logo
२०८१ बैशाख १४ शुक्रवार



द्विपक्षीय प्रगाढ सम्बन्ध बहुपक्षीय सम्बन्धमा पनि झल्कियोस्

अन्तरवार्ता |


द्विपक्षीय प्रगाढ सम्बन्ध बहुपक्षीय सम्बन्धमा पनि झल्कियोस्


सन् १९६० जुन १ देखि कायम रहेको नेपाल–इजरायलबीचको दौत्य सम्बन्ध अहिले छ दशकमा प्रवेश गरेको छ । अहिले नेपालका लागि इजरायलका २०औँ राजदूतका रूपमा खनान गोडेर कार्यरत हुनुहुन्छ । नेपालमा उहाँको यो दोस्रो कार्यकाल हो । दुई देशबीचको छ दशक लामो सम्बन्ध र यसलाई थप सुदृढ बनाउन आगामी दिनमा के–कस्ता सहकार्यलाई अगाडि बढाउन सकिन्छ भन्ने विषयमा राजदूत गोडेरसँग गोरखापत्रका पत्रकार राधा चालिसेले गर्नुभएको संवाद :
नेपालमा महामहिमको दोस्रो कार्यकाल चलिरहेको छ । यो समयलाई यहाँले कसरी मूल्याङ्कन गरिरहनुभएको छ ?
हो, यतिबेला राजदूतका रूपमा म नेपालमा दोस्रो कार्यकालमा कार्यरत छु । मैले सन् २०११ मा पनि यहाँ काम गरेको थिएँ । त्यो समय पनि निकै राम्रो र उपलब्धिमूलक नै रह्यो । अहिले फेरि मलाई यो अवसर मिल्यो । मैले दोहो¥याएर नेपाल आउने अवसरलाई छोड्न चाहिनँ र आएँ । जब दुई देश बीचमा सम्बन्ध जोडिन्छ नि त्यसपछि आपसी सम्बन्ध, कार्यक्रम, परियोजना निरन्तर चलिरहन्छन् । हामीले आपसमा मिलेर यस्ता थुप्रै काम गर्दै आएका छौँ । त्यसैले पनि म दोस्रो कार्यकालमा पनि यहीँ छु । यो समय पनि पहिलेको जस्तै आनन्द, सुमधुर भएको अनुभूति गरिरहेको छु । दुई देशबीचको दौत्य सम्बन्ध, विभिन्न व्यक्तिसँगको सम्बन्ध, परियोजना पनि निकै राम्रोसँग अगाडि बढेका छन् । यो सबै कुराले मलाई आनन्दको अनुभूति भइरहेको छ । नेपाल र इजरायलको राजनीतिमा पनि धेरै समानता छ ।

यहाँले दशवर्षअघि आउँदा र अहिले नेपालमा कस्ता परिवर्तन देखिरहनुभएको छ ?
मलाई धेरै नेपाली मित्रले यो प्रश्न गर्नुहुन्छ । तपाईंहरू यहीँ बसिरहँदा त्यो परिवर्तनको अनुभूति सायद गर्न सक्नुहुन्न होला । मैले धेरै परिवर्तन देखिरहेको छु । नेपाल र नेपाली समाज
सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ । राजनीतिक रूपमै ठूलो परिवर्तन भएको छ । यहाँको संस्कृति र अर्थतन्त्र पनि सङ्क्रमणकालीन अवस्थाबाट अगाडि बढिरहेको छ । म पहिलोपटक यहाँ हुँदा १८ घण्टासम्म लोडसेडिङको मार खेप्नुपथ्र्यो । अहिले त्यो अवस्थामा सुधार भएको छ । अब नेपाल केही वर्षमा विद्युत् निर्यात गर्ने अवस्थामा पुग्दै छ । कोभिडको अवस्थालाई छाडेर भन्नुपर्दा नेपालको अर्थतन्त्रमा पनि निकै सुधार देखिएको छ ।

