logo
२०८१ बैशाख १४ शुक्रवार



सहमतिका साथ अगाडि बढौँ :प्रधानमन्त्री

मुख्य समाचार |


सहमतिका साथ अगाडि बढौँ :प्रधानमन्त्री


सविता शर्मा

काठमाडौँ, वैशाख २८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट आफूले विश्वासको मत नपाए निकासका लागि मार्गप्रशस्त गर्ने बताउनुभएको छ । उहाँले आफूमाथि विश्वासको मत छैन भन्ने पुष्टि भएपछि मार्गप्रशस्त गर्न तयार रहेको स्पष्ट पार्नुभएको हो ।
विश्वासको मत लिन सोमबारको प्रतिनिधि सभाको अधिवेशनमा उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले संसदीय प्रक्रियाअनुसार नै अगाडि बढ्ने स्पष्ट पार्नुभएको हो । उहाँले भन्नुभयो, “संसद्को आदेशसँगै मार्गप्रशस्त हुन्छ, स्थिरता र स्थायित्वका लागि संसद्मा आएको हुँ ।”
प्रधानमन्त्री ओलीले संवाद, सहमति र समझदारीका साथ देश अगाडि बढ्न आवश्यक भएको बताउनुभयो । सबै राजनीतिक दल एउटै संविधान र व्यवस्थाभित्र भएको चर्चा गर्नुहुँदै उहाँले भन्नुभयो, “अब अगाडिका विषयमा पनि संवाद, सहमतिका साथ एकजुट भएर अगाडि बढौँ  ।”
संविधान कार्यान्वयनमा आफू प्रतिबद्ध रहेको पनि उहाँले स्पष्ट गर्नुभयो । कहिले–कहिले देशको आवश्यकता एकातिर र संसदीय गणित अर्कोतिर हुने चर्चा गर्नुहुँदै उहाँले निर्वाचनमा जाँदा लोकतन्त्र खतरामा नपर्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “लोकतन्त्रमा यस्तो अभ्यास हुन्छ ।”
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने बताउनुहुँदै उहाँले भन्नुभयो, “औचित्य र आवश्यकताका आधारमा देशलाई अगाडि बढाउनका निम्ति संविधान संशोधन गर्न सकिन्छ ।” गतिशील हुुनुपर्ने संस्थामा अवरोध आएको हुँदा अध्यादेश ल्याइएको बताउनुहुँदै उहाँले अध्यादेश संवैधानिक व्यवस्था भएको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री ओलीले स्थिरता र स्थायित्वका लागि जसरी अगाडि बढ्नुपर्ने हो, त्यसरी बढ्न नसकेकोमा दुःख व्यक्त गर्नुभयो । स्वार्थबाट निर्देशित भएर भन्दा पनि सत्यका पक्षमा उभिन आग्रह गर्नुहुँदै उहाँले सरकारले गरेका सकारात्मक प्रयासलाई गलत रूपमा व्याख्या गर्ने काम भएकाले असन्तुष्टि पोख्नुभयो । उहाँले भन्नुभयो, “हामीले राष्ट्रिय राजनीतिलाई सत्यतथ्यमा आधारित गरेर जनतालाई सही सूचना दिनुपर्छ ।”

राष्ट्रियता, स्वाभिमान, भौगोलिक अखण्डताको संरक्षण गर्न सरकारले कुनै कसर बाँकी नराखेको उहाँले स्पष्ट गर्नुभयो । यो देश विकास गर्ने सबैको जिम्मेवारी भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “मिथ्या राजनीति नगरौँ । हिजो विभेद थिए, आज विभेद अन्त्य गर्दै जानुपर्छ । असमानता र विभेद अन्त्यमा सरकार लागेको छ ।”

स्रोतसाधन कोरोना नियन्त्रणमा
प्रधानमन्त्री ओलीले कोभिड–१९ नियन्त्रण गर्न सरकारले पूर्ण रूपमा स्रोधसाधन र ध्यान केन्द्रित गरिरहेको स्पष्ट पार्नुभयो । कोरोनाको दोस्रो लहर बढिरहेको चर्चा गर्नुहुँदै उहाँले सरकारले अस्पताल, शøया, अक्सिजन उत्पादन, आईसीयू, भेन्टिलेटर थप्ने र भ्याक्सिन मगाउने काम गरिरहेको जानकारी दिनुभयो । उहाँले २७ हजारभन्दा बढी शøयाको व्यवस्था भएको पनि जानकारी दिनुभयो ।
उहाँले कोरोनाविरुद्ध लड्न विचारका भिन्नताहरूलाई थाती राखेर सरकारको प्रयासमा साथ दिन आग्रह गर्नुभयो । सरकारले जीवन र अर्थतन्त्रमा प्रतिकूल असर न्यून गर्न लागेको जानकारी दिनुहुँदै उहाँले कोरोनाविरुद्धको खोप दिनेमा नेपाल दक्षिण एसियामा भारतपछि पहिलो देश भएको पनि स्पष्ट पार्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?