logo
२०८१ बैशाख १४ शुक्रवार



महाकाली ब्यारेजका ढोकामा ताल्चा ! घाटमा खरानी बगाउन पानीको अभाव

मुख्य समाचार |


महाकाली ब्यारेजका ढोकामा ताल्चा ! घाटमा खरानी बगाउन पानीको अभाव



बैतडी समाचारदाता

भीमदत्तनगर (कञ्चनपुर), कात्तिक ३ गते । नेपाल–भारतको सीमामा बग्ने महाकाली नदी दुवै देशको साझा नदी भनिए पनि शारदा ब्यारेजका १६ वटै ढोकामा ताल्चा लगाएर भारतले महाकालीको पूरै पानी भारततर्फ लैजाँदा श्मशानघाटमा लाश जलाएर खरानी बगाउनसमेत नेपालीले पानी पाउन सकेका छैनन् । नेपाल–भारतको सीमामा बग्ने महाकालीको पानी आधा–आधा गरिने भने पनि भारतले बर्खामा सबै ढोका खोलिदिँदा बाढी र हिउँद लागेपछि ब्यारेजका सबै ढोका थुनेर पानी लैजाँदा कञ्चनपुरमा खडेरी हुने गरेको छ । सञ्चारक्षेत्रमा काम गर्दै आइरहेको थर्डपोलले कञ्चनपुरमा आयोजना गरेको नेपाल–भारतका पत्रकारको संयुक्त कार्यक्रममा भीमदत्त नगरपालिकाका उपमेयर सुशीला चन्द सिंहले महाकाली साझा नदी भनिए पनि शारदा ब्यारेजको चाबी भारतको हातमा हुँदा नेपालीले पानी नपाएको बताउनुभयो ।
उपमेयर चन्दले भन्नुभयो, भारतले शारदा ब्यारेजका १६ वटै ढोका बर्खामा खोल्ने गरेको र हिउँदमा सबै ढोका थुनेर जम्मै पानी लैजाँदा नेपालतर्फ सिँचाइ हुँदैन । घाटमा लाश जलाएर खरानी पखाल्नसमेत पानी हँुदैन । कम्तिमा एउटा ढोका खोलिदिए पनि नेपालीलाई राहत हुन्थ्यो । के गर्ने ? ब्यारेजको चाबी भारतको हातमा छ । बर्खामा १६ वटै ढोका खोल्ने र हिउँदमा सबै ढोका बन्द हुने गरेका छन् । भीमदत्त नगरपालिका–११, भुजेलाघाटमा पाँच करोड रुपियाँको लागतमा निर्माण भइरहेको घाटमा खरानी कसरी बगाउने भन्ने चिन्ता रहेको उपमेयर चन्दले बताउनुभयो । सन् १९९६ मा नेपाल र भारतबीच एकीकृत महाकाली सन्धि हुँदा दोधारा र चाँदनीलाई सिँचाइका लागि पानी दिनुपर्ने तथा भारतीय भूमिमा एक हजार दुई सय नहर निर्माण गर्नुपर्ने कुरा उल्लेख गरिएको थियो । वि.सं. २०५२ माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री पीभी नरसिंह रावबीच महाकाली सन्धिमा हस्ताक्षर भएको थियो ।
पञ्चेश्वर परियोजना र महाकाली नदीको एकीकृत विकाससम्बन्धी गरिएको उक्त सन्धिको धारा (२) को उपधारा २ ‘क’ मा भारतले टनकपुर बाँधबाट नेपालले पाउनुपर्ने पानी प्रवाहित गर्नका लागि हेड रेगुलेटर र नेपालको सीमासम्म नहर निर्माण गर्नुपर्ने उल्लेख छ ।
दोधारा–चाँदनी र भीमदत्त नगरपालिकाको बीच भागबाट बग्ने महाकाली नदीको पानी शारदा ब्यारेजबाटै थुनिएर भारत जाँदा हिउँदमा यो क्षेत्रमा खडेरी हुने गरेको पीडा स्थानीयले सुनाएका छन् । कार्यक्रममा सहभागी भारतीय सञ्चारकर्मी र सामाजिक अभियन्ताले कञ्चनपुर क्षेत्रको दोधारा–चाँदनी र भीमदत्त नगरपालिकाका गाउँमा भ्रमणसमेत गरेका छन् ।
स्थलगत भ्रमणपछि यो मुद्दा गम्भीर भएकोले नेपाल सरकारले भारत सरकारसँग निर्णायक वार्ता गर्नुपर्ने भारतीय सञ्चारकर्मी र सामाजिक अभियन्ताले टिप्पणी गरेका छन् । लामो समयदेखि भारतको उत्तराखण्ड राज्यमा रहेर नेपाल–भारत संयुक्त मञ्च (ईण्डो नेपाल जोइन्ट फोरम)मा काम गर्दै आइरहनुभएका तेजसिंह भण्डारीले महाकालीको पानी कञ्चनपुरका नागरिकले सदुपयोग गर्न नपाएको विषयमा आफूलाई समेत दुःख लागेको बताउनुभयो ।
भण्डारीले भन्नुभयो, महाकाली किनारमा बस्ने नेपाल–भारत दुवै देशका नागरिकले पानीको सदुपयोग गर्न दिने विषयमा दुवै देशका सरकार र स्थानीय तहबीच समन्वय र सहकार्य हुनुपर्छ ।
अक्सफामको सहयोगमा नेपाल र भारतमा महाकाली नदी तटीय क्षेत्रका समुदायले पानीको सदुपयोग गर्न महाकाली नदीको पानी सदुपयोग परियोजना (ट्रोसा) कार्यक्रम सञ्चालन गरेर दुवै देशका नागरिकलाई जागरुक गरिरहेको छ ।
अक्सफाम नेपाल र अक्सफाम भारतले महाकाली नदीको पानी सदुपयोग गर्न संयुक्त रूपमा दुवै देशमा कार्यक्रम सञ्चालन भइरहेको अक्सफाम नेपालका राजन सुवेदीले बताउनुभयो ।
नेपाल–भारतका सञ्चारकर्मीको संयुक्त कार्यक्रममा पानीविज्ञ दीपक ज्ञवालीले महाकाली सन्धिका विषयमा नेपाल–भारत दुवै देशले नदी किनारमा बस्ने दुवै देशका नागरिकको समस्यालाई ध्यानमा राखेर सन्धिका विषयमा पुनः विमर्श गर्नुपर्ने बताउनुभयो । पानी परियोजनाका नारायण वेलबासेले महाकाली नदीको संरक्षण र उपभोग स्थानीय स्तरका नागरिकका समस्यालाई प्राथमिकतामा राखेर पानीको सदुपयोग हुनुपर्ने बताउनुभयो ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?