logo
२०८१ बैशाख १५ शनिवार



डेङ्गुको प्रतिरोधी खोप छैन, सचेतना आवश्यक

अन्तरवार्ता |


डेङ्गुको प्रतिरोधी खोप छैन, सचेतना आवश्यक


अहिले देशभर डेङ्गुको सन्त्रास छ । पोथी लामखुट्टेले टोकेर हुने डेङ्गु नियन्त्रणका लागि सरकारले आफ्ना सबै निकायलाई सक्रिय बनाएको छ । काठमाडौँ उपत्यकासहित तराई र पहाडका जिल्लामा समेत फैलिएको डेङ्गु नियन्त्रण र रोग लागेपछि त्यसको उपचार विधिका बारेमा केन्द्रित भएर छलफल गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. विवेककुमार लाल, वरिष्ठ जनस्वास्थ्यविद् प्रा.डा. शरद वन्त र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सलटेन्ट तथा प्रवक्ता डा. अनुप बाँस्तोलालाई गोरखापत्र संवादमा निम्त्याएका छौँ । प्रस्तुत छ– उहाँहरूसँग गरिएको संवादको सम्पादित अंश– 

डेङ्गु रोगबारे अहिले समाजमा निकै त्रास छ, खासमा के हो डेङ्गु ? अहिलेको अवस्था कस्तो छ ?

डा. बाँस्तोला : सन् २००४ मा देखिएको डेङ्गु नेपालमा २००६ मा प्रमाणित भयो । काठमाडौँ, पोखरा, पहाडका बासिन्दाले यसलाई तराईको रोगका रूपमा मात्र चिन्थे । अघिल्लो वर्ष यो रोग काठमाडौँमा प्रवेश ग¥यो । यो वर्ष प्रकोपका रूपमा काठमाडौँ, पोखरा, धरानमा देखियो । काठमाडौँ नै जोखिममा परेपछि केन्द्रमा यसको बहस सुरु भयो । अहिले काठमाडौँमा बिरामीको सङ्ख्या बढेको छ । पहिला लामखुट्टे सङ्क्रमित थिएन तर अहिले छ । काठमाडौँमा विभिन्न क्षेत्रबाट मान्छे आउँछन् र सङ्क्रमित भएर जान्छन् ।
बर्खा लागेर पानी जमेको ठाउँमा लामखुट्टे हुर्कियो । लामखुट्टेको चार किसिमको प्रजाति हुन्छ । डेन वान, डेन टु, डेन थ्री र डेन फोर । विशेष प्रकारको लामखुट्टे (एडिस्, एजेटाइस, क्युलेक्स, एनोफिलिस) ले टोकेपछि डेङ्गु हुन्छ । एडिसले चारवटा रोग सार्छ । डेङ्गु, हात्तीपाइले, चिकनगुनिया र जिका । यी चारवटा मुख्य रोग यसले सार्छ । साँझ बिहान लामखुट्टेको सक्रियता बढी हुन्छ । लामखुट्टे दिउँसोमात्र होइन, साँझ बिहान, राति जुनसुकै बेला सक्रिय रहन्छ । सर्वसाधारणमा लामखुट्टेले दिउँसो टोकेमात्र डेङ्गु सर्छ भन्ने भ्रम देखिएको छ कि,
त्यस्तो होइन ।
लामखुट्टले टोकिसकेपछि चारदेखि १२ दिनभित्र यसको लक्षण देखिन्छ । दस हजारमा लामखुट्टेले टोक्यो भने एक सयमा त्यो लक्षण देखिन्छ । सबैमा देखिँदैन । हात खुट्टा दुख्ने, जोर्नी दुख्ने, ज्वरो आउने, ढाड दुख्ने, आँखाको गेडी दुख्ने, वाकवाकी लाग्ने, खाना नरुच्नेजस्ता लक्षण देखिन्छ । डेङ्गुमा उल्टी बढ्यो, रगत देखियो, पेट धेरे दुख्यो भने जटिल डेङ्गु भएको मानिन्छ । आन्द्राबाट रक्तश्राव पनि हुन सक्छ । यसको भाइरसले रक्तनली नै लिकेज गरिदिन्छ । त्यसले समस्या उत्पन्न हुन्छ । समयमा उपचार नपाउँदा मान्छेको मृत्यु हुन जान्छ । हाम्रो शरीरले शक्ति बनाउँछ । भाइरसभन्दा बढी शक्ति भयो भने शरीर सङ्क्रमित हुन पाउँदैन । तर, डेङ्गु रोगको खोप बनिसकेको छैन । यो रोग विश्वव्यापी छ ।
डेङ्गुबाट बच्नु भनेकै सङ्क्रमित लामखुट्टेको नियन्त्रण हो । जनमानसमा सचेतना जगाउनु आवश्यक छ । लामखुट्टे फैलिन नदिनतर्फ ध्यान दिनुपर्छ । पाँचदेखि सात दिनसम्म ‘रिकभरी फेज’ हुन्छ । प्यारासिटामोल र झोलिलो खाना खाँदा ठूलो राहत हुन्छ । डेङ्गु भएपछि केही समय हाम्रो बोनम्यारोले पनि काम गर्दैन । तर, पेनकिलर खानुहुँदैन । अनावश्यक पेनकिलर खाँदा अर्को समस्या आइपर्छ ।
मान्छेमा अनावश्यक त्रास छ । सामाजिक सञ्जालका कारण मानिस धेरै आतङ्कित भएका छन् । तर, प्रचार भएजस्तो जटिल होइन । फिलिपिन्समा ५० वर्षदेखि डेङ्गु रोग छ । भुटान, सिङ्गापुर, अमेरिका, भारत, चीन सबैतिर डेङ्गु छ । तर, हामी धेरै आत्तिएका छौँ । अवस्था त्यस्तो होइन । मौसमी रुघाखोकी लाग्दा, सामान्य ज्वरो आउँदा पनि डेङ्गु भयो भन्ने आशङ्का गर्ने प्रवृत्ति बढेको छ ।

