logo
२०७७ कार्तिक ६ बिहीवार

जात व्यवस्थाको अन्त्य नै दलित साहित्यको वैचारिकी – आहुति

अन्तरवार्ता |


2020-10-16-24828


कवि, उपन्यासकार, सांस्कृतिक चिन्तक तथा माक्र्सवादी बौद्धिक आहुति विसं २०४० को दशकदेखि नेपालको प्रगतिवादी साहित्य र चिन्तकका रूपमा सक्रिय हुनुहुन्छ । उहाँका ‘तपस्वीका गीतहरू’ र ‘गहुँगोरो अफ्रिका’ दुई कविता सङ्ग्रह, ‘नयाँ घर’ र ‘स्खलन’ दुई उपन्यास प्रकाशित छन् । ‘नेपालमा वर्ण व्यवस्था र वर्गसङ्घर्ष’ समाजशास्त्रीय पुस्तक र ‘दलन’ टेलिशृङ्खला पनि उहाँका प्रभावशाली रचना हुन् । उहाँको ‘गहुँगोरो अफ्रिका’ कविता नेपाली प्रगतिवादी काव्यवृत्तमा दलित मुक्तिचेतना र दलित सौन्दर्यदृष्टिलाई सर्वाधिक मुखर स्वर दिने रचना मानिन्छ । उहाँले नेपाली समाज तथा संस्कृति, दलित मुक्ति आन्दोलन र साहित्य तथा सौन्दर्यचिन्तनका क्षेत्रमा निरन्तर बौद्धिक हस्तक्षेप गर्दै आउनुभएको छ । मूलधारका नेपाली पत्रिका, अनलाइन माध्यम र सार्वजनिक प्रवचनहरूमार्फत तिख्खर सामयिक राजनीतिक विश्लेषण समेत गर्दै आउनुभएका आहुतिका थुप्रै वैचारिक निबन्ध तथा अन्तर्वार्ताहरू विभिन्न पुस्तक, पत्रिका र सङ्कलनहरूमा फुटकर रूपमा प्रकाशित छन् । प्रस्तुत छ, नेपालमा दलित साहित्यको विमर्श, दलित साहित्य चिन्तन, दलित सौन्दर्यशास्त्रलगायत विषयमा मधुपर्कका लागि आहुतिसँग कवि तथा पत्रकार सङ्गीतले गरेको कुराकानी :

दलित साहित्यबारे कुरा गर्दा जात व्यवस्थाको विषय अगाडि आइहाल्छ । सुरुमा नेपाली समाजमा विद्यमान जात व्यवस्थाको विशेषताबारे नै बताइदिनुस् न !