नेपाल र इजरायलबीचको दौत्य सम्बन्ध स्थापना भएको छ दशकभन्दा बढीको अवधिमा दुई देशबीचको सम्बन्धलाई यहाँले कसरी मूल्याङ्कन गर्नुभएको छ ?
छ दशकअघि नेपाल र इजरायलबीच सुरु भएको दौत्य सम्बन्ध निकै उत्साहपूर्ण छ । इजरायलले त्यसलाई कहिल्यै बिर्सन सक्दैन । सन् १९६० मा पहिलोपटक नेपालका नेता बीपी कोइरालाले नेतृत्व गर्नुभएको सरकारले इजरायललाई जुन सम्मान र मान्यता दिएको थियो, त्यो अविस्मरणीय छ । यो क्षेत्रबाटै नेपाल पहिलो राष्ट्र हो, जसले इजरायलसँग सम्बन्ध स्थापित गरेको थियो ।
त्यसबेलादेखि अहिलेसम्म आइपुग्दा दुई देशबीचको सम्बन्ध निकै सुमधुर भएको छ । दुई मित्रराष्ट्रबीच सम्बन्ध, जनता–जनताबीचको सम्बन्ध पनि उत्तिकै सुमधुर हुँदै आएको छ । इजरायलले स्वास्थ्य, शिक्षा, कृषि, अर्थतन्त्र, सैन्य सहयोग गर्दै आएको छ । गत सातामात्र पनि कोभिड–१९ रोकथाम र उपचारका लागि इजरायलले नेपालमा स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । सन् २०१५ मा नेपालमा गएको ‘गोर्खा भूकम्प’को समयमा पनि इजरायलबाट दुई सयजना स्वास्थ्यकर्मी आवश्यक औषधोपचार सामग्रीसहित सबैभन्दा पहिले आएर खटिएको सबैलाई स्मरण होला । आवश्यक परेको समयमा यस्ता सहयोग निरन्तर हुँदै आएका छन् ।
छात्रवृत्तिको सम्बन्धमा भन्ने हो भने पनि हामीले करिब चार हजारभन्दा बढी पेशा र व्यवसायमा रहेका नेपालीलाई विभिन्न इजरायली छात्रवृत्ति उपलब्ध गराइसकेका छौँ । दस हजारभन्दा बढी इजरायलीले नेपाल भ्रमण गरिसकेका छन् । यस्ता थुप्रै परियोजना चलिरहेका पनि छन् । त्यसैले हामी दुई देशबीचको सम्बन्ध र आपसी सहयोगलाई लिएर निकै नै सन्तोषजनक अवस्थामा रहेका छौँ ।

इजरायलले नेपाललाई विशेषगरी कृषि क्षेत्रमा निकै ठूलो सहयोग गर्दै आएको छ । नेपाली युवालाई उपलब्ध गराइएको ‘सिक र कमाऊ परियोजना’ निकै प्रशंसनीय मानिएको छ । यो परियोजनालाई थप प्रभावकारी बनाउन नेपालमा सात प्रदेशमा बनाउने भनिएको ‘सेन्टर फर एक्सिलेन्स’को काम कसरी अगाडि बढिरहेको छ ?
एउटा के कुरा बुझ्न जरुरी छ भने इजरायल निकै सानो मुलुक हो । आकारमा भुुटानभन्दा आधामात्र छ । त्यसमध्ये पनि आधा भू–भागमा निकै समस्या छ । मात्र दुई प्रतिशत जनता कृषिमा आबद्ध छन् । ती दुई प्रतिशतले बाँकी ९८ प्रतिशतलाई खाद्यान्न पु¥याइरहेका छन् ।
नेपालको कृषि क्षेत्रको विकास र विस्तारका लागि इजरायलले नेपाली युवालाई सिक र कमाऊ परियोजनाअन्तर्गत तालिमको अवसर उपलब्ध गराउँदै आएको छ । हालसम्म तीन हजारभन्दा बढी युवाले यो अवसर पाइसकेका छन् । उनीहरूले एक वर्ष इजरायलमा कृषिसम्बन्धी ज्ञान र प्रविधि सिकेर नेपाल फर्की आफ्नो ठाउँमा निकै राम्रो काम गरिरहेका छन् । योबाट हामी निकै खुसी छौँ ।
गत वर्षमात्र हामीले दुई देशबीच एक सम्झौता पनि गरेका छौँ । सरकार–सरकारबीचमा भएको उक्त सम्झौताअनुसार सात प्रदेशमा एक–एकवटा गरी सातवटा ‘एक्सिलेन्स सेन्टर’ स्थापना हुनेछन् । यसको काम अगाडि बढेको छ । त्यसका लागि गठन भएको समितिमा छलफल पनि चलिरहेको छ ।
एक्सिलेन्स सेन्टर स्थापना गर्नुको उद्देश्य त्यहाँ नमुुनाका रूपमा खेती गरेर स्थानीय किसानलाई खेती गर्ने प्रविधि र सीप सिकाउनु हो । इजरायलमा सफल भएको कृषि प्रविधिलाई नेपालमा भिœयाएर ठूलो आकारमा कृषि उत्पादन बढाउने यसको उद्देश्य हो । नेपाली किसानका लागि एक्सिलेन्स सेन्टर स्थापना हुनु ठूलो अवसर पनि हो । नेपालमा यति धेरै प्रतिशत जनता कृषिमा आधारित भएर बसे पनि त्यसले देशको आवश्यकता धान्न सकिरहेको छैन । अबका दिनमा नेपालमा कृषिलाई आधुनिक प्रविधिमैत्री बनाउनुपर्छ । यसलाई सोखमात्र होइन, यसलाई पेशाका रूपमा विकास गर्नु जरुरी छ । एकपटक प्रविधि भिœयाउन सकेमा नेपाल खाद्यसामग्री आयातलाई प्रतिस्थापनमात्र होइन, निर्यात गरेर नै मुलुकले समृद्धि हासिल गर्न सक्ने ठूलो सम्भावना छ । नेपालको छिमेकी मुलुक भारतमा स्थापना भएको एक्सिलेन्स सेन्टर अत्यन्तै प्रभावकारी साबित भएर अहिले धेरैवटा राज्यमा विस्तार भइरहेको छ ।
हामी नेपाललाई पनि त्यस किसिमको सहयोग गर्न चाहिरहेका छौँ । सायद आगामी वर्ष कम्तीमा पनि एउटा प्रदेशमा यो परियोजना सुरु गर्न सकिन्छ भन्ने विश्वासकासाथ काम भइरहेको छ ।

