पत्रकारितामा पाठक नै न्यायाधीश

अन्तरवार्ता |


2019-10-21-2970


नेपाली पत्रकारिताको भाषा शिष्ट भए नभएको बहस अहिले चर्चामा छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असोज २८ गते नेपाल प्रज्ञाप्रतिष्ठानको एक कार्यक्रममा पत्रकारले आफ्नो बुवालाई पनि तिमी भन्छन् भनेर टिप्पणी गर्नुभएपछि पत्रकारिताको भाषामा थप बहसको खाँचो आवश्यकता महसुस भयो । नेपाली पत्रकारिता (खासगरी निजी मिडिया) ले हरेक हैसियतका व्यक्तिलाई सम्बोधन गर्न प्रयोग गर्दै आएको भाषा ‘तिमी’ उचित छ कि छैन, नेपाली पत्रकारिताको भाषालाई अझ आदरार्थी बनाउने कि मध्यम आदरार्थीमै सीमित राख्ने ? यस विषयमा बहस गर्न वरिष्ठ पत्रकारहरू ध्रुवहरि अधिकारी, शरच्चन्द्र वस्ती तथा गोविन्द अधिकारीलाई गोरखापत्र संवादमा निम्त्याएका छौँ । प्रस्तुत छ– उहाँहरूसँग गरिएको संवादको सम्पादित अंश–

नेपाली भाषामा व्यक्तिलाई सम्बोधन गर्न तँ, तिमी, तपाईंलगायतका शब्द छन् तर खासगरी कतिपय निजी मिडियामा जुनसुकै हैसियतका व्यक्तित्वलाई पनि तिमी प्रयोग गरिएको देखिन्छ । प्रधानमन्त्रीले नै यस विषयमा कुरा उठाउनुभयो । नेपाली पत्रकारितामा आदरार्थी शब्दको प्रयोग कसरी गर्नुपर्ला ?

ध्रुवहरि : भाषा प्रयोगमा एउटा सन्दर्भ भन्ने महŒवपूर्ण हुन्छ । सीमाभन्दा बाहिर गएर, सन्दर्भ छुट्याएर भन्दा गलत अर्थ लाग्छ । प्रधानमन्त्री ओलीले उठाउनुभएको भाषाको कुरा जायज हो । पत्रकारिता समाजकै अङ्ग हो । समाज जस्तो छ, त्यस्तै देखिनुपर्छ । पत्रकारिताले समयअनुसार दिशानिर्देश पनि गर्नुपर्छ । पाठक, दर्शक, श्रोता जसको हामीले सेवा गर्ने हो, त्यो चेतनास्तरअनुसार सम्बोधन गर्नु उपयुक्त हुन्छ । पाठकलाई दिशाबोध पनि गराउनुपर्छ । गोरखापत्रकै तत्कालीन सम्पादक रामराज पौड्यालले लेख्नुभएकै छ– पत्रकारिता शिष्ट पथप्रदर्शक हो तर शिक्षकचाहिँ होइन । गोरखापत्रले ‘तपाईंं’ प्रयोग गर्छ । निजी मिडियाले ‘तिमी’ प्रयोग गर्दै आएका छन् । गाउँघरमा अहिले पनि बा–आमालाई तिमी भनेको पनि सुनिन्छ । तर जे चलेको छ, त्यही मापदण्ड हो वा हुनुपर्छ भन्ने सही होइन । आदरार्थी शब्दको प्रयोग नेपाली भाषामा मात्र होइन, संसारका सबै भाषामा पनि हुन्छ । साहित्यिक रचनामा पनि तिमी शब्द धेरै प्रयोग गरेको भेटिन्छ । कथ्य र लेख्यमा भने तालमेल मिलाउनुपर्छ ।