– हिन्दु समाजमा करिब ३५ सय वर्षअगाडि चार वर्ण अर्थात् चार प्रकारको श्रम समूहमा आधारित वर्ण व्यवस्था दक्षिण एसियामा विकसित विशिष्ट वर्गीय समाज व्यवस्था थियो । ती चार वर्ण सारमा चार वर्ग नै थिए । संसारको अन्य भागमा पनि जनसङ्ख्याको वृद्धिसँगै श्रम विभाजन अनिवार्य हुन गयो र भयो तर वर्णव्यवस्थाको श्रम विभाजनमा भने एउटा अतिरिक्त घातक प्र्रणाली लादियो, त्यो हो अनुल्लङ्घनीय श्रम विभाजन । हिन्दु शास्त्रीहरूले शास्त्रमा भएका कतिपय उदार पंक्तिहरूको सहारा लिएर वर्ण भनेको कर्मले निर्धारण गर्ने कुरा हो भनेर तथ्यमाथि जालसाजी गर्ने गरे पनि कर्मले वर्ण निर्धारण गर्ने विषय तत्कालीन शासकले चाहँदा अपवाद व्यक्तिहरूको वर्ण परिवर्तनमा मात्र लागू हुन सक्थ्यो, सिङ्गै वर्णको हकमा होइन । शासक वर्ण वा वर्गका रूपमा रहेका ब्राह्मण र क्षत्रीले गर्ने कर्म गर्न नै वैश्य र शूद्रलाई निषेध गरिसकेपछि वैश्य र शूद्र वर्ण सिङ्गै कसरी शासक वर्णमा रूपान्तरण हुन सक्थ्यो र ? कर्मको आधारमा जो पनि जुनै वर्णमा हुन सक्थ्यो भन्ने तर्क वास्तवमा शिक्षक बन्न तिमी पनि पाउँछौ तर तिमीले पढ्न चाहिँ पाउँदैनौँ भने जस्तै हो, त्यसैले यो तर्क तथ्यमाथिको बलात्कार सिवाय केही होइन ।
जुन परिवार वा वर्णलाई जुन पेसा तोकिएको हो, वंशानुगत रूपमा त्यही मात्र गर्नुपर्ने यस किसिमको अनुल्लङ्घनीय श्रम विभाजनले गर्दा ब्राह्मण र क्षत्री सधैँ साधन, स्रोत र शक्तिको मालिक बनिरहने अनि वैश्य र शूद्र निरन्तर शक्तिहीन र अभावग्रस्त बनिरहने प्रक्रिया चल्यो । त्यस सिलसिलामा सबैभन्दा पिँधमा रहेको शूद्रको जीवन सबैभन्दा क्षतविक्षत भयो । आजसम्मका सबै समाजका उत्पीडितहरूले मुक्तिका निम्ति तीन प्रकारको प्रयत्न
गरेको पाइन्छ । एक, शासकहरूलाई आवश्यक पर्ने अब्बल प्रतिभा बनेर व्यक्तिगत रूपमा शासकहरूमार्फत नै मुक्ति खोज्ने । दुई, शासकहरूलाई छक्काएर तर उनीहरूकै जस्तो कर्म गरेर व्यक्तिगत मुक्ति खोज्ने । तीन, शासनका गलतविरुद्ध सीधा विद्रोहमार्फत सामूहिक मुक्ति खोज्ने । हिन्दु शास्त्रहरूलाई पढ्दा यी तीनै प्रवृत्ति छताछुल्ल पाइन्छन् । लुकेर तपस्या गर्ने शम्बुकहरू शासकहरूलाई छक्याएर व्यक्तिगत मुक्ति खोज्ने प्रवृत्तिका देखिन्छन् । शूद्र वर्णमा जन्मिएर सम्मानित ऋषि हुनेहरू शासकको व्यवस्था र भाष्यलाई विकसित गर्ने अब्बल प्रतिभा भएर व्यक्तिगत मुक्ति खोज्न निस्केका पाइन्छन् । ती दुई प्रवृत्तिबाहेक वैश्य र शूद्र मूलतः शूद्र वर्णबाट जसले सीधा विद्रोह गर्न थाले, उनीहरूलाई राज्यले सजायको प्रताडनामा होम्नु अनिवार्य थियो । वर्ण व्यवस्थाविरोधी ती विद्रोही सबैलाई मृत्युदण्ड दिन सम्भव थिएन किनकि उनीहरू समाज सञ्चालनको मुख्य श्रमसँग सम्बन्धित थिए । त्यतिबेला स्थायी झ्यालखाना पनि थिएन लामो समय बन्दी बनाउन । विद्रोहीहरूलाई त्यस्तो सजाय मात्र दिन सम्भव थियो ताकि उनीहरूले तोकिएको श्रम निरन्तर गरून् र उनीहरूले पाएको सजाय देखेर अरूले विद्रोह गर्ने साहस नगरून् । यही प्रकरणमा सुरु भयो बहिष्करणको सजाय अर्थात् सबै बस्ने बस्तीमा बस्न नपाउने, सबैले खाएको पानी खान नपाउने, सबैले लगाएको लुगा लाउन नपाउने इत्यादि । यही बहिष्करणको सजाय नै हो छुवाछुत ।