अहिले विश्वका अन्य देशजस्तै कोभिड–१९ को महामारीमा परेर नेपाली युवाले पनि रोजगारी गुमाएका छन् । अर्थतन्त्रमा सङ्कुचन आइरहेको छ । नेपाली युवा वैदेशिक रोजगारीका लागि बढी लालायित रहेका छन् । यस्तो अवस्थामा कृषि र केयर गिभर (स्याहार सुसार) बाहेक नेपाली युवालाई अन्य क्षेत्रमा इजरायलमा रोजगारी उपलब्ध गराउने विषयमा केही सोच छ कि ?
एउटा कुरा म के भन्न चाहन्छु भने नेपाली युवा निकै सक्षम छन् । विशेषगरी सूचना प्रविधि (आईटी)का क्षेत्रमा उनीहरू निकै अगाडि देखिन्छन् । मिहिनेती पनि उत्तिकै छन् । इजरायली कम्पनी र नेपाली कम्पनीबीच सहकार्य भएको छ । विशेषगरी आईटीको क्षेत्रमा नेपालमा विकास गरेको सफ्टवेयरबाट धेरै राम्रो काम भएको छ । यो सहकार्यले निरन्तरता पाउनेमा म विश्वस्त छु । यसबाहेक चिकित्सा क्षेत्र, पर्यटनका क्षेत्रमा पनि सहयोग भइरहेको छ । साथै, नेपाली पेशाकर्मीलाई सीप विकासको छात्रवृत्ति उपलब्ध गराइरहेको छ ।
कहिलेकाहीँ दुई देशबीचको व्यापार
तथ्याङ्कमा देखिँदैन किनकि इजरायली कम्पनीको प्रमुख शाखा भारतमा रहेका छन् । त्यसैले यहाँबाट निर्यात भएर भारत जान्छ र भारतबाट इजरायल गएको अवस्था छ । तर पनि मल, स्वास्थ्य उपकरण इजरायलबाट नेपाल आयात हुने गरेका छन् । नेपालमा इजरायली उत्पादनको निकै ठूलो माग छ ।

दुई देशबीच आयात–निर्यातको अवस्थालाई हेर्दा व्यापार घाटा निकै ठूलो देखिन्छ । त्यसलाई कम गर्न नेपालबाट के–कस्ता वस्तु इजरायलमा निर्यात गर्न सकिएला ?
नेपाल भर्खर इमर्जिङ (आर्थिक रूपमा जागृत) देश हो । कोभिडको अवस्थालाई छोडेर भन्नुपर्दा यहाँको आर्थिक वृद्धिदर औसतमा करिब छ प्रतिशत रहँदै आएको छ । यो वर्षदेखि नेपालमा ऊर्जाको अभाव रहेन । उद्योगका लागि ऊर्जा पहिलो सर्त रहँदै आएको छ । नेपालको टेक्सटाइल उत्पादन विगत दुई वर्षमा बढ्दो अवस्थामा रहेको छ । नेपाली खाद्यसामग्री पनि बढिरहेको छ ।
मलाई के विश्वास छ भने केही वर्षमा नेपाल ऊर्जा निर्यात गर्न सक्ने अवस्थामा पुग्दै छ । नेपालमा हरेक क्षेत्रमा उत्तिकै सम्भावना रहेको छ । कफी, चिया, दलहनलगायतका खाद्यसामग्री, प्लास्टिकजस्ता सामग्री उत्पादन गरेमा निर्यातको प्रशस्त सम्भावना छ ।