डा. लाल : नेपालमा यो सङ्क्रमित लामखुट्टे पहिले जन्मेको होइन । तर, योविरुद्ध कुनै प्रभावकारी खोप नभएको सत्य हो । विभिन्न खोपहरू अनुसन्धानका चरणमा छन् । विश्व स्वास्थ्य सङ्गठनले पनि प्रि क्वालिफाई गरिसकेको छैन । जनस्वास्थ्यको क्षेत्रमा दक्षिण–पूर्वी क्षेत्रमा हामी अग्रणी अवस्थामा छौँ । जापनिज इन्सेफ्लाइटिस यसअघि ठूलो विषय थियो । तर, यसको खोप चीनले निर्माण गरेपछि त्यसलाई नियन्त्रण गर्न सजिलो भयो । अहिले नगन्य अवस्थामा छ । नेपालको ठूलो जोखिम त हात्तीपाइले रोग हो । यसअघि ६३ जिल्लामा करिब दुई करोड मानिस प्रभावित थिए । तर, त्यसको नियन्त्रणको खोप बन्यो र यो नियन्त्रणमा छ । अहिले नेपालमा करिब १३ जिल्लामा सामान्य समस्या देखिएको छ । सबैले चिनेका औलो तथा मलेरिया हो । त्यस रोगबाट सयौँको मृत्यु भयो । अहिले चारदेखि पाँच सय व्यक्ति पीडित छन् । त्यो विरुद्धको खोप बनेपछि यो नियन्त्रणमा आयो । तर, डेङ्गुको प्रतिरोधी खोप बनिनसकेकाले लामखुट्टे नियन्त्रण नै रोगबाट बच्ने
उपाय हो ।
विश्वमा धेरै रोग लामखुट्टेका कारण भएका छन् । अमेरिकामा चार सय बढी डेङ्गुबाट सङ्क्रमित छन् । ब्राजिलमा १४ लाख, सिङ्गापुरमा १० हजार, थाइल्यान्डमा ५५ हजार, फिलिपिन्समा डेढ लाख, श्रीलङ्कामा ३५ हजार बढी सङ्क्रमित छन् । आठ लाख जनसङ्ख्या रहेको भुटानमा आठ हजार बढी सङ्क्रमित भइसकेका छन् ।
सरकारले स्रोत–साधनमा कन्जुस्याइँ गरेको छैन । लामखुट्टे नियन्त्रण गर्नु नै यो रोगबाट बच्नुको सही उपाय हो । त्यसैले सरकारको आलोचनाभन्दा पनि सर्वसाधारण आफैँ सचेत हुनुपर्छ । लामखुट्टे नियन्त्रणमा लाग्नुपर्छ । सरकार आएर जनताको घर सफा गरिदिने होइन । नागरिक नै लाग्नुपर्छ । अव्यस्थित सहरीकरणले फोहोर धेरै छ । लामखुट्टे हुर्किन सजिलो भएको छ । लामखुट्टे जमेकोजस्तो पानीमा पनि फुल पार्न सक्छ । बिरुवाको गमला होस् वा घरमा राखेको सफा पानी, खाल्डाखुल्डीको पानी होस् सबै ठाउँमा फुल पार्छ र बच्चा हुर्काउँछ । बच्नुको अन्य उपाय छैन, लामखुट्टे मार्नु नै हो । यो अहिले जसरी देखिएको छ, अर्को वर्ष पनि यसले विकराल रूप लिन सक्छ । त्यसैले नियन्त्रणको पूर्वतयारीमा हामी सबै लाग्नुपर्छ ।
हिजो केन्द्रीकृत व्यवस्था थियो । माथिबाट निर्देशन आएपछि सबै काम हुन्थ्यो । तर, अहिले तीन तहको शासन व्यवस्था छ । कसले अह्राउने कसले काम गर्ने ? अन्योल छ । स्वास्थ्य संवेदनशील विषय भएकाले सङ्घमा नै यसको संयन्त्र बनाएर नियन्त्रणको पहल गरिनुपर्छ ।