यसप्रकार चार वर्णबाट सुरु भएको वर्ण व्यवस्थामा नयाँ समूह जन्मियो अर्थात् सामाजिक बहिष्करणको सजाय पाएको समूह– अछुत । अछुत पाँचौँ अर्थात् ‘पञ्चम वर्ण’का रूपमा जन्माइयो । पराजित विद्रोहीहरू, राज्यबाट विभिन्न सजाय पाएकाहरू, ऋण तिर्न नसकेर टाट पल्टेकाहरू, रक्त पवित्रता कायम राख्न नसकेकाहरू आदि त्यस अछुत समूहमा थपिँदै गए, गाभिँदै गए । जनसङ्ख्याको वृद्धि र समाजको आवश्यकताअनुसार श्रम क्षेत्रहरू थपिँदै गए, अब चार श्रम क्षेत्र मात्रले धानेन । त्यसपछि प्रत्येक श्रम क्षेत्रमा काम गर्ने समूह एउटा जातका रूपमा परिचित र निर्धारित हुन पुग्यो । उपाध्याय र जैसी खालको सामान्य भेद विकसित भए पनि ब्राह्मणभित्र धेरै जात भएनन् । झर्रो, घर्ती, खत्री खालका साधारण भेद भए पनि क्षत्रीभित्र तहगत जातहरू भएनन् किनभने ब्राह्मण र क्षत्रीका निम्ति तोकिएका श्रम क्षेत्रको विस्तार भएन । ज्ञान आर्जन, ज्ञान वितरण, राज्यको नियम निर्माण र ईश्वरसँग सम्पर्क बनाउने ब्राह्मणको श्रम क्षेत्र थप कसरी हुन्थ्यो र ? त्यसैगरी क्षेत्रपालका रूपमा राज्य गर्ने र प्रशासन चलाउने काममा पनि श्रम क्षेत्र नै त्यतिबेला विस्तार आवश्यक थिएन । श्रम क्षेत्रको विशाल जिम्मेवारी सम्हालेका वैश्य, शूद्र र अछुतहरूबीच भने हजारौँ पेसागत क्षेत्रमा उनीहरू विभक्त हुँदै गए, पेसागत क्षेत्रको विस्तारसँगै जातहरू पनि थपिँदै गए । आज सबैभन्दा बढी जातहरू वैश्य र कथित अछुतहरूमा हुनुको मूल कारण यही हो भन्ने प्रस्टै छ । यसरी वर्ण व्यवस्थाबाट सुरु भएको यो प्रणाली अन्ततः जात व्यवस्था बन्न पुग्यो । यसरी समग्र ऐतिहासिक प्रक्रियालाई अध्ययन गर्दा सहजै प्रस्ट हुन्छ, सुरुवातको वर्ण व्यवस्था र त्यो विकसित एवं विस्तार भएर बन्न पुगेको आजको जात व्यवस्था केवल धार्मिक वा सांस्कृतिक क्षेत्रको विषय नभएर यो समग्र आर्थिक–राजनीतिक–सांस्कृतिक प्रणाली हो ।
जात व्यवस्थाको आफ्नै अर्थतन्त्र, राजनीति र दर्शन–संस्कृति छ । जति कथित माथिल्लो जात, त्यति नै सम्पत्तिमाथि वर्चस्व बढ्दै जाने प्रणाली यसको अर्थतन्त्रको ढाँचा हो । सत्ता र शक्तिमा स्वतः कथित माथिल्लो जातबाट मात्र पुग्ने प्रपञ्च यसको राजनीति हो । अनि भाग्यवाद यसको दर्शनको मियो हो । कुरा त कर्म मुख्य हो भनी धेरै स्थानमा बढाइचढाइ गरिन्छ । तर कर्म स्वयं भाग्य निर्माताले तोक्ने भएपछि र भाग्य ईश्वरको विवेकको विषय बनाइसकेपछि कर्मफलवाद स्वयं भाग्यवादको टाङमुनि छिर्न पुग्छ । अनि नारकीय जीवन बिताउन बाध्य विशाल श्रमिक जनता निरीह बोल्ने पशुमा सीमित हुन यस दर्शनले प्रशिक्षित गर्छ । तसर्थ, जात व्यवस्था समग्र आर्थिक– राजनीतिक–दार्शनिक एवं सांस्कृतिक प्रणाली भएकाले दक्षिण एसियाको हिन्दु समाज वा हिन्दु शासकद्वारा शासित समाजमा वर्गहरू पनि जात व्यवस्थाको ढाँचाअनुसार नै बन्दै आयो र त्यो ढाँचा आधारभूत रूपमा अहिले पनि कायम छ । आज भारत र नेपालको अर्थतन्त्र, राजनीति र संस्कृतिमा हे¥यो भने प्रस्टै जात व्यवस्था ढसमस्स राज गरिरहेको देख्न कुनै सूक्ष्म दृष्टिकोण चाहिँदैन । जात व्यवस्थाको तहत बनेका दार्शनिक मान्यताहरू, नीति र विधिहरू, साहित्य र सौन्दर्य मूल्यहरू लगायत तमाम सांस्कृतिक– बौद्धिक सम्पदा मूलतः बहुसङ्ख्यक वैश्य, शूद्र र कथित अछुतका रूपमा रहेका श्रमिकलाई शोषण, दमन र बहिष्करण गर्न तयार पारिएका बौद्धिक हतियारहरू नै थिए ।