गोविन्द : प्रधानमन्त्रीको आफ्नो शैली छ । उहाँले भन्नुभएको कुरामा धेरै बहस गर्नुपर्दैन होला । तर, हामीले जे अभ्यास गरिरहेका छौँ, त्यसमा कति अडिग छौँ ? गोरखापत्रले तपाईं अभ्यास गरिरहेको छ । हामी निजी मिडियामा तिमी प्रयोग गरिरहेका छौँ । पत्रकारितामा सम्बोधन गर्दा ‘तिमी’ प्रयोग सुरु गर्दाको अनुभव छ मसँग । पुरुष राजनीतिकर्मीलाई तपाईं, महिलालाई तिमी भन्ने प्रचलन पनि देखियो । दलितलाई तिमी र तँ नै अभ्यास देखियो । त्यो विभेदको चलन हटाउन तिमी चलाइयो । त्यो पनि बहस गरेरै चलाइएको हो । राजतन्त्र छँदा यो बहस भएको हो । राजपरिवारका सदस्यलाई तपाईं चलाउँ तर अन्यलाई तिमी चलाउँ भन्ने सहमति भएको हो । तिमी शब्द पनि आदरार्थी शब्द नै हो । प्रधानमन्त्रीले सामाजिक सञ्जालको विषयलाई इङ्गित गर्नुभएको त होइन ? सामाजिक सञ्जालको भाषा त आपत्तिजनक नै छ । तर, नेपाली मिडियाले तिमी शब्द नै बढी प्रयोग गरेको छ । र, यही भाषा नै रहनेजस्तो मलाई लाग्छ । संसारका सबै पुराना भाषामा श्रेणी छ । सबै सामन्ती संस्कारबाटै भाषा परिष्कृत हुँदै आएको हो । बिस्तारै समान आदरणार्थी प्रयोग गर्ने प्रचलन पनि सुरु भएको छ । अङ्ग्रेजी र हिन्दीमा आदरणार्थी भाषा एउटै प्रयोग भएको पाएको छु । त्यसैले तिमीको प्रयोग उपयुक्त नै छ । प्रधानमन्त्रीले तिमी प्रयोगमा यति धेरै चित्त दुखाउनुपर्ने म देख्दिनँ ।