नेपालले यतिबेला कोभिडविरुद्धको खोपको खोजी गरिरहेको छ । यस्तो अवस्थामा नेपाललाई इजरायलबाट हुने सहयोग केही हुन सक्छ ?
हो, कोभिडको महामारी निकै डरलाग्दो छ । विश्वभर नै यसले मानिसको जीवनलाई निकै ठूलो असर पु¥याइरहेको छ । यसले हाम्रो समाज, बालबालिकाको शिक्षा, युवाको रोजगारी, देशको अर्थतन्त्र सबै क्षेत्रलाई तहसनहस बनाइरहेको छ । यसबाट बाँचे पनि निकै लामो समयसम्म त्यसको असर देखिरहन्छ । इजरायल विश्वको पहिलो देश बन्यो, जसले आफ्ना जनतालाई आफैँ खोप उपलब्ध गराउन सकेको छ । अझै पनि पर्यटन, संस्कृतिका क्षेत्रमा निकै प्रभावित छ । अझै तेस्रो लहर देखिन थालेको छ ।
तथापि, इजरायलले आफ्ना मित्रराष्ट्रलाई सहयोग गर्न छोडेको छैन । गत सातामात्र इजरायली सरकार, विभिन्न गैरसरकारी सङ्घ संस्था र इजरायलमा काम गरिरहेका नेपाली समुदायलगायतको सहयोगमा कोभिड उपचारमा प्रयोग हुने भेन्टिलेटरलगायतका एक जहाज स्वास्थ्य सामग्री नेपाललाई पठाइएको छ । आगामी दिनमा पनि यस्तो सहयोग जारी नै रहनेछ ।

स्याहार सुसार र कृषिबाहेक अन्य क्षेत्रमा पनि नेपाली युवालाई इजरायलमा रोजगारी उपलब्ध गराउन सकिन्छ कि ?
अहिलेका लागि हामीले केयर गिभर र कृषिका लागि सरकार–सरकारबीच सम्झौता गरेका छौँ । इजरायल नेपालीलाई पर्यटनको क्षेत्रमा पनि आमन्त्रण गर्न चाहिरहेको छ । निर्माणका क्षेत्रमा पनि नेपाली युवालाई अवसर दिन चाहिरहेको छ । कृषिमा पनि अहिले हुँदै आएको सिक र कमाऊ (लर्न एन्ड अर्न) मात्र नभई लामो अवधिका लागि अवसर प्रदान गर्न चाहन्छ ।

यतिबेला नेपाल विभिन्न देशबाट लगानी भिœयाउन चाहिरहेको छ । इजरायली लगानीकर्तालाई नेपालमा भिœयाउने सम्भावना कति देख्नुहुन्छ ?
मलाइ लाग्छ– नेपालमा लगानीकर्ता भिœयाउन उपयुक्त वातावरण बनाउन जरुरी छ । इजरायली लगानीकर्ता पनि आफ्नो लगानी विदेशमा गर्न चाहिरहेका छन्, लगानी क्षेत्रको खोजी गरिरहेका छन् । केही आईटी कम्पनीले यहाँ काम पनि गरिरहेका छन् । स्वास्थ्य सामग्री, कृषिका सामग्री उत्पादन गर्ने कम्पनीलाई नेपालमा भिœयाउन सक्ने सम्भावना मैले देखेको छु । इजरायली व्यवसायीको टोली नेपाल भ्रमणमा आउन समय पर्खिरहेको छ । कोभिड केही साम्य भएपछि यो पनि होला भन्ने अपेक्षा छ ।