दलित साहित्य के हो ? यसका विशेषता केके हुन् ?

– दलित साहित्य के हो भन्ने प्रश्नको उत्तरमा पुग्न दलित के हो भन्ने बारेमा ठीक बुझाइको आवश्यकता छ । जात व्यवस्थाको उचनीचमय तहगत संरचना र प्रत्येक जातबीच कुनै न कुनै स्तरको छुवाछुत, भेदभावका कारण हिन्दु समाज सिङ्गै प्रगतिमा जान सक्दैनथ्यो र गएन । तर पानी समेत अचल बनाएर सबैभन्दा पिँधमा कथित अछुतहरूलाई दमन गरियो । कथित अछुतहरू सानो जनसङ्ख्या पनि होइनन् किनभने हिन्दु जनसङ्ख्यालाई आधार बनाउँदा आज पनि भारत र नेपालमा २० प्रतिशतभन्दा बढीको विशाल
सङ्ख्या हो । त्यसैगरी यो जमात सामन्तवादी समाजको मुख्य चालक समुदाय थियो किनभने यसले नै भौतिक विज्ञान, प्रविधि, सङ्गीत, सञ्चार, शिल्पकारिता, उपचार, कृषि र सफाइजस्ता क्षेत्रको मुख्य जिम्मेवारी पूरा गर्दै आएको हो । जात व्यवस्थाले सबै जात र वर्गको प्रगतिलाई रोकेको भए पनि पूर्ण सम्मानित मानव समेत बन्न नदिएको अवस्थामा चाहिँ यही पिँधको कथित अछुत समूहलाई पिल्साइएको थियो । यसर्थ जात व्यवस्थाको समाज लोकतन्त्रतिर जान्छ कि जान्न भन्ने कुराको सामाजिक मानक भनेकै कथित अछुतहरू मुक्त हुन्छन् कि हुन्नन् भन्ने प्रश्नमा अड्किन पुगेको छ । आज संसारमा सबै प्रकारका उत्पीडित वर्ग र समुदायको मुक्ति कहाँ पुग्यो भनेर हेर्नका निम्ति एउटा मुख्य ऐना महिलाको स्थिति के छ भनेर हेर्नु मनासिब हुन्छ, त्यसैगरी दक्षिण एसियाको समाज कति लोकतान्त्रिक र कति प्रगतिशील भयो भन्ने चित्र दलितको स्थिति हेर्दा स्पष्ट हुन्छ ।
त्यही कथित अछुतहरूले आफ्नो मुक्तिको निम्ति भारतबाट सङ्घर्ष अघि बढाउने क्रममा ‘अछुत’ परिचयलाई अस्वीकार गरेर आफूलाई दलितका रूपमा परिभाषित गरे र त्यो परिचय नेपालमा पनि र विश्वव्यापी रूपमा स्थापित हुन पुग्यो । दलित कसैले अपमान गरेर भिराइएको परिचय होइन, बरु दलितहरूले आफ्नो सङ्घर्षले निर्माण गरेको गौरवमय परिचय हो । मेरो विचारमा एउटा कथित अछुतले आफूलाई अछुत नै स्वीकार गरुन्जेल त्यो अछुत हो । तर कथित अछुतले आफूमाथिको अत्याचारविरुद्ध बौद्धिक वा भौतिक रूपमा सङ्घर्ष गर्न सुरु गरेपछि ऊ दलित हो । दलित सङ्घर्षशील मानिसको बिम्ब हो । दलितका अगाडि अरू कसैलाई दबाएर आफू सम्मानित बनौँला भन्ने कुनै उपाय बाँकी छैन, बरु जात व्यवस्थाबाट पीडित सबै जातलाई सम्मानित र सम बनाएर मात्र ऊ पनि सम्मानित र मुक्त हुन सक्छ । त्यस अर्थमा दलित जात व्यवस्थाभित्रै मुक्त हुन सम्भव छैन, बरु जात व्यवस्थालाई नै अन्त्य गरेर मात्र ऊ मुक्त हुन सक्छ । सबैभन्दा पिँधको उत्पीडन भोग्न बाध्य र जनसङ्ख्याको पनि ठूलो हिस्सा भएकाले जात व्यवस्थाबाट प्रगति रोकिएका ब्राह्मण–क्षत्रीभित्रका समूहहरू र वैश्य अनि तमाम शूद्रअन्तर्गतका समूहहरूको मुक्ति र प्रगतिको नेतृत्व गर्न समेत दलित अगाडि आउनुपर्ने हुन्छ । जसरी वर्गीय रूपमा पिँधको मजदुर वर्गको मुक्तिबिना वर्गीय समाजका निम्न मध्यम, मध्यम वा किसानहरूको मुक्ति हुँदैन, त्यसरी जात व्यवस्था भएको समाजमा दलितको मुक्ति बिना अरू कुनै जातको पनि समग्र प्रगति सुनिश्चित हुँदैन । त्यसैले दलित साहित्य भनेको जात व्यवस्थाविरोधी साहित्य हो । जसरी सर्वहारावर्गीय साहित्य केवल सर्वहारावर्गका लागि साहित्य होइन, बरु सर्वहारावर्गीय ढङ्गले विश्व र समाजलाई हेर्न सिङ्गो मानव समुदायलाई हेर्न सिकाउने साहित्य हो, त्यसरी नै दलित साहित्य दलितको वा दलितका लागि मात्र होइन, बरु सिङ्गो समाजलाई जात व्यवस्थाको उन्मूलनको आवश्यकता र अनिवार्यता आत्मसात गराउने साहित्य हो । जात व्यवस्थाबाट सबै प्रकारका र सबैभन्दा बढी उत्पीडित भएको साथै उसकै नेतृत्वमा जात व्यवस्थाका विरुद्ध सङ्घर्ष अनिवार्य भएकाले दलितको नामबाट साहित्यको प्रवृत्तिकै नामकरण हुनु स्वाभाविक र आवश्यक भएको मात्र हो ।