शरच्चन्द्र : प्रधानमन्त्रीले भाषाको प्रयोगबारे चासो राख्नुभयो, यसर्थ म उहाँलाई धन्यवाद दिन्छु । अरू मन्त्री, सांसद, पत्रकारले पनि भाषा प्रयोगलाई उपेक्षा गरेको अवस्थामा यो विषय उहाँले उठाइदिनुभयो । उहाँले भाषा बिगार्न हुन्न चिन्ता उठाएर बहसमा ल्याइदिनुभयो, ठीक गर्नुभयो । उहाँले के सन्दर्भमा भन्नुभयो, त्यो गौण विषय हो । पत्रकारिता समाजको दर्पण हो भनिन्छ । समाजले एककिसिमको व्यवहार गरिरहेको छ, विभिन्न तहको आदरार्थी प्रयोग गरिरहेको छ, पत्रकारिताले तीभन्दा अर्को गर्नुपर्ने होइन । समाजका आदरार्थीका ती तहबाट पत्रकारिता अलग हुन सक्दैन । समाजको व्यवहारबाट अलग भएर पत्रकारिता चल्न सक्दैन । त्यसरी गर्नु पनि हुँदैन । पत्रकारिताले समाजलाई लिड (नेतृत्व) गर्न, पहल गर्न सक्छ तर क्रान्ति गर्ने होइन । कस्तो हुनुपर्छ भनेर बाटो देखाउने हो पत्रकारिताले । तर, समाजलाई असहज महसुस हुनेगरी होइन, सजिलो तरिकाले गर्नुपर्छ । त्यसले भाषाप्रति न्याय हुन्छ । लठ्ठी देखाएर भाषा परिवर्तन गर्न सकिँदैन । त्यसले भाषालाई नै ध्वस्त पार्छ ।
पत्रकारितामा ‘तिमी’ प्रयोगका पछाडि उम्लेको उत्साह देख्छु म त । अलि बढी क्रान्तिकारी, अग्रगामी, क्रान्तिकारी देखिनुप¥यो भन्ने धारणाले काम गरिरहेको छ । अनि त्यो उत्साहले सबैलाई तिमीको गुजुल्टोमा हाल्न खोजेको देखिन्छ ।
अर्कोतर्क अङ्ग्रेजीमा ‘यु’ चलेको छ भन्ने छ । अङ्ग्रेजीमा यसो भनेको छ, त्यो सही हो, हामी खत्तम भन्ने हीनभावनाको उपज हो । एकदम निन्दनीय काम गरेकालाई पनि अङ्ग्रेजीमा ‘यु’ भन्छ । त्यही नजिकै खुट्टामा ढोग्ने मान्छेलाई पनि ‘यु’ भनिएको छ । यसमा अङ्ग्रेजीको बानी प¥यो । तर, हामीले त्यसो गर्नुहुँदैन । अङ्ग्रेजीमा ‘यु’ भनेर चलेको छ, हामी त्योभन्दा ठूलो हुन किन चाहियो भन्नेखालको धारणाले काम गरेको छ, तिमी प्रयोगमा ।
अर्को आफ्नै अक्षमताका कारण तिमी शब्दले व्यापकता पाएको छ । २०५६ मा एक पाक्षिक पत्रिका चलाउनेक्रममा कुन भाषा प्रयोग गर्ने बहस चलेको थियो । राजा र प्रधानमन्त्रीलाई तपाईं भनौँ भन्ने भयो । त्यसलाई मान्छेले असहज मानेको देखिएन । तपाईं को कसलाई
भन्ने ? राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, न्यायाधीश कस–कसलाई भन्ने ? यो निक्र्यौल गर्ने आँट नआउने अनि त्यसको सिकार भाषालाई बनाउने ? अङ्ग्रेजीमा यस्तो चलेको छ भनेर हामीसँग भएको भाषा प्रयोग नगर्नु गरिबी हो ।
पत्रकारिताले नेतृत्व लिएर आदरार्थीमा जानैपर्छ । सबैलाई सहज हुने किसिमले अगाडि बढ्नुपर्छ । तिमी मध्यमखालको आदरार्थी शब्द हो । यो दायरालाई फराकिलो पारेर नेपाली पत्रकारिता अगाडि बढ्नुपर्छ । तपाईं शब्दलाई बहिष्कार गरेर जानुहुँदैन । पत्रकारले अतिथिसँग तपाईं भनेर प्रश्न गर्छन् तर लेख्दा तिमी लेख्छन्, यो सभ्यता भएन । तिमी र तपाईं दुवैलाई प्रयोग गरेर जाँदा राम्रो हुन्छ । हाम्रो छिमेकी भारतको पत्रकारिताले ‘आप’ प्रयोग गर्छ । यो आदरार्थी शब्द हो ।

मिडियाको भाषामा एकरूपता आउन सक्ने विषय हो कि होइन ? राष्ट्रपतिलाई भन्ने बेला तपाईं भन्ने तर लेख्दा तिमी किन ? जनताको छोरालाई तिमी भन्दा उसलाई राम्रो लाग्दैन भने पत्रकारितामा किन तिमी प्रयोग गर्ने ?