प्रा.डा. वन्त : स्वास्थ्य मन्त्रालय त सरकारको एउटा पाटोमात्र हो । डेङ्गु होस् कि अन्य, जनस्वास्थ्यको आँखाबाट व्यवथापन गर्ने एउटा पाटो हुन्छ । ८० देखि ९० को दशकमा एचआईभीको विषयमा यस्तै सन्त्रास थियो । जुनसुकै रोग होस्, त्यसको रोकथाम नै पहिलो काम हो ।
कुनै न कुनै ढङ्गबाट रोगको रोकथामको प्रक्रिया हुन्छ । बेलायतमा बीसीजी आउनुभन्दा पहिले क्षयरोग रोग थियो । तर, अन्य माध्यमबाट पनि त्यसको रोकथाम भएको थियो । डेङ्गुको भ्याक्सिन (खोप) छैन अहिले । तर, नियन्त्रणका अन्य उपाय छन् । त्यसलाई नियन्त्रण गर्न सकिने अवस्था छ । स्रोत, प्रविधि र ज्ञानको अभावका कारणले होला, अहिलेसम्म डेङ्गुको प्रतिरोधी खोप बनिसकेको छैन । ठ्याक्कै रोक्ने खोप नभए पनि अन्य उपाय अपनाएर नियन्त्रणको प्रयास गरिएको छ ।
विश्वभरि यही उपाय छ अहिले । जति नियन्त्रण गरे पनि सतप्रतिशत नियन्त्रण त सम्भव छैन । त्यसमा सचेतना अपनाउनैपर्छ । हामी दादुराका लागि तयारी अवस्थामा छौँ । डेङ्गुमा भइसकेका छैनौँ । कुन बेलामा कस्तो लामखुट्टे कहाँबाट आउँछ, थाहा हुँदैन । थाइल्यान्ड, सिङ्गापुर, भारत, चीन, अमेरिकाबाट लामखुट्टे सहजै आउन सक्ने अवस्था छ अहिले । समस्या आएपछि कसरी नियन्त्रण गर्नेमा तयारी अवस्थामा रहनुपर्छ । सरकारले पनि राम्रो तयारी गरेको छ । आफ्नो स्रोत–साधनको सीमाभित्र रहेर सरकारले काम गरिरहेकै छ ।
रोग नियन्त्रणका लागि आवश्यक व्यवस्थापनमा भने हामी चुकिरहेकै छौँ । घटना हुन्छन्, समस्या आइपर्छन् । काठमाडौँका सबै अस्पताल अहिले डेङ्गु रोगीबाट भरिभराउ छन् । तर कति केस छ, त्यसको प्रतिवेदन के हो ? स्पष्ट छैन । सरकारले पनि अनुगमन गर्न सकेको छैन । केही निजी अस्पतालमा अहिले डेङ्गुका कारण व्यापार भइरहेको छ । जसले पनि परीक्षण गरिरहेको छ । त्यससम्बन्धी ज्ञान नभएका चिकित्सकले पनि उपचार गरिरहेका छन् ।
सार्वजनिक अस्पतालमा निश्चित प्रोटोकल छ । तर, निजीमा छैन । निजी अस्पतालका लागि ‘डेङ्गु’ व्यापार गर्ने अवसर भएको छ । हाम्रा व्यवस्थापन पक्ष कमजोर छ, यो स्वीकार्नैपर्छ । निजी अस्पतालमा सरकारले प्रोटोकल बनाउनुपर्छ । त्यहाँ पनि सरकारी प्रतिनिधि खटाएर अनुगमन गराउनुपर्छ । जथाभावी ढङ्गले रोग नियन्त्रणको नाममा नागरिकलाई शोषण गर्ने काम भएको छ ।