दलित साहित्यको विवेचना गर्दा दुईवटा विषयलाई मानकका रूपमा अघि सार्ने गरिन्छ । एक, त्यो दलितका विषयमा हुनुपर्छ । दुई, दलित अनुभूतिको प्रामाणिकतालाई ध्यान दिनुपर्छ । यी दुवै अवधारणालाई मान्दा त दलित साहित्य केवल दलितवादी साहित्य बन्न पुग्छ जुन निकै नै गम्भीर रूपमा त्रुटिपूर्ण हुन्छ । दलितवाद र दलितवादी साहित्य दलितको वरपर मात्र सीमित हुन्छ, जब कि दलित मुक्ति र दलित साहित्य जात व्यवस्थाबाट उत्पीडित वा प्रगति रोकिएका तमाम जातहरू र अन्ततः सिङ्गै मानव समाजको मुक्तिको पक्षमा हुन्छ । जात व्यवस्थाबाट सबैभन्दा पीडित भएकाले दलित जीवन नै दलित साहित्यमा सर्वाधिक आउँछ, आउनुपर्छ तर जात व्यवस्थाअन्तर्गत उपाध्याय ब्राह्मणबाट जैसी वा क्षत्रीले भोगेको भेदभावको यथार्थ र त्यसविरोधी चेतना पनि दलित साहित्यमा आउनुपर्छ, त्यो दलित साहित्यभित्रै पर्छ । म्याक्सिम
गोर्कीको ‘आमा’ मात्र सर्वहारा साहित्य होइन, बरु पुँजीपति परिवारमा हुने अनिवार्य मानवीयताको विघटनको चित्र प्रस्तुत गर्ने ‘अर्थ मानव’ उपन्यास पनि सर्वहारा साहित्य नै हो भन्ने बुझ्नैपर्छ । यसर्थ, जात व्यवस्थाका आर्थिक, राजनीतिक, दार्शनिक–सांस्कृतिक कुनै घातक यथार्थको उद्घाटन, त्यसबाट मुक्तिको आकाङ्क्षा व्यक्त गर्ने वा सही दिशामा प्रेरित गर्ने साहित्यलाई दलित साहित्यका रूपमा अनिवार्य रूपमा स्वीकार गर्नैपर्छ । यहाँ अर्को प्रस्ट हुनुपर्ने विषय पनि छ, त्यो हो दलित साहित्य र प्रत्यक्ष अनुभूति । कुनै पनि कला सामग्रीका विषयका दुई पाटा हुन्छन् । एक, यथार्थको प्रतिबिम्बन । दुई, यथार्थको अन्तरविरोधको प्रगतिशील समाधानका निम्ति अर्थात् मानवीय उन्नयनको निम्ति व्यक्त आकाङ्क्षा वा दिशाबोध । कलामा यथार्थको प्रतिबिम्बन सबैभन्दा महत्वको विषय हो तर पर्याप्त चाहिँ होइन । यस दृष्टिविन्दुबाट हेर्दा दलित वा गैरदलितले जात व्यवस्थाजन्य उत्पीडन, मनोदशा र सामाजिक विघटनलाई सर्जकको व्यक्तिगत अनुभूतिबाट मात्र हेर्नु दलित साहित्य होइन, बरु दलित मुक्ति र जात व्यवस्थाको अनिवार्य अन्त्यको आवश्यकताको वैचारिकी वा आकाङ्क्षासहित हेर्नु मात्रै दलित साहित्य हो ।
जहाँसम्म दलित साहित्यको विशेषताको प्रश्न छ, त्यसको उत्तर खोज्न जात व्यवस्थाको दर्शन, अर्थतन्त्र, राजनीति र संस्कृतिको मानवविरोधी सारभित्र नै खोज्नुपर्ने हुन्छ । जात व्यवस्थाले ईश्वर नै सबै चिजको निर्धारक हो भन्दै दलित र मानव समाजलाई निरीह जीवित कठपुतलीमा सीमित गर्न चाह्यो । त्यसले जन्मसँगै मानिसको स्तर निर्धारण गर्ने वैचारिकी लिएर आयो । त्यसका विरुद्ध दलित साहित्यले आदर्शवादी दर्शन, त्यसका तमाम धार्मिक पन्थहरू र विभिन्न शाखाहरूको विरुद्ध विज्ञानको पक्षमा भौतिकवादी पक्षपोषण गर्नुपर्छ । पहिलो विशेषता यही नै हो । दोस्रो, दलित साहित्यले जात व्यवस्थाद्वारा सिर्जित तमाम दुःख, पीडा र मानवताको विघटनलाई भण्डाफोर गर्नुपर्छ । तेस्रो, जात व्यवस्थाबाट सबैभन्दा पिँधमा अमानवका रूपमा थेचारिएको दलित जीवन यथार्थमा जात व्यवस्थाविरुद्ध सङ्घर्षमार्फत सबैलाई त्यस जाँतोबाट बाहिर ल्याउने नायकत्व हासिल गर्न सक्ने जीवन हो भन्ने सत्य उद्घाटन गर्नुपर्छ, अर्थात् दलित जीवनको नायकत्व हार्दिकतापूर्वक स्वीकार गर्नुपर्छ । चौथो, दलितको अवस्थालाई नै जात व्यवस्था भएको समाजको प्रगति र दुर्गतिको मानवका रूपमा स्वीकार गर्नुपर्छ । पाँचौँ, सबै उत्पीडित वर्ग र समुदायसँग शत्रुतापूर्ण होइन, मित्रतापूर्ण अन्तरविरोधको अवधारणाअन्तर्गत सङ्घर्ष र एकतालाई प्रस्तुत गर्न सक्नुपर्छ । छैटौँ, दलित जीवन र दलित अनुभूतिको प्रस्फुटनलाई प्राथमिकतामा राख्नुपर्छ । सातौँ, पुँजीवादी व्यवस्थाले जात व्यवस्थालाई सहवरण गरी त्यसको पुनरुत्पादनमा लागेकाले पुँजीवादी व्यवस्थाभित्रै मुक्ति खोज्ने चेतनालाई खारेज गर्नुपर्छ र पुँजीवादी व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था निर्माणको दिशामा प्रतिबद्ध हुनुपर्छ ।