ध्रुवहरि : नेपाली भाषा सम्पन्न छ । त्यसलाई साँघुरो बनाउने सोच भयो । तिमी भनेको भाषालाई साँघुरो बनाउने सोच हो । ‘महिला, स्वास्नीमान्छे, आइमाई, श्रीमती’ सबै प्रयोगमा छ । तर, आदरणार्थी शब्द ‘महिला’ हामीले प्रयोग गरिरहेका छौँ । तँ, तिमी, तपाईं भाषाको विशेषता होइन । भाषा समृद्धिको परिचायक हुनुपर्छ । हीनभावना लिएर हामी बस्न मिल्दैन । सन्दर्भअनुसार तँ पनि आदरणार्थी हुन्छ । तिमी, तपाईं पनि आदरणार्थी नै हो । हामीले बोलीचालीमा दाइ, भाइ, दिदीबहिनी, बुवा, आमाको प्रयोग गर्छौं । स्नेहवश बच्चालाई तँ, तिमी पनि भन्छौँ । बच्चालाई तपाईं भन्न थाल्यो भने बच्चाले नै अनौठो महसुस गर्छ । मेरो भाइलाई तपाईं भन्न थालेँ भने उसले टाढा भएको महसुस गर्छ । सन्दर्भअनुसार तँ, तिमी, तपाईं, हजुर भन्नुपर्ने हुन्छ । पञ्चायतकालमा पनि चौतारीमा राजा भेटिए भन्ने गीत नै थियो । तर, त्यसमा कारबाही भएको त थिएन । लक्ष्मीप्रसाद देवकोटाको हे ईश्वर मलाई अझ दुःख दे ! भनेको कविता नै छ । भगवान् रिसाएका त छैनन् होला ! त्यसैले भाषा प्रयोगको सन्दर्भ हुन्छ । बहुलवाद भनेका छौँ तर आफूसँग भएको भाषा प्रयोगमा किन त्यो नमान्ने ?
राजाले यसअघि प्रधानमन्त्रीलाई पनि तिमी भन्थे । त्यो परम्परा पाच्य भएन भनेपछि तपाईं भन्न थालेका थिए । सबैभन्दा ठूलो कुरो सन्दर्भ र प्रसङ्ग हो । त्यसअनुसार सम्बोधन गर्नुपर्ने हुन्छ । भाषा प्रयोगमा खुम्चिने होइन, दायरा फराकिलो नै बनाउनुपर्छ । विकल्प पनि बढाउँदै जानुपर्छ ।

गोविन्द : ‘तिमी’को प्रयोग भएको दुई दशक भइसक्यो । निजी क्षेत्रका मूलधारका सबै मिडियाले तिमी शब्द प्रयोग गरिरहेका छन् । पाठकबाट आपत्ति भएको सुनिएको छैन । ती मिडियाका शैलीपुस्तिका बनाउने बेलामा पनि त्यस विषयमा बहस भएकै हो । ओहदामा रहेकाहरूले पनि तिमी लेख्दा चित्त दुखाएको देखिएको थिएन । पछिल्लो समय प्रधानमन्त्रीले प्रश्न उठाउनुभयो । तर, यसअघिका प्रधानमन्त्रीहरूले त्यसमा कुरा उठाएको देखिँदैन । तर, हामी कता गइरहेका छौँ ? समाजमा तिमीको प्रयोग बढेको छ कि घटेको छ ? यसमा पनि ध्यान दिउँ । अहिलेका केटाकेटीहरूले आफ्नै बुवाआमालाई तिमी भनेको सुनिन्छ । ‘सियो’ फेरि ‘तिमी’ तिर फर्किएको पो हो कि ! तिमी शब्द आदरणार्थी शब्द नै हो । समाजलाई विभाजनको खुड्किलातिर लग्ने होइन, घटाउँदै जाने हो । मिडियाले त्यसमा ध्यान दिनुपर्छ ।
शासकहरूको चाहना आफूलाई अरूभन्दा बेग्लै ठान्ने प्रवृत्ति थियो, छ । त्यो मान्यता राख्न पाइन्छ । तर, समाज त्यो मान्यतातर्फ गएको छ कि छैन ? यो अहम् प्रश्न हो । समाज समानतातिर उन्मुख छ अहिले । तिमी शब्दको अभ्यास भइसक्यो फेरि तपाईं, हजुरमा लग्नु उचित हुँदैन । तिमी अभ्यास गर्नेहरू त्यही प्रयोग गरून्, तपाईं प्रयोग गर्ने मिडियाले तपाईं प्रयोग गरून् । यो नै ठीक छ । तिमी लेख्दा धेरै अवमूल्यन भइहाल्ने पनि होइन ।

शरच्चन्द्र : यो बहस भइरहँदा कहाँनेर के गर्ने नै निश्चित भएन । हामीले पर्गेल्न सकेनौँ । समाज जतातिर जाँदै छ, त्यसलाई अझ फराकिलो पार्नुपर्छ तर समाजलाई नै असजिलो पार्नेगरी होइन । चित्त नबुझी–नबुझी नबोल्ने पनि हुन्छन् समाजमा । नेपाली पत्रकारिताले तिमी प्रयोग गर्दा हामीले ठीक गरेका छौँ भन्ने पनि नठानौँ । समाजमा यसबारेमा अझसम्म कुनै सर्वेक्षण भएको छैन । मिडियाले तिमी या तपाईं शब्द प्रयोग गर्दा पाठक, स्रोतले कुन रुचाएका छन् भन्ने सर्वेक्षण गरेको छ र ? गरेको छैन । हामी अझै भ्रममै बाँचिरहेका छौँ कि !