नाम चलेका चिकित्सक, सरकारका मन्त्रीलाई पनि डेङ्गु भयो । बाहिरी जिल्लामा रहँदा यो रोगको खासै चर्चा भएन, काठमाडौँ छिरेपछि बढी चर्चा भयो । हरेक वर्ष यस्तो समस्या नेपालमा आउँछ, तर त्यसको व्यवस्थापनको पाटोमा सरकार र हामी किन
चुकिरहेका छौं ?

प्रा.डा. वन्त : केही वर्षअगाडि इनफ्लुएन्जाको महामारी थियो । अहिले हामीले त्यसलाई बिर्सेका छौँ । अहिले मौसमी खोकी लागेका बेला पनि केही सञ्चारमाध्यमले स्वाइन फ्लु भनेर समाचार दिइरहेका छन् । जसरी समाचार आइरहेको छ, त्यस्तो अवस्था होइन । नेपालमा अपवादका रूपमा यो डेङ्गु आएको होइन, यो समस्या विश्वव्यापी छ । हाम्रोमा कहीँ दादुराको, कहीँ हात्तीपाइलेको प्रकोप छ । हामीसँग नियन्त्रणको संरचना छ । तर, प्रणालीअनुसार काम भएको छैन । अहिले डेङ्गु छ, दुई महिनापछि अर्को महामारी आउन सक्छ । सजगता त पहिले नै चाहिन्छ ।
कहिलेकाहीँ म पनि आक्रोशित हुन्छु । केही सञ्चारमाध्यमले अतिशयोक्तिपूर्ण समाचार दिन्छन् । अहिले सामाजिक सञ्जालमा जसले जे लेखिदिए पनि हुने अवस्था छ । त्यसको व्यवस्थापन कसरी गर्ने ? सम्बन्धित पक्षले सोच्नुपर्छ । प्रत्येक मानिसको आफ्नो दायित्व हुन्छ । सबै कुरा सरकारबाट आशा गर्नु पनि हुँदैन । सचेतता त नागरिक आफैँले गर्नुपर्छ । प्रकोप भनेको आफ्नो ‘फेज’ पछि नियन्त्रणमा आउँछ । डेङ्गु पनि केही समयपछि जाडोयाममा नियन्त्रणमा आउँछ । तर, नियन्त्रणको प्रयास नगरेर चुप लागेर त बस्न मिलेन । अर्को वर्ष फेरि यसैगरी समस्या आउँछ । आउने वर्ष योभन्दा बढी प्रकोप आउँछ भन्ने हामीलाई थाहा छ । त्यसको नियन्त्रणमा सरकार र नागरिक सबै जिम्मेवार हुनुपर्छ ।