भारतमा दलित समुदायका रचनाकारहरूले सिर्जना गरेको साहित्यलाई मात्रै दलित साहित्य मान्ने कि गैरदलित समुदायका रचनाकारका दलितमुक्ति विषयक रचनालाई पनि दलित साहित्य मान्ने भन्ने विवाद छ । यसलाई कसरी हेर्नुहुन्छ ?

– पहिलो कुरा त दलितका बारेमा मात्र होइन, जात व्यवस्थाविरुद्ध लेखिएको साहित्य दलित साहित्य हो भन्ने कुरा मैले माथि नै बताइसकेको छु । दोस्रो, दलितले लेखे मात्र दलित साहित्य मान्ने प्रचलन गलत छ । किनभने यस मान्यताले उत्पीडित साहित्यलाई अनन्त फुट विभाजनमा धकेल्छ, अर्कोतिर यस मतले ललितकलाका सबै विधा अनुभूतिको पुनर्सिजन हो भन्ने मान्दैन । साहित्य फोटो हुन्थ्यो भने मिल्थ्यो यो कुरा तर त्यस्तो त होइन । दलितले गर्ने अनुभूति अरूले गर्न सक्दैन भन्ने मान्यतामा नै यो मत टिकेको छ । तर अनुभूति मात्र कला सामग्री होइन । व्यक्तिको अनुभूति स्वयंले मात्र लेखेर साहित्य बनाउन थाल्ने हो भने त एकाध विधाका थोरै रचना मात्र गर्न सम्भव हुन्छ । आम रूपमा हेर्ने हो भने आत्मकथा पनि व्यक्ति एउटाको मात्र अनुभूति लेखेर टुङ्ग्याउन सम्भव छैन किनभने त्यहाँ आफू हुनलाई अन्तरविरोधी अर्को व्यक्ति पनि त हुनैपर्छ, त्यो अर्कोको अनुभूति त आत्मकथाकारले पनि लेख्नैपर्छ । तब आत्मानुभूतिबाट मात्र आम साहित्य कसरी सम्भव हुन्छ र ? दलित लेखकले दलित पात्रलाई नायक बनाएर उपन्यास लेख्दा गैरदलित पात्र खलनायकका रूपमा आउलान्, त्यस खलनायकको अनुभूति कसले लेख्ने त फेरि ? यो सिर्जनविधिसँग मिल्ने कुरा नै हैन । कि त एकालाप मात्र साहित्य मान्नुप¥यो जुन स्वतः गलत हुनेछ । दलित रचनाकारले दलितबारे लेख्दा बढी प्रामाणिक अनुभूति आउने सम्भावना हुन्छ, त्यसमा जोड पनि दिनुपर्छ तर त्यो नै आम सिद्धान्त बनाउन मिल्दैन । साहित्य सिर्जना अनुभूति र परानुभूतिलाई समअनुभूतिमा रूपान्तरण गरेर सम्भव हुने कुरा हो । त्यसैगरी सफल कलाका निम्ति प्रतिभा, सम्पत्ति, समर्पण र भौतिक परिवेश– तीनवटैको भूमिका हुन्छ । त्यसैले त भौतिक परिवेश एउटै भएका दुई लेखकमध्ये प्रतिभावान्ले अब्बल रचना दिन सक्छ, कम प्रतिभावान्ले त्यस्तो रचना दिन सक्दैन । समग्रमा दलित साहित्य जसले पनि लेख्न सक्छ– मुख्य कुरा लेखकले अनुभूति र परानुभूतिलाई समर्पणका साथ इमानदारीपूर्वक यथार्थको पुनःसिर्जनमा लगाउँछ कि लगाउँदैन भन्ने हो ।

नेपालमा दलित साहित्य चिन्तनको परम्परा किन कमजोर छ ?

– नेपालको राजनीतिले र बौद्धिकहरूले लामो समयसम्म दलित समुदायलाई राजनीतिले केन्द्रीय रूपमा सम्बोधन गर्नुपर्ने समूहका रूपमा स्वीकार नै गर्न सकेनन् किनभने जात व्यवस्थामा आधारित नेपाली समाजको संरचनालाई बुझ्न नै सकेनन् । भारतमा भने भीमराव अम्बेडकरले सन् १९२७ तिर नै दलित विषयलाई राजनीतिको केन्द्रीय विषयका रूपमा स्थापित गराइसकेका थिए, जस्तो विचारका आधारमा भए पनि । यी सबै परिवेशमा दलित साहित्य सिर्जन र त्यसबारेको बहस पनि पछि पर्नुका साथै कमजोर रहेको प्रस्टै छ । अझै पनि जात व्यवस्था र दलितबारे समग्रमा बुझ्ने आयाम आम बौद्धिकीमा बनिसकेको छैन, त्यसैले त यसबारे गहन चिन्तन, आलोचना, समालोचना अझै उपेक्षामा परेको छ । शासकीय धाराका चिन्तकहरू यस विषयमा गहन रूपमा प्रवेश गर्नै चाहँदैनन् किनभने दलित साहित्यको मन्थनलाई बढावा दिँदा उनीहरूले नेपालको साहित्यमा जबर्जस्ती निर्माण गरेका कैयौँ मानक र भाष्य भताभुङ्ग हुुन्छन्, जुन उनीहरूले चाहने कुरै भएन ।

दलित समुदायबाट विकसित भएर बौद्धिक क्षेत्रमा प्रतिष्ठा हासिल गरिसकेका स्रष्टाहरूले समेत दलित समस्यालाई आफ्नो लेखनमा उपेक्षा गरिरहेको वा कम महìव दिएको आरोप पनि छ । यस सन्दर्भमा रूपलाल विश्वकर्मादेखि तपाईंलाई समेत पनि जोड्ने गरेको देखिन्छ नि !

