logo
२०८१ बैशाख १४ शुक्रवार



विदेशी पाहुनाका साथ इन्द्रजात्रा मनाइने

मुख्य समाचार |


विदेशी पाहुनाका साथ इन्द्रजात्रा मनाइने


सरोज आचार्य

काठमाडौँ, भदौ १३ गते । यस वर्षको इन्द्रजात्रा अन्तर्राष्ट्रिय पाहुनाका साथ मनाउने तयारी भएको छ । नेपाल पर्यटन वर्ष २०२० लाई समेत लक्षित गरी अन्तर्राष्ट्रिय पाहुनाका साथ इन्द्रजात्रा मनाउन लागिएको हो ।
स्वदेशी तथा विदेशी पाहुनालाई देखाउन भक्तपुर गलसीपुखुको महाकाली नाचका चार वर्षदेखि सत्तरी वर्ष उमेरका नर्तकीले अहिले नाचको अभ्यास थालेका छन् । काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार संरक्षण कार्यक्रम कार्यालय प्रमुख उदय पसः खलःका अनुसार भदौ २६ गतेसम्म अन्तर्राष्ट्रिय पाहुना काठमाडौँ आइसक्ने छन् । उहाँका अनुसार नेपालको अनुपम सांस्कृतिक पक्षलाई अन्तर्राष्ट्रिय प्रसारका लागि इन्द्रजात्रा महìवपूर्ण पर्व हो ।
भारत, चीन, अमेरिका, जापान, बङ्गलदेश भुटानलगायतका देशका विभिन्न महानगरबाट इन्द्रजात्रामा प्रतिनिधित्व हुने काठमाडौँ महानगरले जनाएको छ । काठमाडौँ महानगरका अनुसार भक्तपुरको महाकाली नाच, ख्याउरा, माकप्याँखलगायत किलागलको पुलुकिसी, हल्चोकको भैरव, मजिपाटको लाखे दसअवतार, स्वच्छन्द भैरव, आकाश भैरव, श्वेतकाली लगायतका नाच प्रस्तुत गर्ने तयारी भएको छ । महानगरपालिका कार्यान्वयन विभाग प्रमुख धनपति सापकोटाले यसका लागि बाटो व्यवस्थापन, नगर सौन्दर्यको कार्य सुरु भइसकेको जानकारी दिनुभएको छ ।
गुठी संस्थानका उपप्रशासक जयप्रसाद रेग्मीका अनुसार संस्थानका अध्यक्ष मीनराज चोधरीको अध्यक्षतामा जात्रा व्यवस्थापन विषयमा गहन परामर्श आयोजना भएको छ । कुमारी, गणेश र भैरवको रथयात्रालाई यो पल्ट विदेशी पाहुनाले सहज रूपमा अवलोकन र अध्ययन गर्न सकून् भन्ने विषयमा संस्थानले जात्राका सम्बद्ध रकमी कर्मचारीसँग परामर्श थालिसकेको छ ।
भक्तपुर महाकाली नाचका मूलनाइके तुल्सीनारायण दण्डेख्याले पाहुनालाई भक्तपुरको यो नाचको स्वाद प्रदर्शन गर्नेगरी नाचका सम्बद्धले अभ्यास गरिरहेको जानकारी दिनुभएको छ । सिन्ह स्वाँ खलः का निरन श्रेष्ठ, श्रीकुमारी क्लबका राजकल्याण ताम्राकार, सिद्धिचरण चोक दफ्तर क्लबका राकेश शाही, मखन मादेव क्लबका राजन महर्जनलगायत जैसिदेवल युवा क्लबका सबै जात्रा व्यवस्थापनमा सहभागी हुनेछन्  ।
लगनटोलका अनुज शाक्यका अनुसार काठमाडौँ भित्री सहरमा जात्राको चहलपहल सुरु भइसकेको छ । अन्तर्राष्ट्रिय पाहुनाको आगमन हुने भएकाले अन्य बेलाभन्दा योपल्ट जात्रामा सहभागी सहरबासीले जात्राप्रति निकै चासो दिएका छन् ।
इन्द्रजात्रा भदौ २७ गते परेको छ, यसो भए पनि साताभन्दा अगावै यहाँ जात्राको गतिविधि भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले भदौ १५ गते लिङ्गोको काठ ल्याउन वन प्रवेश र रूख काट्ने १५ गते, लिङ्गो काठमाडौँ नगर प्रवेश गर्ने २० गते, इन्द्रध्वजोत्थान २४ गते २७ गते जैसिदेवलतर्फ कुमारी रथयात्रा २८ गते ठहिँटीतर्फ र नानीचायात्रा भनेर किलागलतर्फ ३१ गते रथयात्राको दिन तोकेको छ । प्रचलनअनुसार यो साइतलाई हनुमानढोका दरबार प्रवेशद्वारमा टाँस भएको दरबारका पर्वपूजा संयोजक मिठाराम पुडासैनीले जानकारी दिनुभएको छ । पुडासैनीका अनुसार जात्रालाई व्यवस्थित रूपमा सञ्चालन गर्न समयमै रकमी यात्रासँग सम्बद्ध गुठियार कर्मचारीलाई निर्देशन दिइएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?