डा. बाँस्तोला : अर्को वर्ष के गर्ने, आउने पाँच वर्षमा कसरी अगाडि बढ्ने भन्ने स्पष्ट रणनीति चाहिन्छ । सरकारले त्यो रणनीति बनाएर अघि बढ्नुपर्छ । बाहिर यो रोग रहँदा खासै चर्चा नपाएकै हो । तर, जब काठमाडौँ छि¥यो, डेङ्गुको प्रचार बढी भयो । नागरिकमा लामखुट्टेले टोक्नेबित्तिकै डेङ्गु भयो कि भन्ने सन्त्रास देखिएको छ । तर, यसरी डराइहाल्नुपर्ने होइन । आउने कात्तिकसम्म यो रोगको प्रभाव देखिन सक्छ । मङ्सिरपछि मौसम चिसो हुन्छ र लामखुट्टेको सक्रियता घटेपछि डेङ्गु नियन्त्रणमा आउँछ । अर्कोपल्ट फेरि नबल्झियोस् भन्नेतर्फ ध्यान दिएर नियन्त्रणको प्रयास गरिनुपर्छ । डेङ्गु रोग नियन्त्रणका लागि आवश्यक नीति बनाएर अघि बढ्ने हो भने समयमै व्यवस्थापन गर्न सकिन्छ ।

लामखुट्टेले अण्डा पारेपछि वयस्क हुन कति समय लाग्छ ? के दिउँसो टोक्ने लामखुट्टेले मात्र डेङ्गु हुने हो ? अहिलेको अवस्था सङ्कटकाल लगाउनुपर्ने हो कि होइन ? नागरिकलाई सुझाव के छ ?

डा. बाँस्तोला : दिउँसो टोकेरमात्र डेङ्गु हुने होइन । लामखुट्टेको सक्रियताअनुसार साँझ, बिहान, दिउँसो, राति जतिबेला पनि टोक्न सक्छ । चिकित्सक डेङ्गुप्रति त्यति अनुभवी थिएनन् । त्यसैले यसको उपचारमा केही कठिनाइ भएको हो । अहिले धेरै कुरा थाहा भइसकेको छ । अनावश्यक उपचारले रोगीलाई झन् समस्या पर्छ । रोगको सही उपचार हुन नसक्दा त्यसको ‘साइड इफेक्ट’ पर्छ र रोगीको मृत्यु हुन जान्छ ।
शनिबारमात्र मैले चार सय बिरामी जाँचे, त्यसमा दुई सय पचासजना डेङ्गुका थिए । यदि तिनीहरू निजी अस्पतालमा गएको भए कस्तो रेस्पोन्स हुन्थ्यो होला ? चिकित्सकहरू आफँै नागरिकको स्वास्थ्यप्रति सचेत हुनुपर्छ । कमाइ गर्नेतिर ध्यान दिनुहुँदैन । अहिले सर्जनले पनि डेङ्गु हेरिरहेका छन् । केही अस्पतालमा कमाइखाने उपाय भइरहेको छ । सञ्चारको मामिलामा जनतालाई सचेत गराउनु अनिवार्य छ । शारीरिक सम्बन्धले डेङ्गु सर्छ कि सर्दैन भन्ने जिज्ञासा पनि फोनमा आउने गर्छ । स्कुल, विद्यालयमा पनि यस रोगबारे जानकारी गराउनुपर्छ । नागरिकमा सचेत गर्न घरदैलो कार्यक्रम चलाउनुपर्छ । डेङ्गुबारे पर्याप्त जानकारी नपाउँदा समाज आतङ्कित भएको छ ।