– यो आरोपभन्दा पनि एउटा दुःखद् यथार्थ हो तर विसं २०५० पछि यस अवस्थामा परिवर्तन आएको छ । दलित समुदायबाट विकसित भए पनि चिन्तनको माहोलको सूत्रधार त गैरदलित नै स्वतः भए, ०५० सालभन्दा अघि । गैरदलित स्थापित साहित्यकारले यस विषयलाई सूचीमै सामेल नगरेको माहोलमा दलित लेखकको दिमागको बनावट पनि मूलतः त्यस्तै बन्ने अवस्था रह्यो । गैरसाहित्य क्षेत्रमा २०४४ देखि नै म यस विषयमा राजनीतिक दस्तावेज (पर्चा आदि) लेखनमा छु तर साहित्यमा सचेत रूपमा सोझै हस्तक्षेप गर्ने साहस जुटाउन चाहिँ मलाई छ वर्ष जति लाग्यो । त्यतिबेलासम्म धेरैको हालत सायद त्यस्तै थियो । आज दलित वा गैरदलित एक हुल साहित्यकारले यस विषयमा कलम चलाउनुलाई गौरव महसुस गर्ने परिस्थिति बनेको छ, त्यो राम्रो पक्ष हो ।

नेपालको शासकीय धाराका समीक्षकहरू छुवाछुत र जातभातविरोधी साहित्य रचनाको जस पनि देवकोटा, समजस्ता ‘ठूला साहित्यकार’लाई दिन्छन् । यो समीक्षाको राजनीतिलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

– साहित्य राजनीति त होइन तर साहित्यमार्फत राजनीति आम रूपमै आउँछ, गरिन्छ । यस कोणबाट शासकीय धाराका समीक्षकहरूले आफ्नो शासकवर्गीय भाष्य समालोचनाका क्षेत्रमा निर्माण गर्नु वा यस किसिमका अवधारणा प्रस्तुत गर्नुलाई अनौठो मान्नुपर्ने केही देख्दिनँ । त्यसो त योगमायादेखि नै जातभातको विषय साहित्यमा उठेको छ । देवकोटा, सम, सिद्धिचरण आदि लेखकले दलित पात्र वा विषयलाई एकाध काव्यमा जुन प्रस्तुत गरे, त्यसको मूल स्वर दलितप्रति दया, करुणाको स्वर हो । धार्मिक कोणबाट भए पनि बरु योगमाया प्रखर देखिन्छिन् । उनी जात मान्दिनँ भन्छिन् । अरू चाहिँ जात व्यवस्था मान्छन्, केवल कथित तल्लो जातमाथि करुणा व्यक्त गर्छन्, कतै कतै छिटफुट आक्रोश पनि । त्यो आक्रोश व्यक्त गर्नेमा चाहिँ देवकोटा मात्रै प्रकट हुन्छन् । उनीहरूले जति गरे त्यति जस दिनु अन्यथा हुन्न । तर कवितामा प्रखर अभिव्यक्ति त केवलपुरे किसानले सुरु गरेका हुन्– २०१२ सालमा यस्तो लेखेर,
‘अछुतमा गनिएका दमाई, सार्की, कामी
चमार र पोडे, च्यामे, ती वादी र धामी
प्रजातन्त्र साँचै भए पाउँथे यिनले हक
केको हुन्थ्यो प्रजातन्त्र, खालि फोस्रो गफ ।’
त्यसैगरी गद्यमा चाहिँ २०११ सालमा ‘को अछुत ?’ उपन्यासमार्फत मुक्तिराम तिमल्सिनाले प्रखर अभिव्यक्ति दिएका हुन् । त्यसपछिको क्रम लामो बन्दैछ तर यस विषयमा प्रखर अभिव्यक्ति वा दलित साहित्यको वास्तविक जग राख्ने कामको जस भने केवलपुरे किसान र मुक्तिराम तिमल्सिनालाई नै जान्छ । यी दुवै सत्ताविरोधी थिए, त्यसैले शास्त्रीय धाराको समालोचनाले उनीहरूलाई अगाडि ल्याउन चाहेन तर सत्य त एक दिन अगाडि आइहाल्छ, आएकै छ ।
२०५० को दशकमा खगेन्द्र सङ्ग्रौलाको उपन्यास ‘जूनकीरीको सङ्गीत’ दलित साहित्यका रूपमा निकै बहस र विवादमा देखियो । सङ्ग्रौला स्वयंले अहिले त्यसको दोस्रो संस्करणका लागि सम्पादन–परिमार्जन गर्दै गरेको र भूमिकामा आत्मसमीक्षा गर्न लागेको मलाई बताउनुभएको थियो । दलित

सौन्दर्यशास्त्रका दृष्टिबाट त्यो कस्तो उपन्यास हो ?

