logo
२०८१ बैशाख १५ शनिवार



अझै सञ्चालन भएन गणतन्त्र स्मारक

मुख्य समाचार |


अझै सञ्चालन भएन गणतन्त्र स्मारक



भउचप्रसाद यादव

काठमाडौँ, भदौ १२ गते । उद्घाटन भएको तीन महिना बित्न लाग्दा पनि नारायणहिटी दरबार सङ्ग्रहालयमा रहेको गणतन्त्र स्मारक अझै सञ्चालनमा आएको छैन ।
गणतन्त्र दिवसको उपलक्ष्यमा गत जेठ १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोहबीच सो स्मारकको उद्घाटन गर्नुभएको थियो । निर्माणको जिम्मा पाएको सहरी विकास तथा भवन निर्माण विभागका सिनियर डिभिजनल इन्जिनियर मचाकाजी महर्जनले सम्पूर्ण रूपमा निर्माण सम्पन्न हुन नसकेका कारण स्मारक सञ्चालनमा नआएको बताउनुभयो ।
स्मारकको तल्लो बेसमेन्टमा निर्माण बाँकी रहेको तथा स्मारक सञ्चालन कार्यविधि अझै स्वीकृत हुन नसकेकाले स्मारक सञ्चालनमा आउन नसकेको इन्जिनियर महर्जनले बताउनुभयो । “स्मारकको निर्माण सहरी मन्त्रालय मातहत भइरहेको छ भने नारायणहिटी दरबार सङ्ग्रहालयको सञ्चालन अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत भइरहेको छ”, इन्जिनियर महर्जनले थप्नुभयो, “स्मारक दरबार सङ्ग्रहालय मातहत सञ्चालनका लागि कार्यविधि निर्माण गरी हस्तान्तरण गर्नुपर्नेलगायतका प्रक्रियाका कारण सञ्चालनमा ढिलाइ भइरहेको छ । ”
सहरी विकास मन्त्रालयअन्तर्गत निर्माण गरिए पनि संस्कृति मन्त्रालयसँगको समन्वयबिना स्मारक सञ्चालनमा आउन नसक्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यविधि स्वीकृत हुनेबित्तिकै स्मारक नारायणहिटी दरबार सङ्ग्रहालयलाई हस्तान्तरण गरिन्छ र स्मारक सञ्चालनमा आउने छ । ” भौतिक निर्माणभन्दा निर्णय र कागजी प्रक्रियाका कारण स्मारक सञ्चालनमा आउन नसकेको उहाँले बताउनुभयो ।
देशमा भएका विभिन्न आन्दोलन, बलिदानी, राजनीतिक परिवर्तनका ऐतिहासिक तस्बिरहरू राख्न बाँकी रहेको बताउँदै उहाँले भन्नुभयो, “नारायणहिटी दरबारले करिब अढाई सय वर्ष पुरानो शाहवंशीय राजतन्त्रको प्रतिनिधित्व गर्छ, अब दरबार परिसरमा निर्माण भएको गणतन्त्र स्मारक ११ वर्षदेखि मुलुकमा चलिरहेको जनताको शासनको प्रतीक हो । ”
स्मारकको सञ्चालन कसले र कसरी गर्ने, आवश्यक कर्मचारीको दरबन्दी, ‘भिजिटर’हरूको प्रवेश र निकासको व्यवस्था, व्यवस्थापन, प्रवेश शुल्क निर्धारण, दरबार सङ्ग्रहालय र स्मारकलाई संयुक्त व्यवस्थापन गरी एकद्वार प्रणालीबाट कसरी सञ्चालनमा ल्याउनेलगायतको विषय कार्यविधिमा उल्लेख छ । अहिले दरबार सङ्ग्रहालयको मूल द्वार नारायणहिटीको दक्षिणी ढोकामा छ भने स्मारकको मूल द्वार पूर्वी ढोकामा छ । एउटै टिकटबाट दक्षिणी मूलद्वारबाट प्रवेश गरी पूरा दरबार सङ्ग्रहालय र स्मारकको अवलोकन गर्न  सकिने व्यवस्था भइरहेको जानकारी उहाँले दिनुभयो ।
नारायणहिटी दरबारभित्र ३५ रोपनी जग्गामा निर्माणाधीन गणतन्त्र स्मारकको निर्माणका लागि सुरुमा नारायणहिटी दरबारको ८२ रोपनी जग्गा उपलब्ध गराउने निर्णय भएको थियो । तर सुरक्षा संवेदनशीलता देखाउँदै नेपाली सेनाले ३५ रोपनी जग्गा मात्र उपलब्ध गराएको थियो । २०७२ मङ्सिर २१ गते सकिने गरी २०६९ चैतदेखि स्मारकको निर्माणसुरु भएको थियो । तोकिएको समयभन्दा झन्डै चार वर्ष ढिलो भए पनि हालसम्म सञ्चालनमा आएको छैन ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?