महामहिम, विभिन्न मञ्चमा यहाँले नेपाल–इजरायल दुई देशबीचको सम्बन्धका आधार निकै बलियो भए पनि बहुपक्षीय सम्बन्धका आधार त्यति धेरै बलियो बन्न सकिरहेको छैन भन्दै आउनुभएको छ । बहुपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन इजरायलले नेपालसँग के–कस्तो अपेक्षा राखेको हो ? स्पष्ट परिदिनुस् न !
हो, म यसमा स्पष्ट पार्न चाहन्छु । जब दुई देशबीचको सम्बन्धको कुरा हुन्छ, त्यसको दुईवटा खुट्टा हुने गर्छ । एउटा द्विपक्षीय सम्बन्धको खुट्टा, अर्को बहुपक्षीय खुट्टा, जुन संयुक्त राष्ट्रसङ्घको महासभामा व्यक्त हुने मतमा देखिने गरेको छ ।
इजरायल–नेपालबीच दुई देशबीचको सम्बन्ध स्थापनाकालदेखि नै निकै सुमधुर रहँदै आएको छ । यो सम्बन्धलाई सुदृढ र बलियो बनाउन शिक्षा, स्वास्थ्य, कृषि, छात्रवृत्ति, विपद्मा सहयोग वा सैन्य सहयोगजस्ता जे–जस्ता सहकार्य गर्न सकिन्छ, त्यो हुँदै पनि आएको छ । आममानिसले पनि यो सम्बन्धलाई सहजै देख्न सक्छन् । बहुपक्षीय सम्बन्ध त्यसरी देखिँदैन ।
तर, प्रश्न बहुपक्षीय सम्बन्धको हो ।
राष्ट्रसङ्घको महासभामा वा जेनेभाको मानवअधिकार समितिमा नेपाल जसरी इजरायलीको पक्षमा उभिदियोस् भन्ने हाम्रो चाहना छ, त्यो हुन सकिरहेको छैन । राष्ट्रसङ्घमा नेपालको मत अत्यन्तै महŒवपूर्ण हुन्छ । अन्य कतिपय देशको सवालमा तटस्थ भएर बस्ने नेपालले इजरायलको पक्ष जोडिँदा किन तटस्थ बस्दैन वा किन हल (बैठक) छोडिदिँदैन भन्नेमात्र हाम्रो चासो हो । म यतिमात्र भन्न चाहन्छु कि दुई देशबीचको सम्बन्ध जति सुन्दर र सुदृढ छ, त्यो बहुपक्षीय सम्बन्धमा पनि झल्कियोस् भन्ने हाम्रो आग्रह हो । अन्तर्राष्ट्रिय फोरममा नेपालले दिने मतमा केही परिवर्तन होस् भनेर त्यसैले म यहाँ बारम्बार यो प्रश्न र चासो उठाउँदै आएको छु । नेपालले आफ्नो असंलग्न परराष्ट्र नीतिलाई उचित विवेक लगाएर प्रयोग गरोस् भन्ने हाम्रो कामना छ ।

नेपालस्थित इजरायली दूतावासअन्तर्गत एउटा सालोम क्लब भन्ने संस्था छ । त्यो कस्तो संस्था हो र त्यसले नेपाली समाजलाई कस्तो योगदान दिन्छ ?
हामीले सन् १९६० देखि नै इजरायलमा नेपालीलाई यस्ता अवसर उपलब्ध गराउँदै आएका छौँ । त्यतिबेलादेखि नै नेपालबाट विभिन्न समयमा विभिन्न विषयमा इजरायल पुगेर विभिन्न अवधिका तालिम, ज्ञान र शिक्षा लिएर फर्किएका छन् । सालोम क्लब त्यसरी फर्किएका नेपालीको नै संस्था हो । उक्त संस्थाको संयोजन इजरायली दूतावासका कर्मचारी रेश्मा जोशीले गर्दै आउनुभएको छ । यो संस्थाले अहिले नेपाली समाजका पछाडि परेका वर्ग, समुदाय, बालबालिका, युवाको हित हुने कार्य गर्दै आएको छ । यसमा सदस्य हुन बाँकी सदस्य पनि आबद्ध हुन सक्नुहुन्छ । यसको फेसबुक पेजबाट पनि आबद्ध हुन सक्नुहुन्छ ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ कि ?
नेपाल अत्यन्तै राम्रो देश छ । यहाँका जनता उत्तिकै असल छन् । यहाँको सामाजिक एकता निकै प्रभावकारी छ । दुई हप्ताअघि म असार १५ को अवसरमा धान रोप्न काठमाडौँ उपत्यकाबाहिर पुगेको थिएँ । म यहाँको कला, संस्कृति र समाज, नेपालीको सरलताले निकै प्रभावित भएको छु । मैले नेपालमा निरन्तर विकास भएको पाएको छु । विकास हुँदै गर्दा यहाँको समाजका राम्रा पक्षलाई जोगाइरहनुपर्छ जस्तो लाग्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?