– ‘सङ्ग्रामबहादुर सार्की’ लगायत दलितबारे उम्दा कथा लेखेका सङ्ग्रौलाको ‘जूनकीरीको सङ्गीत’ एउटा भीषण दुर्घटना मान्छु म । पहाडको दलित जीवन, उनका अन्तरवेदना र जात व्यवस्थासँगको भीषण अनि तीखो अन्तरविरोध त्यस उपन्यासमा शानदार ढङ्गले आएको छ तर दलित मुक्तिको विचार र सङ्गठनको बाटो चाहिँ प्रायोजित गैरसरकारी संस्थालाई बनाइयो । त्यति मात्र हैन कमजोरी हुँदाहुँदै पनि उत्पीडितहरूको मुक्तिको निम्ति अघि बढेको माओवादी आन्दोलनलाई ‘राँके भूत’को बिम्बमा खिल्ली उडाइयो, जुन सङ्ग्रौलाबाट स्वाभाविक रूपमा गरिने अपेक्षाको भीषण दुर्घटना सिवाय अरू केही थिएन । त्यस उपन्यासलाई शिखरमा पुग्नुभन्दा केही पाइलाअगाडि भीरबाट लडेको पर्वतारोहीसँग तुलना ठीक हुन्छ सायद । त्यो दलित साहित्य बन्न सकेन ।
नेपालको माक्र्सवादी समालोचना जगत्ले (तपाईं समेत) दलित साहित्यको सौन्दर्यशास्त्रलाई माक्र्सवादी व्याख्या गर्ने र समाजवादी दृष्टिकोण दिने कोसिस गरेको देखिन्छ । त्यसै धाराका केही समालोचक त माक्र्सवादी सौन्दर्यशास्त्र भनेपछि दलित सौन्दर्यशास्त्र भनिरहनु पर्दैन पनि भन्छन् । माक्र्सवादी

सौन्दर्यशास्त्र र दलित सौन्दर्यशास्त्रका समानता वा भिन्नतालाई कसरी बुझ्ने ?

–आम रूपमा संसारभरि नै वर्गीय समाज छ,
त्यसैले वर्ग सङ्घर्ष समाजशास्त्रको क्षेत्रमा मुख्य प्रवर्ग हो । जबसम्म वर्ग रहन्छ, वर्ग सङ्घर्ष चलिरहन्छ । त्यसको समाधानको विधि माक्र्सवादले बताउँछ । तर हरेक समाजमा वर्ग सङ्घर्षका अलावा अन्य सामाजिक प्रवर्गहरू पनि रहन सक्छन्, रहन्छन् नै । जात व्यवस्था भएको समाजमा जातीय सङ्घर्ष एउटा सामाजिक प्रवर्ग हो । जात व्यवस्था रहेसम्म त्यो प्रवर्ग रहिरहन्छ, त्यसैले सापेक्षित स्वायत्ततासहित त्यो प्रवर्गले समाजको सबै क्षेत्रमा प्रभाव देखाउँछ । जातीय सङ्घर्षवाला प्रवर्गले स्वाभाविक रूपमा आफ्नो साहित्य र सौन्दर्यशास्त्र निर्माण गर्छन् नै । तर ख्याल राख्नुपर्ने के हो भने सबै प्रकारका उत्पीडनहरूले सारमा निर्माण गर्ने भनेको वर्ग फासला नै हो, वर्गीय अन्तरविरोध नै हो । जात व्यवस्थाभित्रको उत्पीडनको सारले पनि अन्ततः गर्ने त सांस्कृतिक बहिष्करणसहितको शोषित वर्गको निर्माण नै हो । माक्र्सवादले आम रूपमा वर्गीय र वर्गीय मातहत वा वर्गीयसँग सम्बन्धित भएर चलायमान हुने अन्तरविरोधहरूको छिनोफानोको मूल विधि निर्धारण गर्ने हुनाले माक्र्सवादी सौन्दर्यशास्त्र छाता जस्तै मुख्य हो । दलित सौन्दर्यशास्त्र चाहिँ त्यस मातहतको प्रवर्गसँग सम्बन्धित सौन्दर्यशास्त्र हो । शोषितहरू, उत्पीडितहरू फरक फरक गन्तव्यमा पुगेर त मुक्त हुन सक्दैनन् भनेजस्तै सौन्दर्यशास्त्र पनि उनीहरूको आधारभूत रूपमै अन्तरविरोधी हुन सक्दैनन्, बरु एक अर्कासँग सम्बन्धित हुनु अनिवार्य छ ।

गणतन्त्र स्थापना (२०६५) यताको एक दशकमा प्रकाशित साहित्यमा दलित सौन्दर्यशास्त्रीय कोणबाट प्रशंसा गर्न लायक रचना कत्तिको पाउनुभएको छ ?

– लेख्ने मात्रा बढेको छ । एउटा कविता सङ्ग्रह निकाल्दा थुप्रै कविहरूले एउटा कविता त दलितबारे परोस् भन्ने स्तरमा र आख्यानमा पनि दलित पात्रहरूमाथि अन्याय नहोस् भन्ने स्तरमा चेतना विकसित भएको पाउँछु । केही राम्रा रचना पनि अवश्य आएका छन् तर प्रशस्त स्तरीय रचनाका लागि अझै कुर्नुपर्ने हो कि जस्तो लाग्छ ।

मधुपर्क असोज कात्तिक २०७७

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?