नेपाली पत्रकारितामा भाषाको स्वीकार्य मापदण्ड लागू गर्न सम्भव छ कि छैन ? ‘तिमी’ नै किन प्रयोग गर्ने ? ‘तपाईं’ प्रयोग गर्दा के बिग्रन्छ ?

शरच्चन्द्र : मापदण्ड बनाउन सकिन्छ, यो भइसकेको छ । तर, अलिकति आधुनिक हुनुप¥यो भनेर भएको आफ्नो सम्पत्ति गुमाएर दरिद्र हुनु महान्ता हो भन्ने हीनमानसिकताले उत्प्रेरित हुनुको अन्तिम परिणति भाषिक दरिद्र हुनु हो । भएको कुरा छाडेर दरिद्र हुँदे जानेखालका कुराहरू लामो समयदेखि हाम्रो दिमागमा हलिएका छन् । त्यसको सिकार भइरहेका छौँ, भाषामा पनि । राम्रो भाषामा धेरै विविधता, तह हुन्छन् । त्यो सामन्तीपन होइन । तपाईं प्रयोग गर्दा केही बिग्रने होइन । अघि ईश्वरलाई तँमात्र होइन, भगवान् कृष्णलाई पनि दही चोर्ने, कपडा, पाप चोर्ने चोरको सरदार भनेको पनि पाइन्छ । तर त्यो सन्दर्भ, शैलीको कुरा पनि हुन्छ । तिमीमा सीमित हुनु भनेको दरिद्रता हो, यसको दायरा बढाउनैपर्छ । आफ्नो परिचय, स्वाभाविकता मेटिनेगरी भाषाको प्रयोग गर्नु उचित हुँदैन । सबैलाई तिमी भनेर हामी महान् हुने धारणाबाट मुक्त हुँदामात्र आफ्नो भाषाप्रति गौरव गर्ने हुन्छौँ । शिष्ट हुनु, सभ्य देखिनु कमजोरी होइन । मिडियाले अरूलाई सम्मान गर्दा अरूले पनि मिडियालाई सम्मान गर्छन् । पत्रकारितामा शिष्ट, सभ्य भएर प्रस्तुत हुँदा पत्रकार तल पर्ने होइन । झन् सम्मान बढ्दै जान्छ ।

गोविन्द : मापदण्ड तय भइसकेकै छ । तिमी चलाउनेको मापदण्ड त्यही हो । तपाईं चलाउनेको मापदण्ड त्यही हो । गोरखापत्रको मापदण्ड तपाईं हो भने निजी मिडियाको तिमी मापदण्ड बनिसकेको छ । ‘तिमी’ पछि ‘तपाईं’ चलाउँदा भोलि ‘हजुर’ किन नचलाउने भन्ने प्रश्न आउला । कहाँसम्म पुग्ने हामी ? समाजलाई त्यतातिर लग्ने कि नलग्ने ? अहिले जे चलेको छ, त्यही नै स्टान्डर्ड (मापदण्ड) हो भन्ने मलाई लाग्छ । आफ्नोपन भनेको कसलाई भन्ने ? तिमी पनि नेपालीपन नै हो । दौरा–सुरुवाल नेपालीपन हो भने सबै ठाउँमा त्यो लगाइँदैन । परम्परागतमै टाँसिनु राम्रो त होइन । तर, पत्रकारिताले लाद्ने कुरा गर्नुहुँदैन । ‘तपाईं’ नै प्रयोग गर्नू भनेर पाठकलाई लाद्ने हो भने उचित हुँदैन । आफूले गरेको अभ्यास आफँैलाई ठीक लागेन भने सच्चिनुपर्छ । तर, ठीक लागेको छ भने त्यो नै अभ्यास गर्दा हुन्छ । हाम्रो समाजमा विविधता छ । सबैलाई एउटै शब्दमा बाँध्ने र लाद्ने प्रवृत्ति ठीक हुँदैन । गोरखापत्रले तपाईं प्रयोग गरोस् । तिमी शब्द समाजलाई निर्णय गर्न छाडिदिऊँ ।

