सल केशरशमशेर जबरा, सर्दार नरेन्द्रमणि आदि, साहित्यकार बालकृष्ण समलगायत रहनुभएको थियो । छ दशकअघि समितिको त्यो बैठकको स्मरण गर्दै इन्जिनियर शङ्करनाथ रिमालले भन्नुभयो, “पृथ्वीनारायणको सालिक राख्ने निर्णय भयो । मलाई सालिक राख्नका लागि स्मारकको डिजाइन गर्न जिम्मा दिइयो । ” सालिकको डिजाइन गर्ने जिम्मा बालकृष्ण समले पाउनुभयो भने सालिक निर्माण गर्ने जिम्मेवारी कलाकार अमर चित्रकारलाई दिइयो ।
इन्जिनियर रिमालले सुरुमा पृथ्वीनारायण शाहले चन्द्रागिरिबाट उपत्यका देखेको र चन्द्रागिरिमा स्मारक राख्दा हिमाल, पहाड र तराई देख्न सकिने सोचले चन्द्रागिरिमा निर्माण गर्नका लागि स्मारकको नमुना तयार गर्नुभयो । त्यस स्थानलाई चन्द्रजस्तो आकार भएको पहाड (गिरि) भएकाले परम्परादेखि नै चन्द्रागिरि भनिँदै आएको थियो । स्मारक निर्माण गरी सालिक राखिएको भए त्यो बेला नै चन्द्रागिरिलाई पर्यटकीय स्थलका रूपमा विकास गरिएको हुन्थ्यो । हाल चन्द्रागिरि हिल्सले भालेश्वर नजिक पृथ्वीनारायणको सालिक राखेको छ ।
“स्मारक निर्माण गरी सालिक राख्ने कुरा धेरै वर्षसम्म चलिरह्यो”, उहाँले भन्नुभयो, “त्यसबीचमा राजा महेन्द्रलाई हृदयाघात पनि भयो । पछि पृथ्वी जयन्ती समारोह समितिका पदाधिकारीहरू पनि कताकता पुगे । सालिक बन्यो र खै कसको आदेशमा सिंहदरबारअगाडि राख्ने निर्णय भयो । ”
सालिक राख्नुअघिसम्म सो स्थान खाली थियो । राणाकालसम्म पुतलीसडकतर्फको बाटो होचो थियो । त्यहाँ ‘बाइपास’ थियो । भद्रकालीदेखि सिंहदरबारतर्फ टुकुचामा फलामे पुल थियो । दुवैतर्फ अग्ला इँटका पर्खाल र माथि फलाम राखेर बनाइएको परम्परागत पुल थियो । त्यही पुल तरेर तत्कालीन प्रधानमन्त्री मोहनशमशेर जबरा ४४ नम्बरको रातो मर्सिडिज कारबाट सहर प्रवेश गर्नुहुन्थ्यो । उहाँको छोरा विजयशमशेरको कार नम्बर ४३ थियो । धेरै पछि मात्रै पुतलीसडकदेखि माइतीघर छिचोल्ने सडक निर्माण गरिएको हो । इन्जिनियर रिमालले २०१३÷१४ साल ताक टुकुचामा पुल बनाइएको बताउनुभयो ।
औँलाको मुद्रा
बालकृष्ण समको निर्देशनमा बनेको सालिकमा पृथ्वीनारायण शाहको औँला अवगुण्ठन मुद्रालाई जनाउँछ । शताब्दीपुरुष सत्यमोहन जोशीले नेपाली कलाका रूपरेखा पुस्तकमा यसरी उल्लेख गर्नुभएको छ, “मूर्तिकारद्वारा यस प्रतिमामा आगम शास्त्रीय लक्षणअनुसार राष्ट्रिय एकता राष्ट्रलक्ष्मी सुरक्षित होस् भन्ने भावनामा जुन अवगुण्ठन मुद्रा प्रदर्शन
गराइएको छ, त्यसको साङ्केतिक लक्षण हो– देश सबैको साझा हो । देश बेगर हामी कसैले हामी भन्न पाउने छैनौँ । ”
इन्जिनियर शङ्करनाथ रिमालले भने पृथ्वीनारायण शाहले आफूतर्फ उठाउनुभएको
औँलाले अवगुण्ठन मुद्रा नजनाउने दाबी गर्नुभयो । “औँलाको मुख आफूतर्फ उठाउनु अवगुण्ठन मुद्रा हुँदैन”, उहाँले भन्नुभयो । वाल्मीकि क्याम्पसमा योग विषय अध्यापन गर्दै आउनुभएका डा. हरिप्रसाद पोखरेलले पृथ्वीनारायण शाहले ठड्याउनुभएको औँलाको मुद्रा अवगुण्ठन नभएको बताउँदै अवगुण्ठन मुद्रामा दुवै हात जोड्नुपर्दछ भन्नुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?