प्रा.डा. वन्त :सन्देश के दिने भन्ने मुख्य विषय हो । कसका लागि सन्देश दिने योजना बनाउनुपर्छ । तीनवटै तहको सरकारमा यसको सन्देश प्रवाह गर्नुपर्छ । आमजनतालाई सशक्तीकरणको सन्देश दिनुपर्छ । उपदेश दिएरमात्र हुँदैन । घर सफा राखेरमात्र पनि हुँदैन । स्वास्थ्यकर्मी निकै सतर्क भएर सन्देश दिनुपर्छ । स्वास्थ्यकर्मीलाई पेसागत जिम्मेवारीको बोध गराउनुपर्छ । नीति निर्मातालाई पहिले सन्देश दिनुपर्छ । संसद् बैठकमा भाषण गरेरमात्र रोग
नियन्त्रण हुँदैन । समाधानको उपायबारे नीतिगत तहमा छलफल गर्नुपर्छ । प्रतिपक्षीले आरोपमात्र लगाउने विषय पनि होइन । “सरकार एउटा लामखुट्टेसँग डरायो, लामखुट्टे मार्न नसक्ने सेनाले जनताको सुरक्षा कसरी गर्ला ?” यस्ता ‘ननसेन्स’ कुरा सामाजिक सञ्जालमा आइरहेका छन् ।

डा. लाल : लामखुट्टेले आफ्नो स्वभावअनुसार टोक्छ । दिउँसोमात्र टोक्ने होइन, जतिबेला पनि टोक्न सक्छ । तर, केही सञ्चारमाध्यममा दिउँसो टोक्ने लामखुट्टेबाट मात्र डेङ्गु हुने भ्रमपूर्ण समाचार आएका छन् । त्यस्तो होइन । अण्डा पारेपछि चारदेखि १२ दिनसम्म लामखुट्टे वयस्क हुन्छ । जहाँ रोग नियन्त्रण भएको छ, स्थानीय सक्रियतामै भएको छ । सरकारको मात्र मुख ताकेर हुँदैन । अन्तर्राष्ट्रिय अभ्यास पनि यही हो । जनचेतनाको पाटोमा सञ्चारमाध्यमबाट सकारात्मक भूमिका निर्वाह गर्नुपर्छ । राम्रो सन्देश प्रवाह गर्दा नागरिक सचेत हुनमा सघाउ पुग्छ ।
सरकारले कामै नगरेको होइन, काम गरिरहेको छ । तर, ‘एड्भोकेसी’ अझै पुगेको छैन । सबैभन्दा पहिले सुनसरीमा डेङ्गुको प्रकोप देखियो । त्यहाँ स्थानीयकै पहलमा नियन्त्रणमा आएको छ । नियन्त्रणको संरचनागत विषयमा ध्यान दिनुपर्छ । स्वास्थ्य क्षेत्रमा जहिले चुनौती आउँछ । नयाँ–नयाँ प्रकोप आउने गर्छन् । त्यसको नियन्त्रणको सरकारी तहबाटै संरचनागत सुधार गरिनुपर्छ । सङ्घीय सरकारले नै यो तयारी गर्नुपर्छ । “सबैको साथ ः डेङ्गुको नाश” भन्ने नारा नै तय गरेर अभियान सुरु गरिनुपर्छ । सङ्कटकाल घोषणा गरिहाल्नुपर्ने अवस्था छैन । नियन्त्रणको उपाय धेरै छन् । त्यसमा सबै लाग्दा सहजै नियन्त्रण हुन्छ । जनचेतनालाई व्यवहारमा कार्यान्वयन गरिनुपर्छ । अरू कसैले आएर सरसफाइ गरिदिँदैन । आफ्नो काम आफैँ गर्नुपर्छ ।

संयोजन : सरोज ढुङ्गेल
प्रस्तुति : लक्की चौधरी
तस्बिर : रमेश क्षेत्री

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?