ध्रुवहरि : मापदण्ड त अहिले न्यूनतम रूपमा भएकै छ । निजी मिडियाले तिमी शब्द चलाइरहेका छन् । सरकारी मिडियाले तपाईं चलाइरहेका छन् । गोरखापत्रले चलाएको तपाईं भाषाको म तारिफ गर्छु । केही समय म आफैँ पनि यसमा काम गरेँ । तर, यसको अर्थ काम गरेकै कारण गोरखापत्र ठीक भनेको होइन । गोरखापत्र पुरानो संस्था हो । यसको आफ्नै मापदण्ड स्थापित भइसकेको छ । गोरखापत्रले धेरैले धेरैलाई सिकाएको छ । यो अगुवा भूमिकामै रहनुपर्छ । ११९ वर्ष पूरा भइसकेको संस्थाले अरूलाई सिकाउने भूमिकामै कायम राख्नुपर्छ । अरूले तिमी प्रयोग गर्छन् भन्दैमा गोरखापत्र त्यता लाग्नुपर्छ भन्ने छैन, आफ्नो विशेषता कायम राख्नुपर्छ । पत्रकारिता भनेको शिक्षक होइन, मार्गनिर्देशक मात्र हो । तर पाठकलाई भाषामा बाँध्नु र लाद्नु पनि उचित होइन । पाठक, श्रोता अहिले धेरै जान्नेसुन्ने छन् । कमजोर ठान्नुहुँदैन । ओहदामा रहेका जननिर्वाचित प्रतिनिधि, सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिको सम्मान गर्नु भनेको मतदाताकै आदर गर्नु हो । यो आदर संसारभर नै छ । पत्रकारिताले मर्यादा राख्दा राम्रो नै हुन्छ । विदेशी मिडियाले नामका अगाडि मिस्टर, श्रीमती प्रयोग गर्छन् तर हामी सिधै तिमी लेखिदिन्छौँ । शिष्ट रूपमा प्रस्तुत हुँदा समाज र हाम्रा लागि राम्रो नै हुन्छ । गोरखापत्रबाटै नेपाली भाषा सिकेका मानिस पनि छन् यहाँ । त्यसैले गोरखापत्रले आफ्नो विशेषता कायम राख्नैपर्छ ।

भाषा बिग्रनु नेपाली भाषाको समस्या हो कि पत्रकारिताको हो ? पत्रकारले आफूलाई ‘तपाईं’ को अपेक्षा गर्छ भने अरूलाई किन तिमी भन्ने ? अन्तरवार्ता लिँदा तपाईं भनेर लिन्छ भने लेख्दा तिमी किन ? के अपराधीलाई पनि तपाईं भन्ने ?

ध्रुवहरि : हामी ‘ट्रेन्ड सेटर’ हौँ । मिडियाजति अरूले भाषाको प्रयोग गर्दैनन् । त्यसपछि वकिलहरूले गर्छन् । समाजको दिशानिर्देशक हो पत्रकारिता । दायित्वभित्र पनि पर्छ यो । तर, पत्रकार शिक्षक भने होइन । रामराजा पौड्यालले भनेअनुसार पत्रकार शिष्ट पथप्रदर्शक हो । पत्रकारिता भाषासँगै सम्बन्धित छ । हामी सिंहदरबारको भाषा होइन, जनताकै भाषा प्रयोग गरिरहेका छौँ । जनताले कसरी बढीभन्दा बढी सरल रूपमा बुझ्न सक्छन्, त्यो भाषा प्रयोग गर्नुपर्छ । मान्छन्, मान्दैनन्, लठ्ठी देखाएर मनाउने भने होइन । आमसञ्चारमाध्यमको आधार भनेकै छापा माध्यम हो । पथप्रदर्शक हुनलाई पनि पत्रकारसँग क्षमता हुनुपर्छ । क्षमता वृद्धि सँगैसँगै गर्नुपर्छ । भाषामा दख्खल त पत्रकारमा हुनुपर्छ । हामीले आफ्नो शैली पुस्तिका पनि समय–समयमा परिमार्जन गर्दै जानुपर्छ । भानुभक्तको पालाको शब्द भण्डारले मात्र त पुग्दैन । चुनौती फराकिलो बन्दै गएका छन्, त्योअनुसार हाम्रो पेसालाई पनि परिष्कृत गर्दै जानुपर्छ ।

गोविन्द : ध्रुवहरिजीको भनाइमा सतप्रतिशत सहमति जनाउँदा हुन्छ । तर, मेरो भनाइ के छ भने अरूको अभ्यासभन्दा आफ्नो अभ्यास परिष्कृत गरौँ । गोरखापत्रले पनि विभिन्न भाषा प्रयोग गर्छ । मुनामा एउटा, युवामञ्चमा अर्को र गोरखापत्रले अर्को प्रयोग गर्छ । पाठकलाई नै छाडिदिउँ यो भाषाको कुरा । पाठकले जसलाई मन पराउँछ, त्यही ‘ब्राण्ड’ बिक्छ । तर्क त आ–आफ्ना हुन्छन् नै । अभ्यास व्यक्तिपिच्छे फरक पर्ने कुरा हो । एउटै भाषा, एउटै भेष बनाउनतिर नजाउँ । भाषाको समस्या पनि होला, पत्रकारिता पनि होला ।

शरच्चन्द्र : यो पत्रकारिताकै समस्या हो, भाषाको हुँदै होइन । सम्मान गर्दा कोही सामन्ती हुने होइन । कसलाई के भन्ने निक्र्यौल हामीले नै गर्नुपर्छ । एउटै व्यक्तिभित्र पनि फरक–फरक भनाइ छ, प्रकाशनको हुनु स्वाभाविक हो । समाचारमा एउटा भाषा, उद्धरणमा फरक भाषा प्रयोग गरेको हामी देख्छौँ । पत्रकारलाई पनि तिमी भनेको त मन पर्दैन नि । पत्रकार मङ्गलग्रहबाट आएको होइन । हामी कता जाने बाटो आफैँले बनाउने हो । सम्मान गर्दा कोही तल पर्ने होइन । अपराधीलाई तपाईं भन्ने कि नभन्ने पनि पत्रकारितामा बहस छ । तर, ऊ दोषी हो भने सम्मान गर्नुहुँदैन । दोषी हो कि होइन, अदालतले ठहर गर्ने हो, पत्रकार आपंmैँले प्रमाणित गर्ने होइन । भाषालाई खेलाउने पेसा पत्रकारिता हो भने राम्रोसँग खेलाउँ । त्यो क्षमता बढाउनुप¥यो । अरूको आदेशबाट होइन, आफ्नो भाषा कस्तो बनाउने हामी आफैँले निर्णय गर्ने हो । सभ्य समाज बनाउने हो भने आदरार्थी शब्द प्रयोग गर्नैपर्छ । भाषाको मामिलामा पत्रकारिताले अग्रसरता लिनुपर्छ तर समाजलाई असजिलो नहुनेगरी गर्नुपर्छ । हामीले तिमी प्रयोग गर्ने कि तपाईं भनेर जनता, पाठकको मत लिएका छैनौँ । हामी आफैँ जान्ने भएका छौँ । त्यो लिने तहमा जानुपरे जाउँ । ‘तिमी’को दायरा अलिकति फराकिलो बनाउनुपर्छ । ‘तपाईं’लाई निमिट्यान्न पार्ने होइन । आवश्यक परेको ठाउँमा तँ, तिमी र तपाईं प्रयोग गर्नुपर्छ । हाम्रो पत्रकारितामा ‘भाषा’ न हाँसको चाल न कुखुराको चाल हुनुहुँदैन ।

प्रस्तुति : लक्की चौधरी
तस्बिर : रमेश क्षेत्री  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?